लमजुङ– जिल्ला सदरमुकाम स्थित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगर समितिद्वारा यात्रुहरूको समस्या समाधानका लागि प्रजिअ रामकृष्ण अधिकारीको ध्यानाकर्षण गरेको छ । नगर सभापति कृष्ण राउतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर रास्वपाको एक टोलीले प्रजिअ अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्तिक २ गते त्यस्तो कार्य गरेको हो ।
ध्यानाकर्षण पत्रमा नेपालीहरूको महान चाड बडादशैं हाम्रो घर आँगनमा भित्री सकेको सन्दर्भमा मुलतः जिल्ला बाहिर खासगरी संघीय राजधानी काठमाडौं, प्रदेश राजधानी पोखरा तथा नारायणगढका साथै डुम्रे बजारबाट जिल्लामा आउने जिल्लाबासीहरूले विभिन्न खाले समस्या भोग्दै आएको गुनासा आइरहेका छन् । ती समस्या समाधानका लागि श्रीमान्को ध्यानाकर्षण गर्दै आवश्यक पहल कदमीका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी माग गर्दछ भनिएको छ ।
सो पत्रमा बस भाडामा हुने गरेको अनियमिता र यात्रु सहायता कक्षलाई प्रभावकारी बनाउनु पर्ने बारेमा जोड दिइएको छ ।
माइक्रो बस, ठूला बसहरूले समेत चाडबाड लगायतका अप्ठ्यारा समयमा बढी भाडा असुल्ने, काठमाडौं– जाँदा आउँदाको एक हजारका दर लिने गरिआएको विगतका वर्ष समेत साक्षीका रुपमा छन् ।
यसको समाधानका लागि काउन्टरबाट र यात्रुहरू चढेको स्थानबाट यात्रुहरूलाई अनिवार्य टिकट दिने प्रवन्ध गर्नुका साथै टिकट काउन्टरबाटै र निर्धारित समयमा बस छुट्ने प्रवन्ध गरिनुका पर्नेमा जोड दिइएको छ । साथै बीचमा समेत यात्रुको टिकट जाचको व्यवस्था भएमा यस्तो समस्याको समाधान हुने देखिन्छ । त्यस्तै, अटो भाडा जिल्लाभरनै बढी मात्रामा रहेको छ । त्यसमा पनि बेसीशहरमा लिइने भाडा सुन्दरबजार नगरपालिकाको भन्दा पनि निकै बढी भएको पाइएको हुँदा यसतर्फ विशेष ध्यानाकर्षण गर्दै भाडा समायोजनका लागि अनुरोध गर्दछौं भन्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।
यसैगरी, यात्रु सहायता कक्षलाई प्रभावकारी बनाउनु पर्नेमा ध्यानाकर्षणपत्रमा जोड दिइएको छ । यात्रु सहायता कक्षमा यात्रुको अनिवार्य टिकट जाँच गर्नुका साथै चाडबाडको समयमा पार्किङ, जाड रक्सी र लागू औषध सेवनकर्ताका साथ खडखडे लगायतका जुवाप्रति निगरानी बढाउन आवश्यक देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सो ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ अधिकारीले ध्यानाकर्षण गर्नु भएकोमा सो टोलीलाई धन्यवाद दिदै नराम्रो त १÷२ जनाले पनि गर्न सक्छन् तर राम्रो गर्नका लागि सबै मिलेर लाग्नु पर्ने हुन्छ यसतर्फ यहाँहरूको समेत सहयोग चाहिन्छ भन्नुभयो । उहाँले अटोको भाडाको सन्दर्भमा यो स्थानीय निकायको काम हो, अटोको दर्ता, भाडा तोक्ने, अनुगमन गर्ने सबै स्थानीय तहले गर्ने हो, अनुगमन गर्दा सहयोग चाहिन्छ भनेमात्र हामीले सहयोग गर्ने हो यसमा प्रष्ट हुनुहोला भन्नुभयो ।
जहाँसम्म गाडी भाडाको कुरा छ, दिनहुँ २०– २२ वटा बसलाई कारवाही गरेको रिपोर्ट म कहाँ आउँछ करिब तीन सातादेखि यो काम हुँदै आएको छ । तर यसरी जरिवाना गर्दा पनि अपराध घटेको देखिदैन । यसको अर्थ नीतिगत त्रुटी (जरिवाना कम भएको) या यस्तै अन्य केही त छैन ? भन्ने आफूलाई लागेको प्रजिअ अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हुन त जरिवानाबाट राजस्व पनि संलकन भएको छ, तर हाम्रो काम राजस्व संकलन गर्ने होइन । यसैले यसमा नीतिगत त्रुटी हो कि ? भन्ने देखिन्छ ।’ यदि त्यसो हो भने त्यसमा राजनीतिक दलले हस्तक्षेप गर्नु पर्छ, यहाँको दल पनि संसदमा छ, विद्यमान कानुनमा भएको कमजोरी सच्याउन आवश्यक छ अधिकारीले भन्नुभयो ।
समाजको प्रवृत्तीको कुरा गर्दै उहाँले अन्यायमा परेको मानिसले आफू देखिन नचाहने तर न्याय भने खोज्ने छ, यसरी हुँदैन, समाजलाई राम्रो बनाउनका लागि सबै लाग्नु पर्छ । यसमा के गर्न सकिन्छ ? यो हाम्रो काम पनि हो, म प्रयास गछुर्् उहाँले भन्नुभयो ।
सो अवसरमा रास्वपा बेसीशहर नगर सभापति कृष्ण राउतले ध्यानाकर्षण पत्र पढेर सुनाउनु भएको थियो । उक्त पत्र बुझाउने उहाँकै नेतृत्वमा बेसीशहर नगरसमितिका सचिव शर्मिला अधिकारी, नगर सदस्य बुद्धराज सेडाई, वडानं– ८ का सभापति धु्रव ढाकाल, वडानं ३ का अध्यक्ष हरिप्रसाद अधिकारी, वडानं ८ का उपसभापति अदलदिन मिया, वडानं ३ का सदस्य सीता श्रेष्ठ लगायत जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो ।
प्रकाशित मिति २०८० कार्तिक २, बिहीबार १९:०७ गते