उद्योग वाणिज्य संघद्वारा शुभकामना आदानप्रदानका साथमा स्वागत

उद्योग वाणिज्य संघद्वारा शुभकामना आदानप्रदानका साथमा स्वागत

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २७ गते शनिवार ०७:४७

सो अवसरमा लमजुङमा चाडबाड लक्षित सहुलियत पसल सञ्चालन नगरिएको प्रति सम्बद्ध पक्षको ध्यानाकर्षण गर्ने काम पत्रकारहरूबाट भएको थियो ।

कार्यक्रममा परिचय सहित आ–आफ्ना धारणा राख्न अनुरोध गरिएको थियो ।

बेसीशहर– लमजुङ उद्योग वाणिज्य संघद्वारा बडादशैं, तिहार, छठपर्व आदिको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका साथमा जिल्लामा नवागन्तुक तीन जना कार्यालय प्रमुखहरूलाई स्वागत गरिएको छ । गण्डकी प्रदेश सभाका सदस्य एवम् लउवासंघको पूर्वअध्यक्ष भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा आफ्नै कार्यालयको सभाहलमा उक्त कार्यक्रम असोज २६ गते आयोजना गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि पौडेलले शुभकामना व्यक्त गर्दै समाजका सबै व्यक्तिहरू जहाँ, जहाँ, जो जो छौं सबैले इमान्दार बनेर जिम्मेवारी, कर्तव्य पुरा गरौं, यो आजको आवश्यकता हो भन्ने आग्रह गर्नु भयो । उहाँले पत्रकारहरूले राखेका चाडवाड लक्षित सहुलियत पसलका बारेमा लमजुङ सुमग जिल्ला भएर नराखिएको हो कि ? भन्नु भयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहुलियत पसलका बारेको प्रसङ्ग ढिला उठेको बताउनु भयो । उहाँले यो प्रसङ्ग गत आवको अन्तिम वा चालु आवको सुरुकै महिनामा उठेको भए केही गर्न सकिन्थ्यो कि ! ऐले त समय ढिला भयो भन्ने तर्क गर्नु भयो । तर रहेक वर्ष प्रमुख जिल्ला अधिकारी फेरिने गर्दा जुन कुनै पनि प्रजिअका लागि यो कार्य नयाँ बन्ने गरेको कटु सत्य जिल्लाबासीले भोग्नु परेको छ  ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ मीनबहादुर घले, सशस्त्र प्रहरी बलका प्रमुख प्रनाउ खेमराज शर्मा र करदाता सेवा कार्यलय बेसीशहरका प्रमुख एवम् कर अधिकृत हरिप्रसाद ढकाललाई स्वागत गरिएको थियो ।
सो अवसरमा प्रनाउ घलेले शान्ति सुरक्षालाई चुस्त बनाई राख्न, आत्महत्या न्यूनीकरण लगायतका कार्य गर्नका लागि आफूहरू लागि परेको उल्लेख गर्नु भयो । उहाँले चाडबाड लक्षित सुरक्षा स्थितिलाई सबल बनाउनका लागि प्रहरी सहायता कक्ष जिल्लाका विभिन्न नौ स्थानमा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
लउवासंघका पूर्वअध्यक्ष राजेश थापाले पत्रकारहरू पार्टीमा आवद्ध हुँदा स्वतन्त्र पत्रकारिता कसरी सम्भव हुन्छ ? भन्ने प्रश्न उठाउँदै पत्रकारहरूले पार्टीको झण्डा बोक्न नहुने बताउनु भएको थियो ।
पत्रकार कमला केसीले बेसीशहरमा सञ्चालन गरिएका केही सहकारीले बचतकर्ताहरूको रकम लामो सयमदेखि फिर्ता दिन नसकेको प्रति जिज्ञासा राख्नु भएको थियो ।
सो अवसरमा लमजुङमा चाडबाड लक्षित सहुलियत पसल सञ्चालन नगरिएको प्रति सम्बद्ध पक्षको पत्रकारहरूबाट ध्यानाकर्षण गरिएको थियो । त्यसको जवाफमा लमजुङ सुगम भएको र सबै जिल्लाबासीका लागि सेवा दिन सम्भव नभएर पसल सञ्चालन नगरिएको भन्ने समेत बताइएको थियो । राजधानी, पोखरा, दमौलीभन्दा लमजुङ सुगम हो ? अनि ती जिल्लाका बसै मानिसले त्यो सेवा पाउन सकेका छन् ? जस्ता प्रश्नहरू भने अनुत्तरित नै रहेका थिए ।
लउवासंघका अध्यक्ष गुणराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका  सचिव प्रदीप बस्नेतले गर्नु भएको थियो भने समापन प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरेले गर्नुभएको थियो । उक्त कार्यक्रममा लउवासंघकका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी लगायतका पत्रकारहरूको सहभागिता थियो ।
कार्यक्रममा परिचय सहित आ–आफ्ना धारणा राख्न अनुरोध गरिएको थियो ।

प्रकाशित मिति २०८० आश्विन २७, शनिबार १९:४७ गते
हजुरको प्रतिक्रिया