काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्नु भएको छ । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति रविले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्तिक १६ गते स्वागत गर्नु भएको हो ।
उहाँले आफ्नो पार्टीले यसबारेमा राष्ट्रपतिलाई समेत गएर भेटेको स्मरण गर्दै आफूहरूले कैद मिनाहा विरुद्ध सडक र सदनमा पनि जोडदार माग गरेको बताउनु भयो । उहाँले सरकारले यस त्रुटिबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको प्रत्याभूति दिने काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ । सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपील पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ । महशुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ । राजीनामा धेरै परको कुराकानी भयो । राजीनामा चोक–चोकमा मागेर हिँड्ने विषय होइन । नैतिक रुपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो । यो हामीले पनि उठाउँदै आएको थियो । त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भनेपनि त्यो राजीनामा भन्दा ठूलो हुन्छ ।’ उहाँले थप भनाई राख्दै भन्नुभयो, ‘राजीनामा दिए त हुन्थ्यो नि । हामीबाट गल्ती भएको रहेछ । आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ । विधिको शासन पनि केही हो भन्ने महशुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ ।’
उहाँले संसद्को चालु अधिवेशनमा जनअपेक्षा अनुरूप संसद्ले काम गर्न नसकेको समेत उल्लेख गर्नुभयो ।
तर यस मामलामा अन्य दल भने प्रतिक्रिया विहीन भएका छन् ।
प्रकाशित मिति २०८० कार्तिक १६, बिहीबार २०:०१ गते