स्तरबृद्धिमा पाइला चाल्दै लमजुङ अस्पताल, प्रशामक सेवाको थालनी

स्तरबृद्धिमा पाइला चाल्दै लमजुङ अस्पताल, प्रशामक सेवाको थालनी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २५ गते बिहिबार ०९:४३

गत वर्षको कार्तिक महिनामा अस्पताल प्रदेश सरकार मातहत आएको हो । करिब एक वर्षको अवधिमा प्रयास गर्दा हुँदो रहेछ भन्ने व्यवहारमै देखाउन अस्पताल व्यवस्थापन समिति सफल भएको छ ।

विभन्न खासगरी नसर्ने रोगहरूको पिडालाई शारीरिक, मानसिक र सामाजिक रुपमा कम गर्न प्रशामक सेवाको उद्देश्य हो ।

बेसीशहर– लमजुङ अस्पतालले प्रदेश मातहत आएपछि स्तरबृद्धिमा एक पछि अर्को पाइला चाल्दै आएको छ । लमजुङ अस्पताल लमजुुङमा सञ्चालन भएको स्वास्थ्यकर्मीहरूलाई प्यालियायेटिभ केयर अर्थात प्रशामक सेवा टुकिलट सम्बन्धि दुई दिने तालिम दिएर सो कार्यमा अघि बढेको हो । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा उक्त तालिम असोज २४ गते समापन गरिएको हो ।
प्रदेश सभा सदस्य पौडेलले तालिमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै स्वास्थ्य जस्तो संवेशनशील क्षेत्रसँगै जोडिएको र सेवाप्रदाक क्षेत्र भएकाले पनि नाफा नोक्सान नहेरी सेवा दिनुपर्ने बताउनु भयो । उहाँले आजको समयमा प्रशामक सेवा अत्यावश्यक रहेहको भन्दै तालिमबाट प्राप्त ज्ञानलाई अवसरको रुपमा व्यवहारिक ढंगले सदुपयोग गर्दै व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । खानपान र जीवनशैलीका कारण स्वास्थ्य समस्याहरू बढ्दै गएकाले सोको न्यूनीकरणका लागि सवैले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । स्वास्थ्यको क्षेत्रमा नीति नियम वनाउनेदेखि हरेक क्षेत्रमा आफ्नो साथ सहयोग रहने बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षता भएको थियो । उहाँले अब मानिसहरू पीडा बोकेर बाँच्न बाध्य हुनुपर्दैन भन्दै लमजुङ अस्पतालमा प्रशामक सेवाको प्रारम्भिक चरण सुरु भइसकेको छ, यसको विस्तारका लागि राज्य एवं सरकारी तबरबाट कानुनी आधार बनाई लागु गर्नुपर्नेमा आफूहरू लागि परेको बताउनुभयो ।
लमजुङ अस्पतालको आयोजना तथा आइ एन एफ नेपाल र ईईमस इन्टरनेश्नलको प्राबिधिक सहयोगमा सुनिता परियोजना अन्र्तगत सो तालिम सञ्चालन गरिएको अस्पतालले जनाएको छ । तालिममा जिल्ला अस्पतालका चिकित्सकका साथै स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई समेत सहभागी गरिएको थियो । तालिममा आइ एन एफ नेपाल अन्तर्गत सुनिता परियोजना हरियोखर्क अस्पतालका प्यालियेटिभ केयर बिशेषज्ञ तथा चिकत्सकहरुको टोलीले दुई दिनसम्म सञ्चालन भएको तालिममा सहजिकरण गरेको थियो ।
तालिम समापन कार्यक्रममा हरियो खर्क अस्पतालका डा. अमृता श्रेष्ठले अस्वस्थकर जीवनशैलीका कारणले नसर्ने रोग बढिरहेको बताउनु भयो । उहाँले रोगको पिडालाई शारीरिक, मानसिक र सामाजिक रुपमा कम गर्न प्रशामक सेवाको उद्देश्य हो भन्नुभयो । मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात, पक्षघात, मृगौला सम्बन्धी दिर्घ रोग, श्वास प्रश्वास सम्बन्धी दिर्घ रोग, मधुमेह, क्यान्सर जस्ता नसर्ने खालका रोगहरूको उपचारको क्रममा आउने पिडालाई शारीरिक, मानसिक र सामाजिक रुपमा कम गर्न प्रशामक सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालले पिडामा रहेका यस्ता विरामीलाई दुखाई कम गर्नको लागि कडा खालको औषधी मोर्फिन उपलब्ध गराउन पहल गर्नुपर्ने डा. श्रेष्ठले जोड दिनुभयो ।
डा. राजकुमार गजमेरले रोगको लक्षण देखा परेको सुरुको अवस्था देखि विरामीको मृत्यु पछिको परिवारमा हुने शोकको अवस्था सम्म संस्थाले सर्वाङ्गिण सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले यो सेवा विरामीलाई मात्रै नभइ विरामीका परिवारलाई समेत प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । यो सेवा अन्र्तगत विरामी र उसको परिवारलाई शारीरिक, मानसिक तथा सामाजिक रुपमा बलियो र सकारात्मक बनाउने गरिन्छ डा. गजमेरले उल्लेख गर्नुभयो ।
प्रशामक सेवाले प्राणघातक रोग लागेका व्यक्तिहरूका पिडा र लक्षण व्यवस्थापन गरी गुणस्तरीय जीवन जिउन सहयोग गर्ने परियोजनाका व्यवस्थापक विष्णु गिरीले बताउनुभयो । दिर्घ रोगको उपचार गर्दा पनि पूर्ण रुपले निको नहुने हुँदा मृत्यु अगाडिको समयमा परिवार र रोगीलाई एकिकृत बनाउने कोशीस गर्नुपर्ने गिरीको भनाइ छ ।
व्यवस्थापक गिरीले हरियो खर्क अस्पतालले देशका लमजुङ सहितका छ जिल्लामा यो सेवा सुरु गरेको जानकारी दिनु भयो । विभिन्न किसिमका दीर्घ रोग तथा प्राणघातक रोग लागेका विरामीहरूलाई अस्पताल, स्वास्थ्य केन्द्र साथै उनीहरुको आफ्नै घरमा समेत सेवा प्रदान गर्ने गरेको गिरीले उल्लेख गर्नुभयो ।
तालिममा हरियो खर्क अस्पतालका केयर फिजिसियन डा. ड्यानियल म्यान्डेले नेपालमा यो सेवा अत्यावश्यक रहेको र निकै प्रभावकारी समेत हुने आफूले गरेकोले अनुसन्धाबाट पुष्टि भएको बताउनुभयो ।
हरियो खर्क अस्पतालमा कार्यरत सिनियर तालिम प्रशिक्षक प्रतिमा श्रेष्ठ सहभागी रहनु भएको उक्त समापन कार्यक्रममा तालिम अफिसर अमृता पौडेलले सञ्चालन गर्नु भएको थियो ।
समापन कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य बासुदेव थापा, पत्रकारहरूको समेत सहभागिता थियो ।
अस्पताल प्रदेश अन्तरगत आएपछि थप भएका सेवाहरू :
जिल्ला अस्पताल सरकारी भएपछि सेवा खत्तम हुन्छ भन्ने आशंका थियो । त्यस्तो प्रचार पनि गरियो तर त्यस्ता सबैखाले भ्रमहरूलाई चिर्न अस्पताल व्यवस्थापन सफल भएको छ । गत वर्षको कार्तिक महिनामा अस्पताल प्रदेश सरकार मातहत आएको हो । करिब एक वर्षको अवधिमा प्रयास गर्दा हुँदो रहेछ भन्ने व्यवहारमै देखाउन अस्पताल व्यवस्थापन समिति सफल भएको छ ।
अस्पताल प्रदेश अन्तरगत आएपछि थप भएका सेवा तथा कार्यहरूमा जिल्ला अस्पताललाई लमजुङ अस्पतालमा परिणत, इएमआर सेवाको थालनी, ल्याब सेवा सुरु र २४सैं घण्टा सेवा, डायलोसिस सेवालाई निरन्तरता, डिआर एक्सरे, इमरजेनसी सेवामा २४सैं घण्टा डाक्टरको प्रवन्ध, विद्युत सेवाको स्तरीयताका लागि अस्पताल हातामै तीन सय भोल्डको ट्रान्समिसन जडान, पेनलेस डेलिभरी सेवाको थालनी, सामग्रीहरूको थप व्यवस्थापन, मानसिक रोग र रोडियोलोजिष्टको मासिक सेवा आदि रहेको अध्यक्ष तामाङले जानकारी दिनु भएको छ ।

फोटो : सविना प्रजा ।

प्रकाशित मिति २०८० आश्विन २५, बिहीबार ०९:४३ गते
हजुरको प्रतिक्रिया