काठमाडौं – भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्प क्षेत्रका पीडितका लागि १० लाख रूपैयाँ राशि सहयोग प्रदान गरेको छ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा. बालमानसिंह कार्कीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपैयाँ राशिको चेक कार्तिक २१ गते हस्तान्तरण गर्नुभएको हो ।
स्थापनाकालदेखि निरन्तर एक दशकसम्म भूपाल प्रज्ञापरिषद्ले पाँच लाख रूपैयाँ राशिको सार्कस्तरीय भूपालप्रज्ञा पुरस्कार लगायत साहित्य, कला, धर्मसंस्कृति, समाजसेवा, शिक्षा, खेलकुद आदि क्षेत्रमा वर्षेनी एक दर्जन पुरस्कार समर्पण गर्दै आएको भूपाल प्रज्ञापरिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार जनरल भूपालमानसिंह कार्कीबाट २०५२ सालमा एक करोड रुपैयाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को स्थापना भएको थियो ।
श्रीमती महतारालाई ‘नइ कपिल विद्यापदक’
यसैबीच, नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा श्रीमती सविता महतारालाई तीस हजार रुपैयाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार श्रीमती महताराले सूर्योदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी हुम्ला जिल्लाबाट बाह्र कक्षामा छात्रातर्फ सबैभन्दा धेरै नम्बर २.९५ जीपीए ल्याउन सफल हुनु भएको प्रकाशनका समेत सदस्यसचिव रहनु भएका नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार छात्राहरूलाई मात्र प्रदान गरिने नइ विद्यापदक अरू दुर्गम जिल्लामा पनि विस्तार गर्दै लाने नइ प्रकाशनले लक्ष्य राखेको छ ।
उहाँले भन्नुभयो, ‘नइ कपिल विद्यापदक’ डा. कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।’
यो पुरस्कार पहिलो पटक वितरण गरिन लागेको हो ।
प्रकाशित मिति २०८० कार्तिक २३, बिहीबार १६:५४ गते