बेसीशहर– लमजुङका ३३ जना भूमिहीनहरूले जिल्लामै पहिलो पटक लालपूर्जा पाउने भएका छन् । त्यसबारेमा राष्ट्रिय भूमि आयोग, जिल्ला समितिको कार्यालयमा एक कार्यक्रमका बीच त्यसको तयारी कार्तिक १५ गते गरिएको हो ।
अयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले सुन्दरबजार नगरपालिकाका ३३ जना भूमिहीनलाई तिहार अघि नै लालपूर्जा वितरणको काम गर्ने तयारी भएको बताउनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकामा ४७ जना भूमिहीनहरूमध्ये ३३ जनालाई लालपूर्जा वितरणको अन्तिम तयारी गरिएको हो । ती भूमिहीनहरू यसअघि सोही नगरपालिका– ९ मा बसोबास गर्दै आएका थिए । सो वडामा जग्गा नभएका कारणले नगरपालिकाको सिफारिसमा वडानं– ७ र ८ वडामा उनीहरूका लागि जग्गा दिने तयारी गरिएको हो ।
त्यसको तयारीका क्रममा आज ती ३३ जना भूमिहीनहरूलाई लालपूर्जाका लागि आवश्यक पर्ने जग्गा धनीको दस्तखत तथा ल्याप्चे लिने काम गरिएको आयोगका कम्प्युटर अप्रेटर विराट न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवसरमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, आयोगका विज्ञ सदस्य ऋषिकेश घिमिरे, सदस्य शोभा थापा समेत सहभागी हुनुहुन्थ्यो ।
वडानं– ७ को टुनीपाटामा १६ जनालाई र वडानं– ८ को पिपलपाटामा १७ जनालाई लालपूर्जा वितरणको तयारी गरिएको आयोगका जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार लालपूर्जा पाउनेहरू १६ जनालाई १३० वर्गमिटर र १७ जनालाई १५८.९ वर्गमिटर घडेरी जग्गा दिने तयारी गरिएको छ ।
उहाँले भन्नुभयो, ‘१४ जनाको जग्गा नकारात्मक परेको हुँदा केन्द्रमा सोधेर पठाएका छौं, जवाफ बाँकी छ, त्यो जग्गा नकारात्मक परेको हुँदा समस्या भएको हो ।’
उहाँले थप भन्नुभयो, ‘त्यो नगरपालिकामा अव्यवस्थित बसोबासीको संख्या ५९ जना रहेको छ ।’ उनीहरूका बारेमा भूमिहीनको व्यवस्था भइसकेपछि मात्र प्रक्रिया सुरु हुन्छ ।
यसपटक जग्गा धनी पूर्जा पाउने तयारीमा रहेका मध्ये ६ जना दलित भएको आयोगले जनाएको छ । आयोगका अनुसार रोडहेडमा भएकोले १६ जनालाई जग्गा कम परेको हो ।
यसबारेमा प्रतिक्रिया दिँदै सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले आजका दिनसम्म भूमिहीनको पीडा सहन गरेर बस्नु भएका नगरवासीले अब जग्गा धनी पूर्जा पाउँदै हुनुहुन्छ । यो खुशीको कुरा हो, उहाँहरू बसैलाई बधाई छ उहाँले भन्नुभयो ।
त्यस्तै, आयोगका विज्ञ सदस्य ऋषिकेश घिमिरेले हामीले आजका दिनसम्म गरेको मेहनतको फलको परिणाम हो, हाम्रो जिल्लामा यो ऐतिहासिक काम हुँदैछ । यसको श्रेय सबै सुन्दरबजार नगरपालिकाका मेयर, सम्बन्धित वडाध्यक्षहरूलाई जान्छ उहाँले भन्नुभयो ।
यसैगरी, आयोगका अर्का सदस्य शोभा थापाले आयोगको लक्ष्य अनुसार काम भएको भए त यो काम जेठमै हुनुपर्ने थियो तर ढिलै भएपनि गौरवबोध हुने काम भएको छ । अहिले सबैभन्दा बढी झञ्जटिलो काम मस्र्याङ्दी गाउँपालिकामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिकामा वडाहरूले एकपटक गरेको सिफारिस पालिकाले हराई दिएको हुँदा फेरि वडाबाट संकलन गर्नु पर्ने स्थिति उत्पन्न भएको छ ।
त्यस्तै, नापी कार्यालयका प्रमुख एवम् आयोगका सदस्य सचिव विनोद श्रेष्ठले म त भरखर आएको आउनासाथ यो काम गर्ने मौका मिल्यो, म पनि यही जिल्ला(चिति)को भएको हुँदा लालपूर्जा वितरण गर्न पाउनु खुशीको कुरा हो भन्नुभयो ।
प्रकाशित मिति २०८० कार्तिक १६, बिहीबार ०८:२६ गते