पोखरा– कला साहित्य संस्कृतिका शिखर पुरुष चेतन कार्कीको पोखरामा स्मरण गरिएको छ ।
हिमाली साँस्कृतिक परिवारले पोखराको आयोजनामा स्व. कार्कीको ८६ औं जन्म जयन्ती कार्यक्रम नेपाल ऋषि डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा कार्तिक २२ गते मनाइएको हो ।
आयोजक संस्थाका प्रमुख संरक्षक साहित्य कला एवम् चलचित्रकर्मी चेतन कार्कीको जन्म जयन्तीमा ‘चेतन कार्की स्मृति सन्ध्या २०८०’ कार्यक्रमका साथ स्व. कार्कीको व्यक्तित्व एवम् कीर्तित्वको स्मरण गरिएको हो ।
कार्यक्रममा जगमान गुरुङले कार्कीले स्थानीय कलाकारलाई राष्ट्रिय व्यक्तित्व बनाउनका लागि भूमिका खेलेको स्मरण गर्नु भयो । उहाँले चेतनले जागिरे जीवन र त्यसपछि पनि साहित्य, कला, संस्कृतिको उत्थानमा आफ्नो जीवनको समर्पण गरेको उल्लेख गर्नु भयो । स्व. कार्की बहुआयामिक व्यक्तित्वका धनी, स्वाभिमानी, राष्ट्रियताका पक्षधर अतुलनीय व्यक्तित्व भएको हुँदा उहाँको बाटोमा हामी हिड्न सक्नु पर्छ भन्नु भयो ।
यसैगरी, कार्यक्रमका प्रमुख वक्ता ‘चेतन कार्की प्रतिष्ठान’का महासचिव साहित्यकार मुरारि सिग्देलले चेतन कार्कीसित बिताएका तीन दशकको बसीबियाँलो सम्झदै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उहाँले पछिल्ला २७ वर्ष उहाँको सामिप्यमा बिताउन पाएको र आफू अघोषित रुपमा स्वकीय सचिव जस्तै थिएँ, पुल्चोकमा २०५० सालमा स्टेशनरी पसल सञ्चालन गरेँ, २०५२ सालदेखि उहाँसँग निरन्तर सम्पर्कमा रहेँ । उहाँले साँझ विहानको २÷२ घण्टाको समय आफ्नो पसलमा आएर बिताउने गर्नु हुन्थ्यो र धेरैको सम्पर्क व्यक्ति हुने अवसर पनि स्व. कार्कीबाट आफूलाई मिलेको उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रममा नृत्य, गीतसहित विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । सोही कार्यक्रममा चेतन कार्कीको शब्दको गीत ‘कान्छी हे कान्छी’, ‘माया प्रीतिको चोखो कथा’समेत प्रस्तुत गरिएको थियो ।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले अध्यक्षता गर्नु भएको थियो भने ‘मलाई रमाइलो मेरै पाखा पखेरो’ स्वागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायिका बाबा राणाले चेतन कार्कीसँग बिताएका स्मृतिसहित गीत प्रस्तुत गर्नु भयो । यस्तै अर्का वक्ता आनन्द राज मुल्मीले– चेतन कार्कीले पोखरामा दिएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रममा चेतन कार्की पुत्रद्वय पारश कार्की, पंकज कार्की र हिमाली सांस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनसहित संस्थाका मानार्थ सदस्य टीकाबहादुर कार्की, सामाजिक व्यक्तित्व जेपी क्रस, ठाडभोका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, बुद्धिप्रसाद गुरुङ, संस्थाका सल्लाहकार क्षेत्र गुरुङ, संचारकर्मी दीपेन्द्र श्रेष्ठ, गीतकार दुर्गा शाह बाबा, साहित्यकार असफल गौतम, रमा परासर सूदलगायतको बाक्लो सहभागिता थियो ।
आयोजक संस्थाका उपाध्यक्ष श्रीजंग गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० कार्तिक २३, बिहीबार ०६:४९ गते