काठमाडौँ– सिंहदरबारमा प्रदर्शन गर्न पुगेका मानवअधिकारवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई असोज २६ गते पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीहरू छन् । पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले त्यसको पुष्टि गरेका छन्् । ती अधिकृतले भने, ‘पक्राउ पर्नेमा २ महिला समेत १६ जना छन् ।’ उनीहरूले सिंहदरबारमा प्रदर्शन गरेका थिए ।
मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियान भएको र सो क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।
विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्ने माग राखेर उनीहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका हुन् । उनीहरूले निषेधित क्षेत्र तोड्ने काम गरेको हुँदा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मानवअधिकार तथा शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको हो ।
समाजले १६ जना अधिकारकर्मी पक्राउ परेको जनाएको छ ।
उनीहरूले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने माग राखेको बताएका छन् ।
प्रकाशित मिति २०८० आश्विन २६, शुक्रबार १५:२९ गते