लमजुङ– नेपाली काँग्रेस लमजुङको केन्द्रीय प्रतिनिधि(महासमिति सदस्य) चयन कार्यमा सर्वसम्मतिका नाउँमा भद्रगोल गरिएको जानकारीमा आएको छ । खुल्लातर्फ उम्मेदवारी दिएकाहरूलाई आरक्षित कोटामा र यसअघि निर्विरोध चयन भइसहेकालाई बाइपास गर्ने कार्य गरिएको कार्तिक १८ गते खुलासा भएको हो ।
हिजो १७ गते सर्वसम्मत रुपमा प्रतिनिधि चयनको घोषणा गरिएको भनिएको थियो । ती नाममा खुलातर्फ पुरुषमा रामबहादुर गुरुङ, चन्द्रबहादुर कुँवर, कृष्णप्रसाद कोइराला, तुलसीनारायण श्रेष्ठ, भेषबहादुर पौडेल चयन हुनु भएको छ भने खुल्ला महिलातर्फबाट छुपिमाया गुरुङ र विष्णुमाया धिताल चयन हुनुभएको बताइएको छ ।
त्यस्तै, खसआर्यतर्फ पुरुषमा डिकेन्द्रराज कँडेल हुनुहुन्छ भने दलित कोटामा प्रदेश सांसद टीका बस्याल चयन हुनुभएको छ । यसैगरी, जनजातितर्फ खुशीमाया गुरुङ र ललित गुरुङ चयन हुनु भएको बताइएको छ ।
तर उम्मेदवारी दिदा डिकेन्द्र कँडेलले खुलातर्फ नाम दर्ता गराउनु भएको थियो । त्यस्तै, खुशीमाया गुरुङले पनि महिलाको खुलातर्फ आफ्नो उम्मेदवारी दिनुभएको थियो । यसअघि जनजातितर्फ राधा श्रेष्ठ(सुन्दरबजार) निर्विरोध भइसक्नु भएको समाचार आएको थियो । त्यस्तै, गोविन्द धिताल र ज्ञानु शाहको उम्मेदवारीको पनि अर्थ नदेखिएको बताइएको छ ।
काँग्रेसको जिल्ला समितिको सो निर्णयप्रति भित्रभित्रै असन्तुष्टि बढेको र केहीले उजुरी दिने समेत तयारी गरेको बुझिन आएको छ ।
प्रकाशित मिति २०८० कार्तिक १८, शनिबार ०९:२७ गते