
श्रीमञ्ज्याङ(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– ३ को श्रीमञ्ज्याङ स्थित नयाँगाउँ चिसापानीमा यात्रुबाहक जिप दुर्घटना भएको छ । नयाँगाउँ चिसापानीको दासडाँडा ओरालोमा सो दुर्घटना ८ गते विहान भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका ४ जनालाई थप उपचारको लागि काठमाडौं र भरतपुर रिफर गरिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते राइनास नगरपालिका– ८ हर्राबोटका १३ बर्षीय कृश्टल गुरुङ र ४४ बर्षिय दुर्गा गुरुङलाई थप उपचारका लागि ग्राण्डी हस्पिटल काठमाडौं पठाइएको हो । त्यस्तै, घाइते मध्ये गम्भीर रहेका दोर्दी गाउँपालिका– ३ बस्ने ५० बर्षीया प्रेमकुमारी गुरुङ र दुधपोखरी गाउँपालिका– ६ का ३७ बर्षीया मोनिका घलेलाई चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताउनुभयो । उहाँका अनुसार अन्य घाइते मध्ये १७ वर्षकी निकिता गुरुङको हाल नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते भएकाहरू सामान्य उपचार पछि घर फर्किएका छन् । हजो बिहान पौने ९ बजेतिर ग १ ज ६३९१ नं. को जिप ओरालोमा दुर्घटना भएको चपाईको भनाइ छ ।
चपाइँले भन्नुभयो, ‘दूधपोखरी गाउँपालिका– ६, साल्मेबाट सुन्दरबजार नगरपालिकाको भोटेओडारतर्फ आउदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा जिपमा सवार सवै १२ जना घाइते भएका हुन् ।’
बेसीशहर नगरपालिका १, रतनपुरका जिप चालक ३१ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको चपाइँले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८० कार्तिक ९, बिहीबार ०७:४० गते