काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक मधेश प्रदेशमा बस्ने भएको छ । बैठक यही कार्तिक २२ र २३ गते आयोजना हुने भएता पनि स्थानको भने अझै टुंगो लाग्न सकेको छैन । रास्वपाले पहिलोपटक पटक केन्द्रीय समितिको बैठक काठमाडौं बाहिर गर्न लागेको कार्तिक १७ गते जनाएको हो ।
उक्त बैठक बारा, महोत्तरी र सिरहा जिल्लामध्ये एक जिल्लाको ग्रामीण क्षेत्रमा बैठक बस्ने सो दलका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार पार्टीका आन्तरिक गतिविधि तथा बैठकहरू केन्द्रीय राजधानी केन्द्रित हुँदै आएकाले विगतको निरन्तरता हटाउन काठमाडौं बाहिर बैठक गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘यस पटक तीन वटा बैठक बस्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको बैठक छुट्टा छुट्टै बस्ने छ र त्यसपछि दुबै बैठक संयुक्त रुपमा हुनेछ ।’
मधेश प्रदेशमा बैठक राख्नुको उद्देश्य आम नागरिकबाट पार्टीले खबरदारी पाउन पनि मधेशको गाउँ क्षेत्रमा बैठक गर्न लागिएको सहमहामन्त्री बुर्लाकोटीले उल्लेख गर्नु भयो । उहाँका अनुसार मधेशको समस्या, त्यहाँको जनजीवन बुझ्ने अवसर पनि हो । उहाँले भन्नुभयो, ‘बैठक मधेशमा बस्दा रास्वपा हाम्रो कुरा पनि बुझ्न आएको छ है भन्ने आशा त्यहाँका जनतामा हुन्छ ।’
रास्वपाले मंसिरमा महाधिवेशन गर्ने भनिए पनि उक्त मितिमा नहुने निश्चित जस्तै भएको छ । बैठकमा त्यसबारेमा पनि छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार बैठकमा पार्टीको कार्यदिशा र महाधिवेशनका विषयमा पनि छलफलका साथ निर्णय हुनेछ ।
बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजमाथि विचार विमर्श गरी अन्तिम रुप दिने भएको छ । यसअघि रास्वपाका केन्द्रीय नेता, सांसदहरू जनताको आवाज सुन्न र दस्ताबेजमा ती भावना समेट्न गाउँ पठाएको थियो । त्यस लगत्तै रास्वपाले प्रबुद्ध व्यक्तित्वसँग ‘नीति मन्थन’ समेत गरेको थियो । पार्टीको प्रथम महाधिवेशनको ‘मिति, कसरी गर्ने, त्यसको विधि प्रक्रिया के हुने भन्नेबारे छलफल हुन्छ,’ उहाँले भन्नुभयो, ‘२२ र २३ को बैठक सकिएपछि महाधिवेशनको क्यालेण्डर सार्वजनिक हुन्छ, वडा तहको अधिवेशन मंसिरबाटै थालिनेछ ।’
रास्वपाद्वारा आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुन वा वैशाखमा पहिलो महाधिवेशन गर्ने गरी बैठकले निर्णय गर्न सक्ने बुझिएको छ ।
पार्टीको संगठन विभाग प्रमुखसमेत रहनु भएका बुर्लाकोटीका अनुसार रास्वपामा वडा तहदेखि क्रमशः स्थानीय तह, संघ/प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ । करिब १ हजार वडामा संगठन विस्तार भइसकेको रास्वपाको दाबी छ । वडा र पालिका दुवैको आकार ११ सदस्यीय छ ।
उहाँले भन्नुभयो, ‘मंसिरबाट महाधिवेशनको चरणमा प्रवेश गर्छौँ । सुरुमा हाम्रो वडा अधिवेशन हुन्छ । त्यसपछि पालिका अधिवेशन हुन्छ ।’ उहाँका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ । पालिकाभित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । यसरी ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने भएका छन् ।
७ सय ५३ पालिकामध्ये करिब २ सय ९० पालिकामा समिति बनाइएको बुर्लाकोटीको दावी छ । जसमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्षसहित सदस्य रहने व्यवस्था छ । पार्टी सदस्यहरूको भेलाबाट वडा र पालिका कमिटी गठन गर्ने गरिएको हो ।
यस प्रकार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधि छानिने छन् । पार्टीको प्रवास संगठनहरूबाट पनि प्रतिनिधि चयन हुने कार्यक्रम छ ।
रास्वपाद्वारा मुलुकका ७७ मध्ये ७५ जिल्लामा जिल्ला समिति बएको बताएको छ । डोल्पा र रुकुम पश्चिम दुई जिल्लामा जिल्ला संयोजक र सहसंयोजक समेत तोक्न बाँकी रहेको छ ।
प्रकाशित मिति २०८० कार्तिक १७, शुक्रबार १६:३० गते