भोटेओडार(लमजुङ)– यहाँ स्थित सिर्जनात्मक साकोसले अढाई करोड बढी मुनाफा आर्जन गरेको छ । सो साकोसको २७ औँ वार्षिकोत्सव तथा २४ औँ साधारण सभाको तयारी युद्धस्तरमा चलिरहेको छ । सोही क्रममा धमाधम क्षेत्रगत इकाई भेलाहरू सम्पन्न भएका छन् । ती क्षेत्रगत भेलामा साकोसले अढाई करोड बढी मुनाफा आर्जन गरेको जानकारी कार्तिक १५ गते दिइएको हो ।
साधारण सभाको तयारीका लागि पाँच ठाउँमा सञ्चालन गरिने क्षेत्रगत भेला चार स्थानमा सम्पन्न भएको र आज कार्तिक १६ गते अन्तिम क्षेत्रगत भेला सम्पन्न गरी मुल साधारण सभा कार्तिक १८ गते गर्ने तयारी गरिएको साकोसले जनाएको छ ।
भोटेओडार क्षेत्र अन्तरगत पैह्रे चौतारामा कार्तिक १५ गते क्षेत्रगत साधारण सभा आयोजना गरिएको थियो । सो भेला संस्थाको अध्यक्ष रामजी कडेलको अध्यक्षता पूर्व लेखा सुपरिवेक्षण समितिका सयोजक प्रेमबहादुर जि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सुन्दरबजार नगरपालिका– ९ क्षेत्रका शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
ती भेलाहरूमा सहकारीका अध्यक्ष रामजी कँडेलले सहकारी प्रति सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएता पनि सबै भ्रमपूर्ण भएको हुँदा ढुक्क भएर करोबार गर्न आग्रह गर्नुभएको थियो ।
संस्थाका सचिव मेनबहादुर घलेले सञ्चालन गर्नुभएको भेलामा संस्थाको सहसचिव सिर्जना अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । उपाध्यक्ष विष्णु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
साथै आर्थिक प्रतिवेदन संस्थाको व्यवस्थापक इन्द्रविलास सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उहाँले साकोसको वासलात ७७ करोड ८६ लाख ५९ हजार ६५४ रुपैया रहेको जानकारी दिनु हुँदै संस्थाले गत आवमा दुई करोड, ६९ लाख ११ हजार २६७ मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संस्थामा कुल सेयर सदस्य चार हजार ३२० रहेकोमा दुई हजार चार सय १९ महिला र एक हजार नौ सय एक जना पुरुष शेयर सदस्य संख्या छ ।’ संस्थामा बाल बचत सदस्य संख्या एक हजार ९५ रहेको व्यवस्थापक सापकोटाले जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ताहरू पाँच जना निर्किता भुजेल, सिम्रन घर्ती, सकृसा अधिकारी, प्रबिसा अधिकारी, मुस्कान डिसीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, दोस्रो भेला लमजुङको सुन्दरबजार नगरपालिका– ९ को अकला मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ । भेला सुन्दबजार नगरपालिका– ८ का पूर्ववडा अध्यक्ष कृष्णकान्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । अतिथिहरूमा समाजसेवी हरिशचन्द्र सापकोटा, संस्थाका पूर्व सहअध्यक्ष केशवराज अधिकारी रहनुभएको थियो । भेलाले अकला क्षेत्रका २ जना बाल बचतकर्तालाई समेत सम्मान गरिएको थियोे ।
विष्णु श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा समाजसेवी हरिषचन्द्र सापकोटा र डोलकुमारी सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरी, सोही इकाइ भेला सुन्दरबजार नगरपालिका– ७ सुन्दरबजार क्षेत्रको भेला पनि सोही वडाका अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सबै भेलामा स्वागत उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अकला र सुन्दरबजारका भेलाको सञ्चालन समितिका सचिव मिनबहादुर घले र सह सचिव सिर्जना बराल अधिकारले गर्नुभएको थियो ।
ती इकाइ भेलाहरूमा सहकारीकोे सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्ष ०७९/८० को वार्षिक आर्थिक प्रतिवेदन माथि छलफल गरी भेलाद्वारा पारित गरिएको सचिव मेन घलेले जानकारी दिनुभयो । उदघोषणको एक प्रसङ्गमा उहाँले संस्थाको पुरानो जग्गा सुन्दरबजारमा रहेको स्थानको लालपूर्जा वर्तमान कार्यसमितिले संस्थाको नाउँमा लालपूर्जा लिइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही सञ्चारमाध्यम हाम्रो बदनाम गर्न नियोजित रुपमा लागेको छन् र अनर्गल प्रचार गरिरहेका छन् । हामीसँग सम्पर्क नै नगरी एकतर्फी समाचार संप्रेषण गर्नु पत्रकारिताको धर्म होइन तर त्यही गर्न किन उद्दत छन् ? भन्ने बुझ्न सकिएको छैन । हाम्रा सबै गतिविधि पारदर्शी छन् । यो समितिले संस्थाको सबैप्रकारको आफ्नो सम्पत्ती आफ्नै नाउँमा ल्याएको छ, व्यक्तिका नाउँमा छैन ।’
इकाई भेलाहरूमा प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम आव ०८०/८१ का कार्यक्रमहरू, कार्ययोजना तथा बजेट माथि छलफल गरिएको थियो ।
यसैगरी, आज १६ गते कार्यालय क्षेत्रको धारापानीमा हुने सूचना यसअघि नै जारी गरिएको समेत व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार १८ गते सबै क्षेत्रको प्रतिनिधित्वका आधारमा भक्ति नमूना माविको सभाहलमा बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गर्ने तयारी गरिएको छ ।
स्मरणीय छ, लमजुङमै केही बचत सहकारीहरूले शेयर सदस्य तथा बचतकर्ताहरूले जम्मा गरेको रकम मिलिजुली भात भाञ्सा (ठगी) गरेका समाचार आइरहेको र वर्तमानको ‘आर्थिक मन्दीको चापको मार’बाट मुलुक नै ग्रस्त भई नेपाल श्रीलंका बन्छ भन्ने आशंका बढिरहेको समयमा सिर्जनात्मक साकोसले त्यति ठूलो परिणाममा मुनाफा आर्जन गर्न सक्नु उक्त साकोसका सञ्चालकहरू तथा कर्मचारीहरूको कार्यकुशलता एवम् शेयर सदस्यका लागि गौरवको विषय भएको बताइएको छ ।
प्रकाशित मिति २०८० कार्तिक १६, बिहीबार ०६:५१ गते