काठमाडौं– दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको भाइटीकाका दिन सामूहिक टीका लगाउने अञ्जली दिदी (मास्के)को अभियानले यो वर्ष अढाई दशक पुगेको छ । यहाँ स्थित वसन्तपुरस्थित काष्ठमण्डपमा उहाँले विगत बर्षझैं यो वर्ष पनि कार्तिक २९ गते मनाउनु भएको भाइटीका अभियानको यो वर्ष अढाई दशक पुगेको हो।
उहाँले यो अभियान विसं २०५५ सालमा सुरु गर्नु भएको हो । उहाँले त्यसै वर्षदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनु भएको छ । यो वर्ष करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएर विगत वर्षझैं भाइटीका मनाएको जानकारी अञ्जली दिदीले दिनु भएको छ । उहाँका अनुसार काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको थियो । उहाँले भन्नुभयो, ‘दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नरहोस् भनेर आफूले तिहारको टीका लगाउने गरेको हुँ ।’
यो वर्ष अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारका टीका लगाउने दाजुभाइलाई विशेष उपहारको समेत प्रवन्ध गर्नु भएको रहेछ ।
दिदीसँग टीका लगाउनका लागि दिदीबहिनी नभएका वा दिदीबहिनी टाढा रहेका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला भएका थिए ।
यही ठाउँमा पछिल्लो २५ वर्षदेखि निरन्तर रुपमा आफूले सामूहिक भाइटीका लगाइदिँदै आएको अञ्जली दिदीले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी लागको छ ।
अञ्जली दिदीले दक्षिणा रहित रुपमा मण्डपमा टीका लगाउन आएका दाजुभाइलाई सप्तरङ्गी टीका, माला र सगुन प्रदान गर्ने कार्यलाई यसवर्ष पनि निरन्तरता दिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८० मंसिर ३, आईतवार ०६:३३ गते