डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् : पूर्वराजा ज्ञानेन्द्र शाह

डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् : पूर्वराजा ज्ञानेन्द्र शाह

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ४ गते शनिवार ०७:१९

‘हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फूलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो...

हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ भन्दै चिन्ता शुभकामना सन्देशमा पूूर्वराजाबाट चिन्ता व्यक्त

‘हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फूलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो ।’ सन्देशमा भनिएको छ ।
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहबाट विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् भन्दै देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त भएको छ । उहाँबाट जारी बडादशैंको शुभकामना सन्देशमा कार्तिक ३ गतेका दिन त्यस्तो उल्लेख भएको हो ।
पूर्वराजाबाट जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्नेमा जोड दिदै लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देश झन् खराबीतिर गएको भन्ने आमगुनासो रहेको बताइएको छ । संवाद सचिवालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहले बताएका छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर प्रश्न समेत गरेका छन् ।’
डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ भन्दै चिन्ता शुभकामना सन्देशमा पूूर्वराजाबाट चिन्ता व्यक्त भएको छ । ‘विदेशिएका र देशमै रहे बसेका दुबै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ,’ पूर्वराजाबाट जारी सन्देशमा भनिएको छ ।
शुभकामना सन्देशको पूर्ण विवरण ;
प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,
नेपालीहरूको महान् राष्ट्रिय पर्व बडादशैँ हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्साउने यो पर्वले हामीलाई सही, सत्य देवी शक्तिको संवद्र्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फूलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौँ भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ ।
धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो । अभाव र भेदभाव नेपालीपन होइन । सद्भाव विनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन ।
डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुवै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ ।
व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ?
जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन– हाम्रो यही चाहना हो ।
श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून् ।
जय नेपाल !
मिति २०८० कार्तिक ३ गते ।

प्रकाशित मिति २०८० कार्तिक ४, शनिबार ०७:१९ गते
हजुरको प्रतिक्रिया