अन्ततः संगठित भए अनलाइन मिडिया सञ्चालकहरू, गठन भयो डिजिटल मिडिया सोसाइटी

अन्ततः संगठित भए अनलाइन मिडिया सञ्चालकहरू, गठन भयो डिजिटल मिडिया सोसाइटी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक १ गते बुधबार ०७:०५

सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान अध्यक्ष चयन

काठमाडौं– डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरिएको छ । मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाका प्रभाव क्रमशः बढेर गएका सन्दर्भमा यस माध्यममा आबद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै ‘डिजिटल मिडिया सोसाइटी’ असोज ३० गते गठन भएको हो ।
आबद्ध संस्थाका बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानको अध्यक्षतामा गठित डिजिटल मिडिया सोसाइटीको उपाध्यक्षमा सेतोपाटी सञ्चार प्रालि (सेतोपाटी डटकम) का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डटकम) का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमाण्डू डटकम) का अध्यक्ष पुष्प दुलाल रहनु भएको छ ।
उक्त समितिको सदस्यहरूमा विकास मिडिया प्रालि (विकास न्यूज डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्रालि (क्यापिटल नेपाल डट्कम)की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देश सञ्चार डट्कम)का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डट्कम)का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डट्कम)का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्यूज नेटवर्क प्रालि (राटोपाटी डट्कम)का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डट्कम)का सञ्चालक सुरेश सिम्खडा रहनु भएको छ ।
संस्थाको उद्देश्य कम्पनी रजिष्ट्रारको कार्यालयबाट गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा दर्ता गरिएका संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने रहेको छ ।
संस्थाको आजै सम्पन्न पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालिका अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्युज नेटवर्क प्रालिका संस्थापक ओम शर्मालाई डिजिटल मिडिया सोसाइटीको सल्लाहकार चयन गरिएको छ ।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बद्ध गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन् ।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई संवद्र्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सो अनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने बताएका छन् ।
सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
साथै, सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको छ । नयाँ बन्ने सदस्यहरूका लागि पनि उल्लेखित शर्तहरू अनिवार्य हुने बताइएको छ ।

प्रकाशित मिति २०८० कार्तिक १, बुधबार ०७:०५ गते
हजुरको प्रतिक्रिया