‘कसैले भ्रम नपाल्दा हुन्छ, यो गठबन्धन पाँच वर्ष जान्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

‘कसैले भ्रम नपाल्दा हुन्छ, यो गठबन्धन पाँच वर्ष जान्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

एजेन्सी

@antaranganews

२०८० कार्तिक ९ गते बिहिबार ०६:५३

आफू प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको दाबी गर्दै मिटरब्याज पीडित जनताले न्याय पाएका, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।

प्रचण्ड पथ ब्यूँताउने संकेत

पश्चिम रुकुम– ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो, गठबन्धन भत्काउन, टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् तर, उनीहरूले सक्ने छैनन् । म जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ, गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन, कसैले भ्रम नपाल्दा हुन्छ ।’ प्रस्तुत भनाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का हुन् । उहाँले यहाँको बाफिकोट गाउँपालिकामा आयोजित शहीद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम– २०८० को उद्घाटन गर्दै कार्तिक ९ गते त्यस्तो दाबी गर्नु भएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन भत्काउन अनेक प्रयत्न भइरहेको बताउँदै त्यस्तो सपना देख्नेहरूलाई भ्रममा नपर्न चेतावनी समेत दिनु भएको छ । आधा घण्टाभन्दा बढी मन्तव्यको क्रममा ‘प्रचण्डपथ’ छाडेपछि माओवादी विभाजन भएको भन्दै विचार मुख्य हुने हुँदा हिजो प्रचण्डपथलाई आफैले रोकेको स्मरण गर्नुभयो । पार्टी एकताबद्ध होला भनेर आफूले प्रचण्डपथ रोकेको तर पार्टी झनै विभाजन भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो प्रचण्डपथले बाबुराम, किरणदेखि विप्लव सबैलाई समेटेको थियो । तर, प्रचण्डपथ छाडेपछि पार्टी विभाजनमा पुगेको हो । प्रचण्डपथ छाडेको दिनदेखि मियो बिनाको दाइँ जस्तो भयो, सबै गोरुहरू जतातता जान मन छ त्यस्तै भयो । त्यसकारण फेरि एक पटक विचार केन्द्रित गर्नु छ ।’ सायद त्यो गर्नु गल्ती थियो कि क्या हो ? भन्ने महसुस गरेको छु । यो कुनै भावना नभई क्रान्ति र आवश्यकताको कुरा हो, आठौँ महाधिवेशनको प्रतिवेदनमा पनि त्यो भनेको छु प्रचण्डले स्मरण सुनाउनुभयो ।
पार्टी विभाजनको असर सबैतिर परे पनि रुकुममा जनार्दनको कमान्डमा माओवादी विभाजन नभएको प्रति धन्यवाद दिदै रुकुमको विकासका लागि आफू अग्रसर भइरहेको र अझ बढी रहने उल्लेख गर्नुभयो । उहाँले माओवादीले पुनः एकताको सन्देश सहित विभाजित माओवादीलाई जोड्ने प्रयास गरिरहेको पनि बताउनु भयो । विभाजन भएर एकतामा आउन बाँकी साथीहरू पनि आउने र समाजवादी क्रान्तिको अभियानमा जाने अठोटका साथ केन्द्रीय नेताहरू पनि गाउँ– गाउँमा केन्द्रित भएको उहाँको थप दाबी थियो ।
अर्को एक प्रसंगमा प्रधानमन्त्रीले आफू संयुक्त राष्ट्रसंघको महासभामा जाँदा राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै केही दिन भित्र महासचिव नेपाल आउने पनि बताउनु भयो । मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ भन्दै भन्नुभयो, ‘जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस्’ भनेको थिएँ । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो, कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं । कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।
आफू प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको दाबी गर्दै मिटरब्याज पीडित जनताले न्याय पाएका, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।
पूर्वमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले समेत सो सभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० कार्तिक ९, बिहीबार १८:५३ गते
हजुरको प्रतिक्रिया