काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ । उहाँले दलहरूप्रतिको जन विश्वास नघटेको समेत कार्तिक ११ गते दावी गर्नु भयो ।
बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै देउवाले त्यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’ उहाँले राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्छ, राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै छ भन्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि ! भन्ने सञ्चारकर्मीको जिज्ञासामा त्यसमा सत्यता नरहेको समेत उहाँको दावी थियो । ‘दलभित्रको फरक मत हुन सक्लान्, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबीच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरूप्रति संवाद आदानप्रदान गर्न सहज हुन्छ भन्नुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा चियापानमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, सरकारका मन्त्रीहरू, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने, विभिन्न प्रदेशका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
चियापान तथा शुभकामना कार्यक्रममा १२ हजारभन्दा धेरै जना सहभागी भएको कांग्रेसको भनाइ छ । काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चियापान तथा शुभकामना कार्यक्रमका लागि १० हजार जनालाई निमन्त्रणा पठाएकोमा १२ हजारभन्दा बढी उपस्थित भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अपेक्षित र तुलनात्मक रुपमा कार्यक्रम भव्य र सभ्य ढंगले सम्पन्न भएको छ, राजनीतिक दलका नेताहरू, कुटनीतिक प्रमुख र प्रतिनिधि लगायतको सहभागिता रह्यो ।’
चियापानको मेन्युमा केरा, समोसा, निम्की, बर्फी र चिया/कफी :
यसैबीच, कांग्रेसले गरेको चियापान कार्यक्रममा दुई थरी मेन्यु राखिएको छ । अतिथि तथा भीआईपीका लागि बारा, स्विटकर्न, चिकेन, चिज स्यान्डविच, अचार, चिया, कफीको व्यवस्था गरिएको अनुपम फुडल्याण्डका शेफ सन्तोष मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समोसा, केरा, निम्की, बर्फीको प्याकेटको व्यवस्था गरिएको थियो । त्यस्तै सेतो र कालो चिया तथा कफीको समेत व्यवस्था गरिएको थियो ।
अनुपम फुडल्याण्डले भीआईपीका लागि झन्डै ४ सय जना र अन्य ५ हजार जनाका लागि दुई थरी मेन्युको प्याकेट बनाएको जनाएको छ ।
दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान तथा शुभकामना कार्यक्रम गरिएको थियो । कांग्रेसका संस्थापकमध्येका एक बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।
प्रकाशित मिति २०८० कार्तिक ११, शनिबार २१:४५ गते