सुन्दरबजार(लमजुङ)– राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङद्वारा सुन्दरबजार नगरपालिकाका २४ जना भूमिहीनलाई जग्गा धनी दर्ता(लाल) पुर्जा बितरण गरिएको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम कार्तिक २४ गते गरिएको हो ।
आयोगका केन्द्रीय अध्यक्ष निरौला तथा मञ्चासिन अतिथिहरूले पालो पालो भूमिहीनहरूलाई टीका, माला पहिराई लालपूर्जा वितरणको कार्य गरेका थिए । सुन्दरबजार नगरपालिका– ६ बस्ने २ जना, वडानं ७ बस्ने १० जना र वडा नं ९ बस्ने ११ जना गरी २३ जना भुमिहिनहरूलाई सुन्दरबजार नगरपालिकाको सभाहलमा १ कार्यक्रमका बिच पूर्जा वितण गरिएको हो ।
पूर्जा वितरण पछि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले लमजुङले देशभरमै सुन्दरबजार नगरपालिकामा उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले यसप्रकार आफ्नै पालिकाका बासिन्दालाई बसिरहेको स्थानमा जग्गा नभएको अवस्थामा अन्य वडामा जग्गाको व्यवस्थापन गरी लालपूर्जा वितरण गर्ने कार्यमा अयोगको जिल्ला समिति र सुन्दरबजार नगरपालिका पहिलो हो भन्नुभयो । उहाँले लालपूर्जा पाएका भूमिहीनलाई संकेत गर्दै भन्नुभयो, यो तपाईहरूका लागि खुट्टा टेक्ने ठाउँ हो । जिविको पार्जनका लागि भने अन्य पेशा व्यवसाय गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले यहाँको आयोगको जिल्ला समितिले भोगेको जस्ता समस्या धेरै जिल्ला समितिमा छन् । त्यसको समाधानका लागि सरकारसँग कुरा भइरहेको छ र यहाँबाट फर्केपछि त्यस विषयमा थप पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य उर्मिला माझी पौडेल विशिष्ट अतिथि हुनुहुन्थ्यो । उहाँले आयोगको जिल्ला समिति प्रदेशमा अग्रणी रुपमा उदाहरणीय काम गर्नमा सक्रिय रहेको उल्लेख गर्नु भयो । उहाँले कुनै समस्या भएमा त्यसको समाधानका लागि आफूले पनि पहल गर्ने जानकारी दिनु भएको थियो ।
उक्त अवसरमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, राइनास नगरपालिकाका मेयर खड्कबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरू नेपाली काँग्रेसका सोही नगरका समापति प्रकाश सेढाईँ, एमालेका नगर अध्यक्ष भीमबहादुर गुरुङ, नेकपा माओवादीका जिल्ला सचिव अनिल अटल, राप्रपाका जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
जिल्ला अध्यक्ष दामोदर अधिकारीको अध्यक्षता भएको कार्यक्रममा समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरुङ, सुन्दरबजार उपमेयर भवानी के.सी., प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, आयोग जिल्ला समिति सदस्यहरू, सुन्दरबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, जिल्ला स्थित कार्यलयका प्रमुखहरू, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर तथा वडा सहजिकरण समितिका सदस्यहरू, नगरपालिका तथा आयेगका कर्मचारीहरूको कार्यक्रममा सहभागिता थियो ।
आयोगका सदस्य रविन्द्र अधिकारी व्यवस्थापन कार्यमा, नापी कार्यालयका सर्भेक्षक तथा नापी टोली नं १ टोली प्रमुख पुरुषोत्तम देवकोटा, सुन्दरबजार नगरपालिका अमिन तथा नापी टोली सदस्य सुसन न्यौपानेले भर्पाई लगायतका कार्यमा सहजिकरण गर्नुभएको थियो ।
आयोगका विज्ञ सदस्य ऋषिकेश घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा आयोगका सदस्य शोभा थापाले स्वागत गर्नुभएको थियो भने आयोगका सदस्य सचिव एवम् नापी कार्यालय प्रमुख ई. विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त अवसरमा छ जना दलित भूमिहीन र १७ जना अत्यलाई लालपूर्जा वितरण कार्य गरिएको आयोगका कम्प्युटर अपरेटर बिराट न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८० कार्तिक २४, शुक्रबार २०:२८ गते