काठमाडौं– राष्ट्रिय सभा चुनाव सरगर्मी सुरु भएको छ । आउँदो फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुने हुँदा सो रिक्त पदका लागि एक महिना अगावै चुनाव गराउने निर्वाचन आयोगको तयारी छ ।
निर्वाचन आयोगले आगामी माघ १०, ११ वा १२ गते निर्वाचन गर्न सरकारलाई परामर्श दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भयो । सरकारले त्यसबारेमा निर्णय गर्न बाँकी नै छ ।
निर्वाचन आयोगसँग सरकारको राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने समय सीमाका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताउनु भयो । उहाँका अनुसार पदावधि सकिनुभन्दा एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । उहाँले भन्नुभयो, ‘कानुनको सोमी भावना अनुसार आयोगसँग एक चरणमा छलफल भएको छ ।’
यसपटक को– को हुन्छन् विदाई ?
संविधान अनुसार राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । राष्ट्रिय सभालाई स्थायी सदनको रुपमा लिइने भएकाले दुई÷दुई वर्षमा चुनाव गरेर नयाँ सदस्य निर्वाचित भइरहने व्यवस्था छ । सात वटा प्रदेशबाट प्रत्येक प्रदेशबाट ८÷८ जनाका दरले निर्वाचित हुने र तीन जना राष्ट्रपतिबाट निर्वाचित हुन्छन् ।
नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि राष्ट्रिय सभाको चुनाव पहिलो पटक २०७४ सालमा भएको थियो । पहिलो पटक निर्वाचित भएकाहरूलाई गोलाप्रथाद्वारा दुई वर्ष, चार वर्ष र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यस अनुसार दुई र चार वर्षे कार्यकाल पाएकाहरू विदा भइसके । तिनको स्थान निर्वाचनबाट पूर्ति पनि भइसकेको छ । अब अन्तिम अर्थात ६ वर्षे कार्यकाल प्राप्त गरेकाहरू फागुन २० गतेबाट बिदा हुनेछन् । उनीहरूमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र स्वतन्त्र दुई जना रहेछन् ।
फागुन २० गतेदेखि पदावधि सकिनेहरूमा एमालेबाट निर्वाचित हुनु भएका राष्ट्रियसभा अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिने भएको हो ।
त्यस्तै, कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव हुनुहुन्छ ।
माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादवको पनि कार्यकाल पुरा हुनेछ । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि कार्यकाल पनि फागुन २० गते सकिने भएको हो ।
सत्ता गठबन्धन कायम रहे एमालेलाई धक्का लाग्ने ः
निर्वाचन आयोगले दिएको जानकारी अनुसार बागमती प्रदेशमा ४, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ३÷३ तथा कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा २÷२ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचनको तयारी हुँदैछ ।
हाल सत्ता गठबन्धनमा कांग्रेस–माओवादीको सरकार छ । केन्द्रमा मात्र नभई सातवटै प्रदेशमा तथा स्थानीय तहमा समेत सत्ता गठबन्धनकै दलहरू हाबी देखिन्छन् । ती दल मिलेर राष्ट्रियसभा निर्वाचन लडेको खण्डमा एमालेका लागि अनुत्पादक हुने प्रष्ट संकेत देखिएको छ ।
प्रकाशित मिति २०८० कार्तिक २४, शुक्रबार ११:४५ गते