छठ पर्व : भारतबाट जनकपुरमा मात्रै ४ करोडको केरा ल्याइयो

छठ पर्व : भारतबाट जनकपुरमा मात्रै ४ करोडको केरा ल्याइयो

रासस/अन्तरङ्ग

@antaranganews

२०८० मङ्सिर १ गते शुक्रबार ०३:०६

१० चक्के ट्रकमा एक हजार दुई सय घरी आउने गरेको छ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्छ । यो स्थितिले यो देशको कृषि मन्त्रालय, विभाग तथा जिल्ला जिल्लामा कृषि ज्ञान केन्द्रहरूका गतिविधिलाई कुरीकुरी गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केरा महँगो भएको छ ।

जनकपुर– छठ पर्वमा वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । त्यसका लागि मधेस प्रदेशको राजधानी जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात गरिएको मंसिर १ गते खुलासा भएको छ ।
यो स्थितिले नेपाल कृषि प्रधान देश भन्ने भनाईको उपहास भएको छ । छठ पर्वमा केराको सिङ्गै घरी भगवान्लाई अर्घका रुपमा चढाउने परम्परा छ । छठ पर्वमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनु हुन्छ । उहाँका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि थेग्न सकेको छैन ।
स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘गत वर्ष पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो, यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।’
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको यादवले जानकारी दिनुभयो । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले बताउनुभयो । उहाँका अनुसार छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केरा महँगो भएको छ । उहाँले भन्नुभयो, ‘छठ मनाउने संख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्षको तुलनामा १५÷२० ट्रक बढी केरा मगाइएको हो ।’
१० चक्के ट्रकमा एक हजार दुई सय घरी आउने गरेको समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्छ । उहाँले भन्नुभयो, ‘बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।’
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।
यो स्थितिले यो देशको कृषि मन्त्रालय, विभाग तथा जिल्ला जिल्लामा कृषि ज्ञान केन्द्रहरूका गतिविधिलाई कुरीकुरी गरेको छ ।

प्रकाशित मिति २०८० मंसिर १, शुक्रबार १५:०६ गते
हजुरको प्रतिक्रिया