जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प : उपमेयर सहित ६३ जनाको निधन

जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प : उपमेयर सहित ६३ जनाको निधन

एजेन्सी

@antaranganews

२०८० कार्तिक १८ गते शनिवार ०६:४०

जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित कुल ६३ जनाको निधन भएको छ । यो विवरण विहान ५ बजेसम्मको हो । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा सिंहको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिनु भएको हो ।

काठमाडौंदेखि छिमेकी भारतको दिल्लीसम्म धक्का ।

पोखरा– पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गए राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले कार्तिक १८ गते जनाएको हो ।
भूकम्पको धक्का संघीय राजधानी काठमाडौंमा पनि महसुस भएको थियो । त्यस्तै, भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा समेत यसको धक्का महसुस गराएको उल्लेख गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले बताउनु भयो । उहाँका अनुसार गए राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको हो ।
भूकम्पका कारण जाजरकोटको खलंगा, सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन् ।
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहसहित कुल ६३ जनाको मृत्यु :
यसैबीच, जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित कुल ६३ जनाको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिनु भएको हो । उहाँले भन्नुभयो, ‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो ।’
सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित हुनु भएको थियो ।
जाजरकोटमा ३६ र रुकुममा २७ जनाको निधन :
भूकम्पका कारण जाजरकोटमा ३६ र रुकुममा २७ जनाको निधन भएको छ । जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो ।
रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ । रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको र वडा नम्बर १ र २ मा पनि हताहतीको खबर आएको छ ।’
रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ । त्यस्तै, वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ ।
अस्पतालमा घाइतेहरूको चाप छ । थप विवरण आउन बाँकी नै छ ।

प्रकाशित मिति २०८० कार्तिक १८, शनिबार ०६:४० गते
हजुरको प्रतिक्रिया