एनआरएनएको अध्यक्षमा नवनिर्वाचित बद्री केसीमाथि धाँधली गरेर जितेको आरोप

एनआरएनएको अध्यक्षमा नवनिर्वाचित बद्री केसीमाथि धाँधली गरेर जितेको आरोप

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ३ गते शुक्रबार १०:१७


केसीले महासचिव हुँदादेखि नै उहाँलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।

महासचिवका उम्मेदवारले शून्य मत पाएपछि एनआरएनमा लफडा

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनबाट अध्यक्षमा नवनिर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लागेको छ ।
निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउनु भएको हो ।
डा. बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष हुनुहुन्छ भने त्यसअघि उपाध्यक्ष र महासचिव हुनुहुन्थ्यो । महासचिव हुँदादेखि नै उहाँलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो । प्रतिस्पर्धी दुई उम्मेदवारले यसपटक प्रतिनिधि छनौट र अनलाइन भोटिङमा बद्रीले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रक्रिया मूलतः बद्रीको नियन्त्रण रहेको बताइन्छ ।
मतगणनाको नतिजा सार्वजनिक हुँदा महासचिवका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि अध्यक्षमा पराजित उम्मेदवार र महासचिवका उम्मेदवार लगायतले चुनावमा धाँधली भएको आरोप लगाएका हुन् ।
‘मलाई लगभग ८० प्रतिशतले भोट हालेका छन् । तर शून्य देखाइयो,’ महासचिवका उम्मेदवार पौडेलेले भने, ‘म आफैंले हालेको भोट पनि देखाइएन ।’
‘हामीलाई सुनियोजित रूपमा हराइएको हो । आफूले आफैंलाई भोट नहाल्ने भन्ने हुँदैन । एनआरएनएमा माफियातन्त्र हाबी भयो । यसको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरूले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।
संघको महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको भनिएको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ तथा उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित हुनु भएको घोषणा गरिएको छ । तर पराजित भएका दुबै उम्मेदवारले आफूहरू निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन् । उनीहरूले बद्री केसीले भोटिङ मेसिन कब्जा गरेर नियोजित रूपमा आफूहरूलाई हराइएको आरोप लगाउन थालेका छन् ।
उपाध्यक्षमा विजयी भएका खगेन्द्र न्यौपानेले पनि आफ्नो जित नस्वीकार्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘मैले जितेको होइन, एनआरएनएले हारेको छ । यो जित म स्वीकार गर्दिनं ।’
उनीहरूले यो अधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै अवैध रहेको बताएका छन् । पौडेलले भन्नुभयो, ‘हामी यो कार्यसमितिलाई मान्दैनौं, तत्काल तदर्थ समिति बनाएर नयाँ कार्यसमिति चयन गर्छौं ।’

प्रकाशित मिति २०८० कार्तिक ३, शुक्रबार १०:१७ गते
हजुरको प्रतिक्रिया