काठमाडौँ– एमालेद्वारा बडादशैँ, तिहार र छठ पर्वका अवसरमा आयोजित चियापान कार्यक्रम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी हुुुन भएको छ । एमालेद्वारा पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा एमाले विभाजनबाट बनेको समाजवादीका सम्मानित नेता खनाल तथा सचिव रामकुमारी झाँक्री कार्तिक १५ गते सहभागी हुनु भएको हो ।
समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल भने त्यहाँ देखिनु भएन । उहाँहरूले सायद निम्तो आउँदैन भन्ने ठानेर काठमाडौँ बाहिर बनाउनु भएको हुन सक्ने आंकलन छ ।
हुन त, पार्टी विभाजनयता एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बोलचाल बन्द जस्तै छ । ओलीले एकीकृत समाजवादीलाई दलको मान्यता दिन पनि हिच्किचाउँदै आउनु भएको छ । यो चियापानसम्म आइपुग्दा भने उनले एकीकृत समाजवादीको अस्तित्व स्वीकार गर्दै निम्ता दिएको बुझिएको छ ।
यसबारेमा जिज्ञासा राख्दा माधवकुमार नेपाललाई सम्मानपूर्वक निम्ता गरिएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो ।
त्यसैले, अध्यक्ष नेपाल गृह जिल्ला रौतहत पुग्नु भएको थियो । चियापान भ्याउने गरी आउन भने प्राविधिक कारणले नमिलेको समाजवादीको भनाइ छ । पूर्वमन्त्री समेत रहनु भएकी झाँक्री भने पुष्प गुच्छासहित च्यासल पुग्नु भएको थियो ।
उक्त चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतको नेताहरू सहभागी भए । शीर्ष नेताहरूले राउण्ड टेवलमा बसेर फोटो फोटो समेत खिचाएका थिए । त्यस्तै, सो कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरू समेत सहभागी देखिन्थे ।
चियापान कार्यक्रममा आएका पाहुनालाई पार्टी अध्यक्ष ओली आफू लगायतका नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले स्वागत गर्नु भएको थियो ।
भीम रावल फेरि अपमानित ?
शीर्षस्थ नेताको स्वागतमा ओली आफैं खट्नु भएको थियो । विशिष्ट निम्तालु आउँदा ओलीले सबैलाई उठेर स्वागत गर्नु भएको थियो । सुरक्षाका कारण मञ्चमा आउन नपाएका पाहुनालाई आफैं वर सरेर उनीहरूसँग शुभकामना साटासाट गरेका ओलीले पार्टीका नेता भीम रावल आउँदा बसेर नै स्वागतको शिष्टाचार पुरा गर्नु भयो । यस घट्नाले ओलीको मन रावलप्रति अझै उस्तो खुसी छैन भन्ने छकन हो भने भीम रावलले फेरि आफू अपमानित भएको अनुभूति गर्नु भएको बताइएको छ ।
नेता रावलसँग बसेरै शुभकामना साट्नु भएका ओलीले नेकपा (माले)का महासचिव सिपी मैनालीसँग भने कसिलोसँग अंकमाल गरेको दृश्य हेर्न लायक थियो ।
२०५४ सालमा एमाले विभाजन हुँदा मालेको संस्थापक बन्नु भएका मैनाली पार्टी एकता हुँदा मूलघरमा फर्किन चाहनु भएन । तथापि मैनालीले नेतृत्व गरेको पार्टी, नेकपा (माले)को संगठन उस्तो विस्तार हुन सकेको छैन ।
एमालेको चियापानमा देउवाले ओलीबीच हार्दिकता प्रदर्शित :
सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल सधैंका प्रतिद्वन्द्वी हुनुहुन्छ । तर दुई पार्टीबीच छुट्टै हार्दिकता प्रतिविम्बित हुने गरेको छ । काँग्रेसको चियापानमा जस्तै एमालेको चियापानमा पनि दुई नेताहरू देउवाले ओलीबीच हार्दिकता प्रदर्शित भएको थियो ।
एमालेको चियापानमा पनि ओली र देउवाले मञ्चमा उभिएर दर्विलोसँग हात मिलाउनु मात्र भएन अझ संयुक्त रूपमा हात हल्लाएर अभिवादन गर्नु भयो । त्यो दृश्यबाट उत्साहित कार्यकर्ताहरूले धेरैबेर ताली बजाइरहेका थिए ।
मेनुमा केरा, लड्डु र निम्की :
यसैबीच, एमालेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको मेनुमा केरा, लड्डु निम्की र चिया रहेको थियो । कार्यकर्ता र आमनागरिकका लागि चियासहित लड्डु, नमकिन, कटलेट र केरा बोहोतामा राखेर स्वागत गरिएको थियो। विशिष्ट आगन्तुकका लागि भने छुट्टै मेनु थियो । त्यसमा स्यान्डविचसहितका परिकार थिए । पेयमा चिया र कफीको प्रबन्ध थियो ।
सहभागीहरूका लागि पार्टी कार्यालय च्यासलमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई आमन्त्रण गरेको थियो भने २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि आमन्त्रण गरिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार सधैंझैं यसपटक पनि चियापानको मेनु तयार गरिएको हो ।
यसपटक चियापानमा ११ देखि १२ हजारको बीचमा निम्तालु आएको पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले बताउनु भयो ।
प्रकाशित मिति २०८० कार्तिक १६, बिहीबार ११:५२ गते