चाडबाड लक्षित बजार अनुगमन दैनिक जसो, दुईलाख बढी राजस्व संकलन

चाडबाड लक्षित बजार अनुगमन दैनिक जसो, दुईलाख बढी राजस्व संकलन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २६ गते शुक्रबार ०४:५१

बेसीशहर– लमजुङमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चाडबाड लक्षित बजार अनुगमनको कार्यमा कडाइका साथ जारी राखिएको छ । पछिल्ला दिनमा जिल्लाका कुनै न कुनै पालिकाको बजार क्षेत्रमा दिनहुँ अनुगमन गरी सो कार्यलाई तिव्रता दिइएको हो,...

जिल्लाका आठ पालिकामध्ये मध्यनेपाल, क्ब्होलासोंगर र दूधपोखरीमा अनुगमन हुने सकेको छैन ।

बेसीशहर– लमजुङमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चाडबाड लक्षित बजार अनुगमनको कार्यमा कडाइका साथ जारी राखिएको छ । पछिल्ला दिनमा जिल्लाका कुनै न कुनै पालिकाको बजार क्षेत्रमा दिनहुँ अनुगमन गरी सो कार्यलाई तिव्रता दिइएको हो, सो कार्यबाट रास्जव समेत दुई लाख बढी संकलन भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले जिल्लाको विभिन्न स्थानमा सञ्चालित पसलहरूमा पछिल्लो साता दिनहुँ जसो अनुगमन गरिरहेको छ । सो कार्यमा स्थानीय पालिकाहरूको समेत सहकार्यमा अनुगमन गरिएको टोलीको भनाइ छ । सो टोलीले जिल्ला सदरमुकाम बेसीशहरका अतिरिक्त जिल्लाका सुन्दरबजार नगरपालिका, राइनास नगरपालिकाका साथै दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित दुई सय भन्दा बढी पसलमा अनुगमन कार्य सम्पन्न गरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । उनका अनुसार दैनिक रुपमा जिल्लाको विभिन्न स्थानमा सञ्चालित बजार अनुगमन गरिएको छ । उनले भने, ‘चाडपर्व लक्षित अनुगमन भएकाले प्रशासनको नियमित काम र माथिबाट सरकारको समेत निर्देशन आएको हुँदा कडाइका साथ अनुगमन गरिएको छ ।’
अधिकांश पसल मापदण्ड विपरीत सञ्चालनमा रहेका र पसलै पिच्छे म्याद गुज्रेको सामाग्रीहरू पनि भेटिएको अवस्था छ सप्रजिअ सुयलले बताउनु भयो । उहाँका अनुसार हालसम्म सदरमुकाम बेसीशहरको बजार क्षेत्रमा सञ्चालनमा रहेका मात्रै एक सय भन्दा वढी पसलमा अनुमगन गरिसकिएको छ ।
जिल्लामा आठ स्थानीय तह छन् तीमध्ये मध्यनेपाल नगरपालिका, क्ब्होलासोंथर गाउँपालिका र दूधपोखरी गाउँपालिकामा भने अनुगमन गरिएको छैन । जनशक्तिको अभावका कारणले अनुगमन सबै क्षेत्रमा गर्न नसकिएको बताइएको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालनमा रहेका पसलहरूलाई नैसियत स्वरुप पहिलो पटक २ हजारदेखि पाँच हजारसम्म जरिवाना गरिएको छ । जरिवाना स्वरुप दुईलाख रुपैयाँ बढी राजस्व संकलन भइसकेको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताउनु भयो । उहाँका अनुसार बजार अनुगमन टोलीले राइनास नगरपालिकामा गरेको अनुगमनका क्रममा १५ वटा पसल जरिवानामा परेका छन् ।
यसैगरी, अघिल्लो दिन सदरमुकामकै बेसीशहर नगरपालिका– ८ प्रशासन चोक र हस्पिटल लाइनमा सञ्चालित २० वटा पसलमा अनुगमन गरिएको थियो । तीमध्ये मापदण्ड विपरीत सञ्चालित ९ वटा पसललाई जरिवाना गरिएको छ । जरिवानाबाट २५ हजार रुपैयाँ राजस्व संकलन भएको थापाको भनाइ छ ।
अनुगमनका क्रममा पसलै पिच्छे म्याद गुज्रेको सामग्री भेटिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा सामानको भाउमा फरक हुने, म्याद सकिएका सामग्री विक्रिवितरण हुने गरेको गुनासो आउने गरेकोले बजार अनुगमनलाई तिब्र पारिएको थापाले बताउनु भयो । उहाँका अनुसार अनुगमनका क्रममा अधिकांश पसलहरूमा म्याद नाघेका सामग्री विक्रि भएको, पसल दर्ता नै नगरी सञ्चालन गरेको, दर्ता भएका पसलहरू पनि नविकरण नगरिएको, पसलको साईनबोर्ड नराखिएको, मूल्यसूची टाँस नगरिएको, पसलको कारोबार थप नगरी एउटै पसलमा कस्मेटिक, फलफूल नथा स्टेशनरी सामग्री समेत राखेकको फेला परेको छ । उहाँले भन्नुभयो, ‘अनुगमनका क्रममा बिक्री गर्न इजाजत पत्र नलिएका सामान बिक्री गरेको, म्याद भएका र म्याद गुज्रेका सामग्री एकै स्थानमा राखी विक्री गर्ने गरिएको अवस्थामा पाइएकोमा जरिवाना गर्ने गरिएकोे छ ।’ म्याद गुज्रेका सामग्री पसलेहरूकै अघि नष्ट गर्ने गरिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यसप्रकार बजार अनुगमनका क्रममा असोज महिनामा मात्र कुल २३३ वटा पसलमा अनुगमन गरिएको र मापदण्ड विपरितका पसलहरूलाई नैसियत स्वरुप गरिएको जरीवानाबाट दई लाख चार हजार नौ सय रुपैयाँ राजस्व संकलन भएको छ । संकलित रकम जिल्ला प्रशासन कार्यालयको राजस्व खातामा जम्मा गरिएको छ ।’ उहाँका अनुसार त्यसमध्येको ५० हजार नौ सय रुपैयाँ पर्यटक तथा घरेलु कार्यालयको राजस्व खातामा जम्मा भएको छ ।

प्रकाशित मिति २०८० आश्विन २६, शुक्रबार १६:५१ गते
हजुरको प्रतिक्रिया