
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बडादशैं, तिहार, छठ पर्व आदिका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आफ्नै पार्टी कार्यालयमा राखिएको उक्त कार्यक्रममा शुभकामना दिने र तिखार्ने काम समेत उत्तिकै मात्रामा शुभचिन्तकहरूले असोज २८ गतेका दिनमा गरेका हुन् ।
सो अवसरमा रास्वपाका जिल्ला संयोजक एवम् जलवायु विज्ञ धर्म केसीले आजको कार्यक्रम राजनीतिक त होइन, थिएन तर केही जिज्ञासा आएका हुँदा त्यसबारेमा प्रष्ट्याउन चाहन्छु भन्नुभयो । उहाँले यस कार्यक्रममा वर्तमान तथा पूर्वसांसद, पूर्वमन्त्री सहितका जनप्रतिनिधिहरू, जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, प्रजिअ सहितका कार्यालय प्रमुखलाई समेत आमन्त्रण गरिएको भए पनि उहाँहरू कारणबस नआएको जानकारी दिनु भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो कार्यक्रममा अन्य दलहरू नआए पनि यदि हामीलाई सम्झेको खण्डमा हामी सबैकोमा जान्छौं, हामी सबैसँग सहकार्य गरेर मुलुकका विद्यमान समस्या समाधान गर्न चाहन्छौं ।’
परिचय सहित आ–आफ्नो जिज्ञासा सुझाव राख्न लगाइएको कार्यक्रममा उठेका जिज्ञासाका बारेमा समेत पार्टीको तर्फबाट स्पष्ट्याउँदै जिल्ला संयोजक केसीले हामी खहरेको भल जस्तो नभई जरुवा मूलजस्ता हौं र हुनेछौं भन्ने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले पूर्वसांसद ढाकाराम जस्ता डाँकाराम पनि कोही हुनसक्छन्, त्यस्तालाई कुनै प्रकारको छुट नहुने र त्यस्तालाई समयमै चिनेर पार्टी धारबाट अलग्याउने काम गर्नेछौं र जनचाहना अनुरुपका काम गर्ने छौं भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले पार्टीमा खरावी हुन नदिने र खारब हुन खोज्यो भने सुधार्न प्रयत्न गर्ने र पनि सुधार नभएमा पार्टीमा टाँसिएर नबस्ने उहाँको दृढोक्ति थियो । उहाँले आफ्नो दलको अनुशासन समिति निकै कडा रहेको र आजका दिनसम्म शंका गर्ने ठाउँ नरहेको उल्लेख गर्नुभयो ।
उहाँले कोरियाको उदाहरण दिदै कुनै दिन नेपालसँग सहयोग लिने कोरिया आजका दिनमा प्रतिव्यक्ति ४२ हजार डलर आर्जन गर्ने मुलुक बन्न सकेको छ । त्यो भनेको राष्ट्रवादी सोच र चिन्तनले हो, कोरियालीले गर्न सक्दा हामी किन गर्न सक्दैनौं ? भन्नुभयो । उहाँले हामी भइरहेकै पार्टीमा अर्को यौटा थप भएर नंबर बढाउनका लागि आएका हैनौं भन्ने उल्लेख गर्नुभयो । उहाँले राजनीतिलाई पेशा बनाउन नुहनेमा जोड दिदै एक जना बनेर हुन्न देश बन्नु पर्छ र बडादशैं जस्ता पर्वहरू कसैका लागि पनि दशा हुनुहुँदैन भन्नुभयो । केही नेपालीको बडादशैंको बेलामा पनि चुल्हो बल्न नसक्ने अवस्था पनि छ, त्यस्तो अवस्थाको हाम्रा नजिकका कोही हुनुहुन्छ भने हामीले मिलेर सहयोग गरौं, गर्नेछौं त्यो हाम्रो कर्तव्य पनि हो भन्नुभयो ।
उहाँले विदेश जानै नहुने होइन तर आजका दिनमाझैं बडादशैं जस्तो चाड पनि परिवारसँगै बसेर मान्न नसक्ने अवस्थाको अन्त्य रास्वपाको चाहना हो र मिसन ०८४ भनेको त्यो बेलामा जितेपछि त्यसपछिका पाँच वर्षमा हामीले के के गर्ने ? भन्ने योजना बनाउने भनेको हो भन्ने जानकारी दिनुभयो । पार्टीको मुल नीति, सिद्धान्त र कार्ययोजना मध्ये ‘सुशासन’ एक हो । बिना सिद्धन्त, लक्ष्य, योजना, कार्यक्रम सुशासन स्थापित हुन सक्छ ? भन्दै आफूलाई सिद्धान्तवादी हौं भन्नेले आजका दिनसम्म सुशासन कायम गर्न किन सकिरहेका छैनन् ? भन्ने प्रश्न गर्नुभयोे ।
यस कार्यक्रममा हामीलाई प्राप्त सुझाव सल्लाहहरू अत्यन्तै महत्वपूर्ण छन् । हामी सच्चिदै अघि बढ्न तयार छौं र बढ्ने छौं, आम नेपालीहरूले रास्वपाप्रति राख्नु भएको आशा र भरोसामा किञ्चित कमी हुन दिने छैनौं त्यो छुट हामीलाई छैन भन्ने उहाँले थप प्रण गर्नु भयो ।
सो अवसरमा लउवासंघका अध्यक्ष गुणराज सिलवालले रास्वपालाई वैकल्पि शक्तिको रुपमा हेरिएको छ, जीवनमा सधैं, सबै कार्यमा विकल्प हुन्छ र खोज्नु मानवीय स्वभाव हो भन्नुभयो तर त्यो आशा र विश्वासमा घात भने हुनुहुँदैन भन्नुभयो । उहाँले रास्वपाको मुलुक बनाउने हुटहुटीले सार्थक रुप लिन साकोस् भन्नु भयो । मालिक र नोकरको उदाहरण दिदै जनतालाई मालिक बनाउने कार्यमा रास्वपालाई सफलता मिलोस् भन्ने उहाँले शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा विरामी अवस्थामै सहभागी हुन आउनु भएका रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले आजको दिन आफ्नो शुभजन्म दिनसमेत भएका कारणले जन्म दिनमा बृक्षारोपण कार्यक्रमलाई सफल बनाउनका लागि विरुवा वितरण कार्यक्रम राखेको जानकारी दिनु भयो । उहाँले जन्म दिनको शुभ अवसरमा चाइनिज अम्बाका ४० वटा विरुवा सहभागीलाई वितरण गर्नु भएको थियो ।
यसैगरी, जन्म दिनमा बृक्षारोपण अभियानका संस्थापक एवम् अभियानका अध्यक्ष वासुदेव सेढाईले जन्म दिनमा बृक्षारोपणको नयाँ संस्कृतिको विकास भएको बताउनु भयो । उहाँले प्रकृति र वातावरण बचाउने, संस्कार संस्कृतिको जगेर्ना गर्नका लागि अभियानको थालनी गरिएको बताउँदै अभियान सफल हुँदै गएको र नेपालीको पहिचान बन्ने क्रममा रहेको उल्लेख गर्नु भयो । रास्वपालाई शुभकामना दिदै अन्य दलका कार्यकर्ता र रास्वपाका कार्यकर्ताको पहिचान भिन्न बनोस् भन्ने सुभेच्छा व्यक्त गर्नु भयो ।
सो अवसरमा रास्वपाको प्रवास नेपाली विभागका केन्द्रीय सचिव पदमराज पन्थी(लमजुङ)ले आफू सम्बद्ध विभागले विदेशमा अलपत्र अवस्थामा रहेका नेपालीहरूको उद्दार गरी नेपाल ल्याउने काम गरिरहेको जानकारी दिनु भयो । उहाँले हालै पनि इराकमा अलपत्र ३६ जना नेपालीका अतिरिक्त एक युवतीको उद्दार समितिले गरेको तर युवतीलाई पार्टी सभापति रविसँग सम्पर्कमै जान नदिएर उनलाई इराक पठाउने दलालले त्यहाँ पठाउँदा लिएको पैसा सबै फिर्ता गरेर मुद्दा नगर्नका लागि अनुरोध गरेको स्थिति छ भन्ने जानकारी दिनुभयो ।
सो अवसरमा पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रामजी रानाले विकल्पका रुपमा हेरिएको रास्वपाले त्यसलाई सार्थक रुप दिन के गरिरहेको छ ? भन्नुभयो । उहाँले गाउँ रित्ता छन्, शहर पनि रित्ता हुन लागे, हिजो मजदुर हुनमात्र विदेश जाने प्रचलन थियो, ऐले विद्यार्थी समेत कोही नबस्ने भए, स्कूल समेत रित्ता हुने आवस्था छ ? पसल चल्ने सटरहरू रित्तो हुँदैछन् प्रदेश खारेज लगायतका विषयमा रास्वपाको धारणा के हो ? खै दस्तावेज ? भन्नुभयो ।
यसैगरी पत्रकार महासंघका उपाध्यक्ष अनुज अधिकारीले रास्वपाले खनेको बाटो छिटो राजमार्ग बन्न सकोस् भन्ने सुभेच्छा व्यक्त गर्नुभयो । पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष एवम् उक्त कार्यक्रमका सञ्चालक नवराज पहाडीले रास्वपाले लिएको सुशासनको अभियान सार्थक बन्नका लागि हामी सबैलाई हाम्रा चाडपर्वहरूले उत्प्रेरणा प्रदान गरुन् भन्नुभयो । पत्रकार भरत घिमिरेले विकल्पको आशा भरोसामा बदलियोस् भन्ने कामना व्यक्त गर्नु भयो ।
यसैगरी, सो दलका बेसीशहर नगर सभापति कृष्ण राउतले प्राप्त सुझावहरूले पार्टीलाई उर्जा मिलेको उल्लेख गर्नु भयो । बेसीशहर– ८ का अध्यक्ष ध्रुव ढकालले हामी सिक्दै र गर्दैछौं, हामीसँग दृढ आत्म विश्वास छ, अवश्य पनि सफल हुनेछौं भन्नुभयो । त्यस्तै, वडानं– ९ का अध्यक्ष भगवतसिंह अर्यालले आफ्नो वडा नेपालको कर्णाली प्रदेशझैं पिछडिएको छ, आफ्नो वडाले विकासका कुनै योजनाले नछुने गरेको बताउनु भयो । त्यस्तै बृक्षारोपण अभियान एवम् बास नेपालका सचिव रामजी बसौलाले विभिन्न पीडाबाट पिल्सिएका नागरिकलाई मिसन ०८४ ले मल्हम लगाउन सकोस् भन्ने सुभेच्छा व्यक्त गर्नुभयो । वडानं– ६ का पूर्वजनप्रतिनिधि होमबहादुर राउतले यस अघिको आफू सम्बद्ध दल(एमाले)ले चित्त बुझ्दो काम नगरेको र आफ्ना कुरा नसुनेको हुँदा समयानुकुलको बाटो बदल्न परको उल्लेख गर्नुभयो । यसैगरी, व्यवसायी प्रवीण वाग्लेले स्थानीयस्तरमै रास्वपाका कार्यकर्ताले उदाहरणीय काम गर्न सक्नु पर्नेमा जोड दिनु हुँदै केन्द्रमा सभापति रविले गरेको कामका भरमा यहाँ चुनाव जित्ने सपना नदेख्न आग्रह गर्नु भयो ।
उक्त अवसरमा सो दलका गण्डकी प्रदेश सदस्य तैमाया गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष भद्रमोहन थापा, सो गाउँपालिकाका सचिव चन्द्रप्रसाद घिमिरे, बेसीशहर नगरका उपसभापति हरिकृष्ण बुढाथोकी, बेसीशहर नगरको वडानं– ७ का अध्यक्ष राजकुमार घिमिरे, वडानं– ३ का अध्यक्ष हरिप्रसाद अधिकारी लागयतका कार्यकर्ताहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८० आश्विन २८, आईतवार १७:५३ गते