खुदीमा तीन दिवसीय एकादशी मेलाको तायरी जारी

खुदीमा तीन दिवसीय एकादशी मेलाको तायरी जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ३० गते बिहिबार ०८:३५

भलिबल, छेलो प्रतियोगिता समेत हुने मेलाको मुख्य उद्देश्य होमस्टोको प्रचारप्रसार, कृषि उपजको बजारीकरण र प्रचारप्रसार रहेको आयोजकको भनाइ छ ।

द्यौसी– भैलोबाट ७० हजार संकलन

खुदी(लमजुङ)– लमजुङको यहाँ हरिबोधिनी एकादशीका अवसरमा परम्परागत रुपमा यहाँ लाग्ने मेला यो वर्ष तीन दिवसीय रुपमा मनाउने तयारी जारी रहेको छ । साँस्कृतिक र धार्मिक रूपले महत्वपूर्ण हरिबोधिनी एकादशीमा मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारमा भव्य मेला लाग्ने भएको हो ।
मंसिर ७ गते देखि ९ गतेसम्म सो मेला सञ्चालन हुने सो मेला लगाउने बारेमा कार्तिक १६ गते निर्णय गरिएको थियो । सो अवसरमा भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता आयोजना हुने भएको छ । मेलालाई आर्थिक स्रोत जुटाउनका लागि तिहारको अवसरमा खेलिएको भैलोबाट ७० हजार रुपैयाँ संकलन भएको आयोजक समितिका सचिव एवम् प्रचार प्रसार समितिमा संयोजक अविनास भण्डारीले बताउनु भयो । उहाँका अनुसार मेलालाई व्यवस्थित बनाउने तयारी जारी छ । यतिबेला खासमा बजारको सरसफाई, फूल तार्नका लागि नदी किनारमा जाने बाटोको मर्मत, नुहाउनका लागि समेसम्म गोप्य स्थानको प्रवन्ध गर्ने कार्यमा समिति जुटेको छ । अब भोलिदेखि स्टल निर्माणको काम थालिने छ उहाँले भन्नुभयो ।
स्टलका लागि होमस्टेहरू, गाउँपालिकाको कृषि शाखा, सहकारीहरू मिलेर गरेका छौं २५– ३० सम्म स्टल रहन सक्ने अनुमान छ सचिव भण्डारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार मेलाको उदघाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा हुनेछ । मेलाको तयारीका लागि विभिन्न समिति र सल्लाहकार समिति गठन गरेको छ ।
मर्स्याङ्दी गाउँपालिका– ३ खुदीस्थित अमर माध्यमिक विद्यालयको खेल मैदानमा ३ दिनसम्म सञ्चालन हुने आयोजक समितिका सचिव अविनास भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवसरमा विभिन्न कलाकारहरूको समेत प्रस्तुति रहने भएको छ ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हरिबोधनी एकादशीको सो मेलाका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषि लगायतका उत्पादनको बजारीकरण र प्रचारप्रसारका लागि मद्दत गर्ने भएको हुँदा यसलाई व्यवस्थित रुपमा हरेक वर्ष निरन्तरता दिएको बताउनु भयो । उहाँले परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पूजा आरधानाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, होमस्टे गाउँहरूको प्रचारप्रसारमा सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने नाराका साथ खुदी युथको आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो । सो अवसरमा खुला भलिवल प्रतियोगिता, छेलो प्रतियोगिता, फूलको डोली तार्ने, निःशुल्क आँखा शिविर, कृषि उपज प्रदर्शनी, भजनकीर्तन र होमस्टे गाउँको साँस्कृतिक प्रस्तुतिको साथ अर्गानिक खानेकुराहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।
खुला भलिबल प्रतियोगितामा पहिलो पुरस्कार १ लाख र उपविजेतालाई ६० हजार र उत्कृष्ठ खेलाडीलाई पनि पुरस्कृत गरिने छ । त्यसको टिम दर्ता शुल्क आठ हजार राखिएको छ । छेलो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार व्यवस्था गरिएको खेलकुद समितिका संयोजक रवि थापाले बताउनु भयो । उहाँका अनुसार ठेलोका लागि नाम दर्ता शुल्क २५० रुपैयाँ तोकिएको छ ।
मेला सफल पार्नका लागि गठिन उपसमितिहरूमा आर्थिक समितिको संयोजकमा बिशाल रावल, खेलकुद समितिको संयोजकमा रबि थापा, कृषि प्रदर्शनी तथा बिक्री व्यवस्थापन समितिको संयोजकमा भिष्मकान्त कुइकेल, मञ्च व्यवस्थापन समितिको संयोजकमा सोम तामाङ तथा स्वयंसेवक परिचालन समितिको संयोजक पाल्साङ लामा, प्रचार प्रसार समितिमा संयोजक अविनाश भण्डारी, फूलको डोरी तार्ने लगायतको कार्यक्रमको संयोजक बिष्णु भण्डारी रहनु भएको छ ।
सांस्कृतिक समितिको संयोजकमा रबि थापा, होमस्टे प्रचार प्रसार समितिको संयोजकमा पारकाशी गुरुङका साथै आँखा शिविर व्यवस्थापन समिति संयोजकमा अविनाश भण्डारी रहनु भएको छ ।
वडा नं. ३ का अध्यक्ष दुधमान तामाङको संयोजकत्वमा २५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यमा वडानं ९ का अध्यक्ष हरिश्चन्द्र थापा सहित सबै वडाका अध्यक्षहरू रहनु भएको जानकारीमा आएको छ ।a

प्रकाशित मिति २०८० कार्तिक ३०, बिहीबार ०८:३५ गते
हजुरको प्रतिक्रिया