इजरायलमा मृत्यु भएका ४ नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो : आजै धनगढी पठाइने

इजरायलमा मृत्यु भएका ४ नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो : आजै धनगढी पठाइने

एजेन्सी

@antaranganews

२०८० कार्तिक ५ गते आईतबार ०१:३९

पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ । आशिष चौधरीको शव आजै दिउँसो आइपुग्ने बताइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा चारवटा शव पठाइएको छ भने बाँकी ६ वटा शव पछि पठाइने छ ।

काठमाडौं इजरायलमा मृत्यु भएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं– इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरूको शव नेपाल ल्याइएको छ । दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी अक्टोबर ७ तारिक अर्थात गत असोज २० गते निधन भएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको हो ।
प्यालेस्टिनी चरमपन्थी समूहको हमलामा परी मृत्यु भएकाहरूको शव कार्तिक ५ गते यहाँ ल्याइएको हो ।
इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै नेपाल ल्याइएको हो ।
विमानस्थलमा श्रद्धाञ्जली दिएर शवहरूलाई विमानस्थलबाट महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । शवलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो ।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ । आशिष चौधरीको शव आजै दिउँसो आइपुग्ने बताइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा चारवटा शव पठाइएको छ भने बाँकी ६ वटा शव पछि पठाइने छ ।
पोष्टमार्टमपछि चारै जनाको शव आजै धनगढी लैजाने तयारी गरिएको छ ।
गएराति काठमाडौं ल्याइएको न्यौपानेको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान ल्याइपुर्याइएका धामी र विष्टको शव समेत त्रिवि शिक्षण अस्पतालमै लगिएको छ । आशिषको शव पनि आइपुगेपछि चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अपराह्न दुई बजेको आसपासमा शव पठाउन सकिने आंकलन छ ।
कृषि विषयमा ‘पढ्दै कमाउँदै’का लागि इजरायलमा पुगेका नेपाली विद्यार्थीहरू गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । जोशीलाई हमास समूहले बन्धक बनाएको अनुमान गरिएको छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।
युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको थियो । पहिलोपटक नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर २५४ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो भने १८ जना नेपालीहरू भारतको उद्धार उडान मार्फत् आएका थिए ।
नेपाल फर्किन चाहनेहरूका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ । अनलाइनमा थप १४० जना नेपालीहरूले स्वदेश फर्किने इच्छासहित आफ्नो विवरण इन्ट्री गराएको र तीमध्ये सात जना मात्रै तत्कालै नेपाल फर्किन इच्छुक रहेको दूतावासले जनाएको छ ।
बाँकी ६ जनाको शव प्रक्रिया पूरा गरेर ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० कार्तिक ५, आईतवार १३:३९ गते
हजुरको प्रतिक्रिया