काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा मंसिरको यही साता घरदैलो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गत कार्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गरेको निर्णय अनुसार रास्वपाले घरदैलो कार्यक्रमको तयारी गरेको हो ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी गराउने तथा पार्टीलाई मत दिने मतदाताहरूको सम्मानमा घरदैलो कार्यक्रम गर्न लागेको हो । रास्वपाले भोलि मंसिर २, ३ र ४ गते पहिलो चरणको अभियान थाल्ने भएको छ । त्यसको तयारी क्रममा आज सातै वटै प्रदेश समितिको बैठक बस्ने भएको छ ।
अभियानका क्रममा मुख्यतः दुई एजेण्डा रहेको रास्वपाका सह— महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार घरदैलोमा गत निर्वाचनमा विश्वास गरेर मत दिनुहुने मतदातालाई धन्यवाद दिन्छौँ । उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेलामा मतदाता सामु गरेका आफ्ना प्रतिबद्धता भुलेका छैनौँ । सोही प्रतिबद्धताअनुसार अगाडि बढिरहेका छौँ भन्ने सन्देश दिनका लागि पनि हामी घरदैलोमा जान लागेका हौँ ।’ त्यसैगरी, रास्वपाले के कस्ता काम गर्न उपयुक्त हुन्छ ? भन्ने सुझाब समेत लिने भएको छ ।
पार्टीका सांसद, केन्द्रीय सदस्य र २०७९ को निर्वाचनका उम्मेदवारहरू घरदैलो अभियान जाने भएको बुर्लाकोटीले जानकारी दिनु भएको छ ।
गत निर्वाचनमा प्रदेश तहमा भाग नलिएको रास्वपाले प्रतिनिधि सभामा मात्र प्रत्यक्षतर्फ १३१ र समानुपातिकमा १०७ जना उम्मेदवार खडा गरेको थियो । उनीहरू सबैलाई घरदैलो अभियानमा पठाउने तयारीका लागि जुम मिटिङबाट तय भएको बुर्लाकोटीले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘गत निर्वाचनमा मत माग्ने हिँडेकै शैलीमा घरदैलो कार्यक्रम हुने छ ।’ उहाँले थप भन्नुभयो, ‘निर्वाचनमा मत माग्न गए जस्तै घर–घर टोल–टोलमा गएर उहाँहरूलाई धन्यवाद दिने र आफ्ना प्रतिबद्धतामा अडिक छौँ भन्ने सन्देश दिने हो ।’
बुर्लाकोटीका अनुसार घरदैलो अभियानले आम नागरिकमा आशा जगाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले व्यवस्थामाथि नै धावा बोल्न थालियो भन्ने छ । नागरिकहरूमा सिर्जित असन्तुष्टी र अन्योल देखिन्छ, त्यो चिर्न यो अभियान कोशेढुंगा हुनेछ । मुलुकको आर्थिक स्थितिमा सिर्जित सिथिलताले मान्छेमा निराशा व्याप्त छ ।’ सो अवसरमा गुनासो समेत संकलन गरिने छ । त्यसका लागि केन्द्रीय समिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका कमिटीहरू परिचालन गरिने उहाँको भनाई छ । उहाँले भन्नुभयाो, ‘‘निर्वाचन क्षेत्रको उम्मेदवारसहित ६ वटै तहको कमिटी परिचालित गर्ने तयारी छ ।’
अभियानको उपलब्धीबारेमा प्रकाश पार्दै उहँले भन्नुभयो, ‘आम नागरिकमा एउटा आशा जगाउने काम पनि गर्छौँ ।’ उहाँका अनुसार हाम्रो घर दैलो अभियानले आम मान्छेमा राम्रो काम पनि भइरहेको छ भन्ने सन्देश दिनु हो र दिन्छौँ पनि ।
स्मरणीय छ, २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो । रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् ।
प्रकाशित मिति २०८० मंसिर १, शुक्रबार ०७:२९ गते