बरिष्ठ समाजसेवी, ठाडोभाका प्रतिष्ठानका सल्लाहकार नरेन्द्रराज ढुंगानाको अन्तिम विदाईको फोटो फिचर

बरिष्ठ समाजसेवी, ठाडोभाका प्रतिष्ठानका सल्लाहकार नरेन्द्रराज ढुंगानाको अन्तिम विदाईको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक १२ गते आईतबार ०७:५८

स्व. ढुंगानाका जेठा छोरा गिर्वाण ढुंगानाले दागबत्ती दिनु भई आफ्ना पिताको अन्तिम विदाई गर्नु भएको हो । स्व. ढुंगानाका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।

भरतपुर मेडिकल कलेजमा ६६ वर्षको उमेरमा कार्तिक १२ गते बिहान ८ः३० बजे उहाँको निधन भएको हो ।

पाउँदी(लमजुङ)– बरिष्ठ समाजसेवी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार नरेन्द्र ढुंगानाको ६६ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा कार्तिक १२ गते बिहान ८ः३० बजे निधन भएको हो ।
पछिल्लो समयमा उहाँको कलेजोमा इन्फेक्सन भएको थियो । विजयादशमीको टीकाको भोलिपल्ट उपचारका लागि सो अस्पतालमा भर्ना गरी आइसियु कक्षमा उपचार गरिएको थियो । तर उहाँलाई बचाउनका लागि गरिएको त्यो प्रयास काम लाग्न सकेन ।
उहाँको शवलाई लमजुङको सुन्दरबजार नगरपालिका– ७ को तार्कुटार स्थित निवासमा ल्याएर श्रीमती सीतालाई स्वर्गीय ढुंगानाको मुख देखाई सीतासहित छिमेकीहरूलाई अन्तिम विदाई गर्न लगाई पाउँदी स्थित मर््स्याङदी नदी किनारमा रहेको मरनघाटमा लगेर अन्तिम संस्कार गरिएको हो । उहाँको अन्तिम विदाईका लागि ठाडोभाकाका पदाधिकारीहरूको टोली नै घाटमा पुगेको थियो ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइरालाले राष्ट्रिय झण्डा ओढाएर उहाँको अन्तिम विदाई गर्नु भएको थियो ।
अन्तिम विदाईका लागि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार दामोदर अधिकारी, सुन्दरबजार नगरपालिकाका मेयर एवम् प्रतिष्ठानका आजीवन सदस्य कृष्णप्रसाद कोइराला, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, अध्यक्ष नवराज पहाडी, वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, उपाध्यक्ष सीता दुरा, महासचिव अकल विरही गुरुङ, कोषाध्यक्ष सीता गुरुङ, कार्यकारी सदस्यहरू अमरध्वज गुरुङ, मीना गुरुङ, देउकुमारी गुरुङ, कृष्ण केसी, सञ्जोग लामिछाने, पानमाया गुरुङ लगायतको सहभागिता थियो ।
प्रतिष्ठानका अध्यक्ष पहाडीले स्व. ढुंगानाको जीवनीमा प्रकाश पार्नु हुँदै उहाँ लोक कलासंस्कृति तथा साहित्यको उत्थानका साथै समाजमा निमुखाको न्याय, सुशासनका साथै विकासका काममा दिलोज्यान दिएर लाग्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँले राष्ट्रियस्तरमा ख्याति प्राप्त गरेका कलाकारलाई सम्मानका लागि एक लाख पाँच सय पचपन्न रुपैयाको अक्षयकोष सहित ठाडोभाका– टीकाकुमारी पुरस्कार स्थापना गर्नु भएको जानकारी दिनुभयो ।
श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसका गण्डकी प्रदेशको संगठन विभागका प्रमुख हरि बराल सहित सुन्दरबजार नगरसमितिका अध्यक्ष प्रकाश सेढाई लगायतको सहभागिता थियो । काँग्रेसले पनि उहाँले पार्टीका पक्षमा गर्नु भएको योगदानको चर्चा गर्दै उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएको थियो ।
नेपाल प्रहरीको पूर्वप्रहरी सहायक निरीक्षक समेत रहनु भएका ढुंगानको अन्तिम विदाईका लागि ढुंगाना समाज, पूर्वप्रहरी संगठनका जिल्ला प्रतिनिधि उपाध्यक्ष कमल अधिकारी, सो संगठनका केन्द्रीय सदस्य बीरसिंह घले लगायतको सहभागिता थियो भने प्रहरी सहायक निरीक्षक विजय गुरुङको नेतृत्वको टोलीले अन्तिम सलामी दिएको थियो ।
स्व. ढुंगानाका जेठा छोरा गिर्वाण ढुंगानाले दागबत्ती दिनु भई आफ्ना पिताको अन्तिम विदाई गर्नु भएको हो । स्व. ढुंगानाका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । प्रस्तुत छ, त्यो दुःखद क्षणको फोटो फिचर :

प्रकाशित मिति २०८० कार्तिक १२, आईतवार १९:५८ गते
हजुरको प्रतिक्रिया