पोखरा – ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङ को द्यौसी भैलो कार्यक्रम सुरु भएको छ । प्रतिष्ठानको पूर्व घोषित कार्यक्रम अनुसार यहाँ कार्तिक २६ गते सो कार्य थालिएको हो । लक्ष्मी पुजाको अवसर परेर कार्तिक २६ गते पहिलो दिन पोखरा महानगर १५ को लक्ष्मी टोल स्थित लमजुङ समाजको सभाहलमा भएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षता तथा समाजका अध्यक्ष देवबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियोे ।
प्रतिष्ठान द्वारा प्रमुख अतिथि गुरुङले नेपाली संस्कृतिमा विकृति बढीरहेको बेलामा लोकसंस्कृतिका क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले लोकसंस्कृतिको संरक्षणमा प्रतिष्ठानको योगदान अतुलनीय रहेको छ, यो अभियानले झनै उचाई पाउन सकोस् भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष पहाडीले प्रतिष्ठानको स्थापनाकालीन इतिहासदेखि वर्तमानसम्मका गतिविधिको संक्षिप्त रुपमा प्रकाश पार्नु भएको थियो । उहाँले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै विदेशीको नक्कल गरेपछि ठूलो होइन्छ भन्ने गलत सोच र भ्रमपूर्ण व्यवहारका कारण लोकसंस्कृति संकटमा परेको छ, विदेशी संस्कृति सिक्नै नहुने होइन तर त्यो सिक्दा आफ्नो संस्कृति भुल्नु हुदैन भन्नु भयो । तिहारकै कुरा गर्दा द्यौसी भैलो खेल्दा ड्रमसेट तथा गितार बजाएर विदेशी गीतमा झुमेर लोकसंस्कृति बचाउन सकिदैन यसतर्फ नयाँ पिढीले सोच्न र व्यवहारमा ढिला हुन लागि सकेको छ पहाडीले जोड दिदै भन्नुभयो । आफ्नो गाउँ थातथलो छाडेर पोखरामा विभिन्न पेशाव्यवसाय वा अन्य कारणले बसेर पनि आफ्नो लोकसंस्कृति, भाषा तथा भेषभुषाको संरक्षणमा जुट्नु भएको प्रति प्रतिष्ठान जानकार छ र गर्वको अनुभव भएको छ भन्नुभयो । आज यो अवसर पाएकामा थप खुशी र उर्जा प्राप्त भएको छ । त्यसको लागि प्रतिष्ठान र व्यक्तिगत रुपमा समाजका अध्यक्ष, सहल्लाकार सहित पदाधिकारी तथा सदस्यहरू प्रति कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो ।
सोही महानगरपालिका– १०को कालिका मन्दिर ढासा टोल निवासी ९१ बर्ष्ीय वरिष्ठ समाज सेवी मनवीर गुरुङका साथै पोखरा १० को नागिनी टोलमा सामुहिक रुपमा द्यौसी भैलो खेल्ने कामगरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भएको छ । सो टिमको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी तथा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले संयुक्त रुपमा नेतृत्व गरिरहनु भएको छ ।
भैलो कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, उपाध्यक्ष सीता दुरा, महासचिव अकल विरही गुरुङ, कोषाध्यक्ष सीता गुरुङ, कार्यकारी सदस्य एवम् ठाडोभाकाका वरिष्ठ गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य त्रय अनिता गुरुङ, राधा भण्डारी, देउकुमारी गुरुङ, ठाडोभाकाका वरिष्ठ गायिकाहरु काशीमाया तामाङ , बुद्धिमाया गुरुङ, जालुमाया गुरुङ, गायिका रमाना भण्डारी, तुलसीमाया ठकुरी, प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य मीनबहादुर तामाङ(लामा) आदिको सहभागिता रहेको प्रतिष्ठानका महासचिव अकल बिरही गुरुङले बताउनु भएको छ ।
उहाँका अनुसार प्रतिष्ठानको भैलो कार्यक्रम भोली र पर्सी पनि सञ्चालन हुने छ ।
प्रकाशित मिति २०८० कार्तिक २६, आईतवार २२:३४ गते