पोखरा– दुरा सेवा समाज कास्कीले ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङलाई ६० हजार रुपैयाँ बढीको भैलो रकम प्रदान गरेको छ । प्रतिष्ठानले लेकसंस्कृतिको प्रवर्द्धन तथा अशक्षयकोष वृद्धि गर्ने उद्देश्यले आयोजित द्यौसी भैलो कार्यक्रम यो वर्ष यहाँ आयोजना गरेकोे हो । सो अवसरमा दुरा सेवा समाजले प्रतिष्ठानलाई सो रकम सहयोग गरेको हो । सोही समाजका अध्यक्ष गोबिन्द दुराको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो ।
पोखरा महानगरपालिका– १५ को गरिमा टोलस्थित समाजको सभाहलमा आयोजित सो भैलो कार्यक्रममा प्रमुख अतिथि दुराले ठाडोभाकाको संरक्षणका लागि प्रतिष्ठानले गरेका कार्यको सराहना गर्नु भयो । उहाँले ठाडोभाकाका सर्जक देउबहादुर दुराको स्मृतिमा पनि शालिक निर्माण सहित केही गरे राम्रो हुने सुझाव दिनु भयो । उहाँले ठाडोभाका प्रतिष्ठानका कार्यक्रमदेखि आफू र आफ्नो संस्था हर्षित छ यसरी नै प्रगति भइरहा्ेस भन्ने कामना गर्नु भयो ।
सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै प्रतिष्ठानका अध्यक्ष पहाडीले लमजुङमा रहेको आफ्नो थातथलो छाडेर पोखरामा बस्दा पनि समाज बनाएर आफ्नो लोकसंस्कृति बचाउन लमजुङको ऐतिहासिक थलो दुराडाँडा र आसपासका दुराबन्धुहरुको गतिविधि उहाँहरुले खेल्नु भएको भूमिका प्रति आफू जानकार रहेको उल्लेख गर्दै त्यो स्तुति योग्य कार्यको जत्तिकै प्रशंसा गरे पनि थोरै हुन्छ भन्नु भयो । उहाँले देउबहादुर दुराको संझनामा अक्षयकोष सहितको पुरस्कार स्थपनाका लागि प्रतिष्ठानकोे गत बर्षको स्थापना दिवसमा देउबहादुर दुराको नातिनी गौमाया गुरुङ दम्पतीलाई साक्षी राखेर उहाँको परिवारबाट जत्ति रकम प्राप्त हुन्छ त्यो बराबरको रकम प्रतिष्ठानले थप गरी अक्षयकोष बनाउने र त्यसको व्याजबाट प्राप्त रकमको पुरस्कार ४० बर्ष माथिका ठाडोभाकाका सर्जक तथा अभियन्ताहरुलाई प्रदान गर्ने घोषणा भइसकेको जानकारी दिनु भयो । प्रतिष्ठानको स्थायित्वका साथै अन्य गतिविधि अघि बढाउनका लागि अक्षयकोषको आवश्यकता महसुस गरी आजीवन र वरिष्ठ आजीवन लगायतका शुल्क अनिवार्य अक्षयकोषमा राख्ने विधानमै किटान गरिएको र यस्ता कार्यक्रमबाट प्राप्त रकम पनि त्यो कोषमा राखिएको छ । त्यसरी संकलित रकम गत आर्थिक बर्षको अन्त्य अर्थात गत असार मसान्तसम्म १३ लाख ५८ हजार पुगेको अध्यक्ष पहाडीले जानकारी दिनु भयो ।
उहाँले प्रतिष्ठानका गनिविधिमा प्रकाश पार्ने क्रममा हरेक वर्ष प्रतिष्ठानको स्थापना दिवस(माघ महिनाको अनिन्तम साता)मा ठाडोभाकाको खुला प्रतियोगिता, साथमा बाधचाल, त्यसको उदघाटनका अवसरमा यही महिनाामा स्वर्गे हुुनुभएका सल्लाहकार नरेन्द्र्रराज ढुंगानाले स्थापना गरिदिनु भएको ठाडोभाका– टीकाकुमारी डुंथाना स्मृति रागिट्रय सम्मान पुरस्कार विगत चारवर्षदेखि वितरण गर्दै आएको र यो वर्षबाट थप ठाडोभाका– सुवे. स्व. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार ४० वर्षभन्दा कम उमेरका ठाडोभाकाका र सर्जन तथा अभियन्ताहरु जो कम्तिमा पाँच वर्ष ठाडोभाकाको अभियानमा जोडिनु भएको छ– लाई वितरण गर्ने कार्यक्रम रहेको, भोलिका दिनमा गायक बन्छु भन्ने अठोट गरेको दुई जना भाइबहिनीलाई छात्रवृत्ती प्रदान गरेको, आउँदो मंसिरबाट प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले स्थापना गर्नु भएको असल आमाबाबु सम्मान वितरणको तयारी रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, अध्यक्ष पहाडीले प्रशिक्षणको महत्त्वमा प्रकाश पार्दै प्रतिष्ठानले यो बर्षलाई प्रशिक्षण बर्ष घोषणा गरेको र पोखरामा पनि यौटा प्रशिक्षण संचालनको तय भएको छ, रोधिं टेलिभिजनको सन्चालिका बालकाशी गुरुङ प्रतिष्ठानको वरिष्ठ आजीवन सदस्य हुनु हुन्छ, उहाँले तालिमको संयोजन गर्ने वचन समेत दिनु भएको छ त्यसैले सके दुईवटा नभए पनि र्याैटा प्रतिक्षण हुनेछ त्यसमा यहाँहरुको सक्रिय सहभागिता र सहयोगका लागि निवेदन गर्दछु भन्ने जानकारी दिनुभयो । उहाँले यो दुरा सेवा समाजसँग हिजोका दिनमा अघोषित कार्यगत एकता थियो, अब घोषित रुपमै कार्यगत एकताका साथ अघि बढौं र लोकसंस्कृतिमा देखापरेका चुनौतिलाई अवसरमा बदलौं भन्ने आह्वान गर्नु भयो ।
उक्त अवसरमा दुरा सेवा समाजले ६० हजार एक सय दान र ठाडोभाका प्रस्तुतिका क्रममा फूल लगाएको (शिरफूल) रकम तीन हजार सात सय नगद प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनु भयो ।
सो अवसरमा दुरा सेवा समाजका उपाध्यक्ष सुवे. दिनेशबहादुर दुरा, सचिव नवराज दुरा, कोषाध्यक्ष करण दुरा, सल्लाहकारहरू कृष्णबहादुर दुरा, चित्रबहादुर दुरा, सहसचिव भिमलाल दुरा लगायतका सदस्यहरूका साथ आमा समूहका अध्यक्ष देवीमाया दुरा, उपाध्यक्ष फूलमाया दुरा, कोषाध्यक्ष कमला दुरा सहित पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।
प्रकाशित मिति २०८० कार्तिक २९, बुधबार ०९:५२ गते