एनआरएनएका पदाधिकारीले विवादका बीच लिए शपथ, विभाजनको संकेत

एनआरएनएका पदाधिकारीले विवादका बीच लिए शपथ, विभाजनको संकेत

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ४ गते शनिवार ०७:२७

अध्यक्षका प्रत्यासी आरके शर्माले कथित शपथको कुनै औचित्य छैन भन्दै यो एनआरएनए अभियानको मर्म विपरित छ । यो शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजनतर्फ लगेको उल्लेख गर्नु भएको छ ।

असन्तुष्ट समूहले बोलायो पत्रकार सम्मेलन

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिको विवादका बीच शपथ ग्रहण गराइएको छ । होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ कार्तिक ४ गते दिलाएको हो । निर्वाचनमा केसी अध्यक्षमा विजयी भएको घोषणा गरिएको थियो ।
यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गर्नु भएको थियो । २ गते नै श्रेष्ठ र शर्मा पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दिनुका साथै यसबारे छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएको थियो ।
उनीहरूले अध्यक्ष बद्री केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् ।
अध्यक्ष कुल आचार्य, बद्री केसी र रविना थापाले विज्ञप्ति जारी गरेर अर्को निर्णय नभएसम्मका लागि शुक्रबार तय भएको सम्पूर्ण कार्यक्रम रद्ध भएको जानकारी दिएका थिए ।
शपथपछि केसीले निर्वाचन पारदर्शी भएको दाबी गर्दै केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको बताउनुभयो । उहाँले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने समेत दावी गर्नु भएको थियो ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा बद्री केसी, उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी (राज), रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी विजयी हुँदा महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा विजयी हुनु भएको छ ।
यसैगरी उपमहासचिवमा प्रविण गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका बताइएको छ ।
असन्तुष्ट समूहले बोलायो पत्रकार सम्मेलन :
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसीलाई शपथ गराइएपछि असन्तुष्ट पक्ष आक्रोशित बनेको छ । निर्वाचनको परिणाम अस्वीकार गर्ने घोषणा गरेपनि केसीसहित सम्पूर्ण कार्यसमितिलाई शपथ दिलाइएसँगै श्रेष्ठ र शर्मा समूहले होटल हिमालयमा आजै साँझ ५ बजेका लागि पत्रकार सम्मेलन बोलाएको हो । निर्वाचनमा सिस्टम ह्याक गरेर केसी विजयी भएको र समग्र निर्वाचन नै हेरफेर गरेको अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठको दावी छ ।
अध्यक्षका प्रत्यासी आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनतर्फ लगेको टिप्पणी गरेका छन् । शर्माका अनुसार एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी मञ्चन गरिएको कथित शपथको कुनै औचित्य छैन । उहाँले भन्नुभयो, ‘यो एनआरएनए अभियानको मर्म विपरित छ । यो शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजनतर्फ लगेको छ ।’
निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको शर्माको भनाइ छ । उहाँले भन्नुभयो, ‘एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु ।’

प्रकाशित मिति २०८० कार्तिक ४, शनिबार १९:२७ गते
हजुरको प्रतिक्रिया