छापा पत्रकारलाई नआउने भो बडादशैं

छापा पत्रकारलाई नआउने भो बडादशैं

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ३ गते शुक्रबार ११:२९

विभिन्न बहानामा कर मात्र असुल्ल जानेको छ राज्यले, हाम्रा लागि त बडादशैं आउनुको अर्थ नै छैन, बरु नआएकै भए बेस हुन्थ्यो पत्रकारहरू भन्छन् । 

राज्य संयन्त्र सञ्चार मैत्री छैन

बेसीशहर– लमजुङका छापा पत्रकारलाई बडादशैं आएको नआयै हुने भएको बताएका छ । बडादशैंको बेलामा समेत लोककल्याणकारी विज्ञापनको सुविधा रकम सरकारले नपठाएपछि छापा पत्रकारहरूको दशैं खल्लो हुने भएको कार्तिक ३ गते खुल्न आएको हो ।
त्यसो त मोफसका सबै छापा पत्रकारहरूको अवस्था उस्तै हुन गएको छ । कार्तिक २ गतेसम्म सो रकम आउने आशामा रहेका छापा पत्रकारहरू सो रकम  नआएपछि निरास भएका छन् । विगतका वर्षमा असोजमा बडादशैं पर्दा पनि साउन र भदौ महिनाको सो रकम भुक्तानी दिने गरिएको थियो । तर यो वर्ष कार्तिकमा बडादशैं पर्दा समेत सरकारले सो रकम निकासा नपठाएको हो । जिल्ला हुलाक कार्यालयमार्फत लोककल्याणकारी विज्ञापन वापतको सुविधा रकम भुक्तानी हुँदै आएको छ ।
यसबारेमा जिल्ला हुलाक कार्यालयमा सम्पर्क गर्दा निकासा आएन, हिजो पनि दिनभर प्रतिक्षा गरेको हो आज त पैसा आएपनि के सम्भव होला र ? जिल्ला हुलाक कार्यालयका प्रमुख गंगा घलेले बनाउनु भयो । पत्रकारहरूलाई दशैं नै नआउने भयो नि त ? भन्ने जिज्ञासामा उहाँले ठट्टा गर्दै भन्नुभयो, ‘पैसा आएपछि मनाउने !’
यसैगरी, लमजुङ दर्पण दैनिकका प्रकाशक एवम् पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीसँग सम्पर्क गर्दा राज्यको संरचना नै मिडिया मैत्री छैन, हिजोमात्र ठेकेदारलाई भुक्तानी दिएको सुनियो अनि मिडियालाई सम्झनु पर्दैन ? त्यति रकम आइदिएको भए पनि कति राहत हुन्थ्यो । दशैंको बेलामा तलब रोकिदिन पनि भएन, मैले एक लाख सापटी खोजेर काम चलाए उहाँले भन्नुभयो ।
त्यस्तै, स्वतन्त्र पत्रकार संघ नेपालको पूर्वराष्ट्रिय महासचिव समेत हुनुभएका जिल्लाको पहिलो पत्रिका अन्तरङ्गका सम्पादक नवराज पहाडीसँग सम्पर्क गर्दा सरकारमा बस्नेहरूमा पत्रकारलाई पनि बडादशैं जस्तो चाड आउँछ र उनीहरूको पनि परिवार छ, ती सबै रमाउनु पर्छ भन्ने सोच नै छैन भन्ने व्यवहारले देखिदै आएको छ । उनीहरूका लागि पत्रपत्रिका आफ्नो गुणगान गर्ने बेलामा मात्र चाहिने हुन् । अन्यथा १० वर्षदेखि लोककल्याणकारी विज्ञापनको शुल्क बढाउनेतर्फ कुनै चासो देखिदैन, यो बीचमा महंगी, कर्मचारीहरूको तलब कति बढ्यो ? पत्रकारको दैनिकी कसरी तलेको छ भन्ने तर्फ कसैको सोच छ र ? विभिन्न बहानामा करमात्र असुल्ल पल्केको छ राज्य, हाम्रा लागि त बडादशैं आउनुको अर्थ नै छैन, बरु नआएकै भए बेस हुन्थ्यो उहाँले भन्नुभयो ।
जिल्लामा छापा माध्यमका एक दैनिक र सात साप्ताहिक पत्रिका सञ्चालनमा छन् ।
प्रकाशित मिति २०८० कार्तिक ३, शुक्रबार ११:२९ गते
हजुरको प्रतिक्रिया