कोशीमा कार्कीलाई दुई तिहाई भन्दा बढी विश्वासको मत, कांग्रेसद्वारा विद्रोहको अनुमोदन

कोशीमा कार्कीलाई दुई तिहाई भन्दा बढी विश्वासको मत, कांग्रेसद्वारा विद्रोहको अनुमोदन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक २ गते बिहिबार ०६:३३

कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरूले पनि उहाँलाई समर्थन गर्ने निर्णय गरेको हो ।

पेचिलो बन्दै राजनीति, एमाले माओवादी बीच एकअर्कोलाई निषेध गर्ने रणनीतिमा

विराटनगर– कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनु भएसँगै कांग्रेसभित्र विद्रोहको अनुमोदन भएको छ । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाउनु भएको छ ।
कार्कीले राख्नु भएको विश्वासको मतको सो प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । विपक्षमा राप्रपाले मत दिएको हो भने सो दलका एक जना सांसद अनुपस्थित रहेको प्रदेशसभा सचिवालयको भनाइ छ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त विश्वासको मत पाउनु भएको हो ।
उहाँलाई मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाका एक सांसद भने अनुपस्थित रहेको बताइन्छ ।
उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको घोषणा गर्नु भएको हो । कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुनुहुुन्छ ।
मुख्यमन्त्री कार्कीले गठबन्धनलाई चुनौती दिएर प्रदेशको कार्यकारी प्रमुख बन्नु भएको हो । प्रदेश सभामा पुगेका सबैजसो दलको मत पाएपछि कोशी प्रदेशको सत्ता राजनीति फेरि रोचक मोडतिर अघि बढेको छ ।
कार्की असोज २७ गते सो पदमा नियुक्त हुनु भएको हो । एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री हुनु भएको हो । तथापि अन्तिम समयमा गठबन्धन दलहरूले पनि कार्कीलाई समर्थन गर्दै विश्वासको मत दिए ।
मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए । कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गर्नु भएको थियो भने समर्थनकर्ताहरूले हस्ताक्षरमा सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
कांग्रेसका विद्रोही कार्कीलाई सघाएको एमाले सरकारमा गठबन्धनका दलहरूको प्रवेश रोक्न लागेको छ । तर, गठबन्धन दलहरू भने कार्की नेतृत्वको सरकारलाई आफ्नै बनाउने प्रयासमा लागेका छन् । यसले पनि भोलिका दिनमा कोशीको राजनीति झनै पेचिलो बन्ने धेरैको आंकलन छ ।
त्यसो त मुख्यमन्त्री कार्कीले अब विस्तार गर्ने सरकारको स्वरुपले प्रदेशको राजनीतिको नयाँ यात्रा तय गर्नेछ । मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरूसँग छलफल तीब्र पार्दै आफूले गठबन्धनभन्दा दायाँबायाँ नगर्ने प्रष्ट वचन दिएको छलफलमा सहभागी नेताहरू बताउँछन् ।
उता, ‘हाम्रो त्यागलाई नजरअन्दाज नगरियोस्’ माओवादीले भनेको छ । तर एमाले माओवादीलाई सरकारमा सामेल नगराउने खेलमा लागेको छ ।
स्मरणीय छ, कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरूले पनि उहाँलाई समर्थन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति २०८० कार्तिक २, बिहीबार ०६:३३ गते
हजुरको प्रतिक्रिया