काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूको प्रतिस्पर्धा कुनै राजनीतिक दलसँग भएको देशमा विद्यमान गरिबी, बेरोजगारी र भ्रष्टाचार हो र यसका विरुद्ध सबै दलहरूले लड्नु पर्ने स्पष्ट्याउनु भएको छ । कोजाग्रत पूर्णिमामा दिन नेपाली कांग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले कार्तिक ११ गते त्यस्तो बताउनु भएको हो ।
राजनीतिक दलबीच निर्वाचनका दिनबाहेक अरू समयमा आपसी लडाइँ नहुने बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो प्रतिस्पर्धा कुनै राजनीतिक दलसँग होइन, वास्तवमा सबै राजनीतिक दलको प्रतिस्पर्धा अथवा दुस्मनी भनौँ अथवा लड्नु पर्ने साझा दुस्मन भनेको यो देशको गरिबी, यो देशको बेरोजगारी, यो देशको भ्रष्टाचार हो, त्यसकारणले हामीले त्यसरी प्रतिस्पर्धा सोचेका छैनौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी यिनै साझा दुश्मनका बिरुद्ध लडिरहेको, कुनै राजनीतिक दलहरुसँग आफूहरुको प्रतिष्पर्धा नभएको बताउँदै उहाँले भन्नुभयो, ‘चुनावमा लड्नुपर्ने कुरा बेग्लै होला । हामी चुनाव बाहेक अरु दिनमा कुनै त्यस्तो लड्ने, प्रतिष्पर्धा गर्ने कुरा छैन । हामी लड्नुपर्ने साझा विषय भ्रष्टाचार बिरुद्ध हो, नेपाली कांग्रेसले त्यही भनेको भनेको छ, एमालेले त्यही भनेको छ । हामीले त्यही भनेका छौँ ।’ उहाँले थप जोडदिदै भन्नुभयो, ‘हाम्रो दुश्मन, लड्नुपर्ने ठाउँहरू, हामीले फाल्नुपर्ने चिजहरू साझा छन् ।’
रास्वपालाई चुनौति भनेको आफ्नै दल बनाउनुपर्ने भएकाले हामी भित्रै छ । जनताले जुन आशा र विश्वासका साथ हामीलाई छोटो समयमा संकेत गरेका छन् । कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि ! भन्ने बाहेक हामीले अहिलेका लागि सोच्नुपर्ने अवस्था छैन । त्यसकारणले हामीले हाम्रा लागि चुनौति पार्टी निर्माण हाम्रो चुनौति हो । संगठनको चुस्तता, दस्तावेज बनाउने चुनौती हो ।’
चुनौतिकै बारेमा थप व्याख्या गर्दै रविले दिन दहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौती दिए ठाडै । हेर्दाहेर्दै । यस्त कयौँ बेथितिका चुनौतीहरू दिएका छन् भन्ने उल्लेख गर्नुभयो ।
भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्, तपाईहरूको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन भन्दै सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्नु पर्ने बताउनु भयो । २०८४ मा एकैपटक बाइबाइ गर्ने, सीमित सिट दिनुपर्छ, पुराना पार्टी हुन् माया गर्नु पर्छ भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनु हुन्छ ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरूलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन् ।’
चियापान कार्यक्रममा नेताहरूको जमघट उच्च राजनीतिक संस्कार भएको उल्लेख गर्नु हुँदै उहाँले चाडपर्वले जुराएको अवसरमा कांग्रेसका नेता–कार्यकर्ताप्रति शुभकामना र कृतज्ञता व्यक्त गर्नु भयो । यो अवसरको सदुपयोग गरेको मलाई राम्रो लागेको उहाँको भनाइ छ ।
प्रकाशित मिति २०८० कार्तिक १२, आईतवार ०५:५३ गते