बेसीशहर– लमजुङमा गैर आवासीय नेपाली नागरिकता वितरण थालिएको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम एक दम्पत्तीलाई जिल्लामा पहिलो पटक एकै साथ गैर आवासीय नेपाली नागरिकता कार्तिक ३ गते वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको रोहबरमा सेवाग्राहीलाई गैर आवासीय नागरिकता हस्तान्तरण गर्नु भएको हो । पवित्राले नागरिकता लिदा उहाँका श्रीमान र छोरी समेत सँगै हुनुहुन्थ्यो । शुरुमा पवित्रा थापा बुढाथोकीलाई र लगत्तै उहाँका श्रीमान् शिवबहादुर बुढाथोकीलाई पनि गैरआवासीय नागरिकता प्रदान गरिएको हो । उहाँहरूले नेपाली नागरिकता त्याग गरेपछि गैरआवासीय नागरिकता प्रदान गरिएको हो । 
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताउनु भयो । उहाँका अनुसार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएसँगै गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो । गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरूलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लागेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अन्य नागरिकता जस्तै सहज होला भन्ने अनुमान थियो तर पहिलो पटक भएको हुँदा आशा गरेभन्दा बढी नै समय लाग्यो, जे होस् काम भयो ।’
शिवबहादुरले अस्टे«लियामा आफ्नै रेस्टुरेन्ट सञ्चालन गरिआएको बताउनु भयो । उहाँकी पत्नी पवित्रा नर्सङि होम सञ्चालन गर्नु हुने रहेछ । उनीहरूले नेपाली नागरिकता त्यागेर गैर आवासीय नागरिकता लिनु भएको हो । नागरिकता लिएपछि, उहाँले गैरआवासीय नेपालीलाई ‘भोटिङ’ राइट हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘रहरले विदेश गएको त होइन, बाध्यता रह्यो ।’ विस्तारै थप माग पनि सम्बोधन होला भन्ने आशामा रहेको उहाँको भनाइ छ ।
गैर आवासीय नेपाली नागरिकताको लागि नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन वा निवेदक विदेशी मुलुकमा बसोबास गरेको अवस्थामा सम्बन्धित मुलुक हेर्न तोकिएको राजदूतावास वा महावाणिज्य दूतावासको सिफारिस आवश्यक पर्नेछ ।
निवेदक आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण हुनुपर्ने व्यवस्था छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र (भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका) बाहेकको देशको नागरिकता, नागरिक भएको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता अनुसूचि (८) को (घ), हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको सक्कल वा सोको प्रमाणित प्रतिलिपी आवश्यक पर्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनु भयो । । उहाँका अनुसार पहिलो पटक भएको हुँदा केही समय लागेको भए पनि अबका दिनमा भने प्रक्रिया पुगेपछि समय लाग्दैन ।
प्रकाशित मिति २०८० कार्तिक ४, शनिबार ०६:४३ गते