अब खोलामा करेण्ट, विभिन्न प्रकारका विष नहाल्न पालिकाले सम्बन्धित सबैलाई गाउँपालिकाकाले अनुरोध गरेको छ । यदि त्यसो गरेको पाइएमा प्रचलित नियम कानुन अनुसार कार्वाही हुने समेत जानकारी गराइएको छ ।
पहिलो चरणमा ५० हजार माछाका भुरा गाउँपालिकाका अध्यक्ष अधिकारीले छाड्नु भएको हो ।
नौथर(लमजुङ)– दोर्दी गाउँपालिकाको पहल एवम् समन्वयमा दोर्दी कोरिडोरका चार खोलाहरूमा माछाका भुरा छाड्ने काम गाउँपालिका अध्यक्ष युवराज अधिकारीले गर्नु भएको छ । दोर्दी कोरिडोरमा सञ्चालित हाइड्रोपावर कम्पनीहरूको आर्थिक सहयोगमा कार्तिक २ गते सो कार्य सम्पन्न भएको हो ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उहाँले वातावरण सन्तुलनका लागि यो कार्य कोशेढुंगा हुने बताउनु भयो । उहाँले माछाका भुरा छोड्नुका प्रमुख उद्देश्य जीविकोपार्जनमा सहजता ल्याउनु हो भन्नुभयो । उहाँले माछा छोडे संगै खोलामा करेण्ट, विभिन्न प्रकारका विष नहाल्न पालिकाले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्नु भएको छ । यदि त्यसो गरेको पाइएमा प्रचलित नियम कानुन अनुसार कार्वाही हुने समेत अध्यक्ष अधिकारीले जानकारी गराउनु भएको छ ।
गाउँपालिकाको दोर्दी करिडोरको दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला, प्यार्दी खोलामा माछाका भुरा छोड्ने कार्य गरिएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनु भयो । उहाँले प्रथम चरणमा परीक्षणको लागि ५० हजार माछाका भुरा छोडिएको जानकारी दिनु भयो । उहाँका अनुसार अहिले छोडिएको माछाका भुराहरूमा असला, करौ र नैनी प्रजातिका रहेका छन् ।
प्रति हाइड्रोपावर कम्पनीलाई मेगावाटको आधारमा माछाका भुरा विभाजन(भाग)गरिएको थियो । यो संगै गाउँपालिकाकै पहलमा हिउँदको समयमा १० प्रतिशत पानी छोड्ने समेत सहमति यसअघि भइसकेको छ । जसले गर्दा जलचर प्राणीहरूको लागि एवम् वायुमण्डलीय हिसाबले समेत उपयुक्त हुन्छ ।
उक्त कार्यक्रममा गाउँपालिकाका सामाजिक बिकास संयोजक अम्बिका मरहट्टा, विभिन्न शाखा प्रमुखहरू, दोर्दी कोरिडोर भित्र सञ्चालित हाइड्रोपावर कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..