लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा मंसिरको पहिलो साता भित्रै घरदैलो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गत कार्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गरेको निर्णय र निर्देशन अनुसार रास्वपाले घरदैलो कार्यक्रमको तयारी गरेको हो । त्यसका लागि मंसिर १ गते साँझ पाँच बजे जुम बैठक बस्ने भएको छ ।
गत वर्षको मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी गराउने तथा पार्टीलाई मत दिने मतदाताहरूको सम्मानमा रास्वपाले घरदैलो कार्यक्रम गर्न लागेको हो । रास्वपाले भोलि मंसिर २, ३ र ४ गते पहिलो चरणको अभियान थाल्ने भएको जनाएको छ । त्यसको तयारी क्रममा अहिले पाँच बजे जिल्ला समिति र पालिका समितिको संयुक्त रुपमा जुम बैठक बस्ने तयारी रहेको सो दलका जिल्ला सहसंयोजक अशोक सापकोटाले बताउनुभएको छ ।
अभियानका क्रममा मुख्यतः दुई एजेण्डा रहेको रास्वपाका जिल्ला संयोजक एवम् गत आम निर्वाचनमा सो दलका उम्मेदवार रहनु भएका धर्म केसीले बताउनु भयो । उहाँका अनुसार घरदैलोमा गत निर्वाचनमा विश्वास गरेर मत दिनुहुने मतदातालाई धन्यवाद दिन्छौँ । उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेलामा मतदाता सामु गरेका आफ्ना प्रतिबद्धता भुलेका छैनौँ । सोही प्रतिबद्धताअनुसार अगाडि बढिरहेका छौँ भन्ने सन्देश दिनका लागि पनि हामी घरदैलोमा जान लागेका हौँ ।’ त्यसैगरी, रास्वपाले के कस्ता काम गर्न उपयुक्त हुन्छ ? भन्ने सुझाब समेत संकलन गरिने भएको उहाँको भनाइ छ ।
‘म आफ्नी आमाको उपचारमा व्यस्त हुनुपरेको छ र पनि सकेसम्म समय मिलाउने प्रयासमा छु । जिल्लाको अधिकांश स्थानमा मसहितको टोली जानेछौं । सम्भव नभएको स्थानमा जिल्ला नेतृत्व र पालिकास्तरको नेतृत्वमा रहनु भएका साथीहरू जानु हुनेछ ।’ केसीले भन्नुभयो ।
घरदैलो अभियान के कसरी कुन स्तरमा कहाँबाट सुरु गर्ने विषयमा ऐले पाँच बजेबाट जिल्लास्तरीय जुम बैठक बस्ने र त्यसले तय गर्ने सो दलका जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिनुभयो ।
किसानी जीवनको चापमा रहेको अधिकांश नेपालीहरू मंसिर महिनामा धान थन्क्याउने र आलु रोप्ने चटारोमा छन् । यस्तो बेलामा केन्द्रले लादेको अभियान कति कामयावी हुने हो ? त्यो भोलिका दिनले सिद्ध गर्नेछ ।
मंसिर महिना किसानका लागि कामको चाप छ, यो बेलामा धान धन्क्याउने, आलु रोप्ने लगायतका काम भ्याइनभ्याई छ तर पनि पार्टीको निर्देशन अनुसार हामी हाम्रो पालिकाको सबै वडामा वडा समिति र जिल्ला समितिलाई समेत परिचालन गर्ने गरी घरदैलो कार्यक्रममा जाने तयारीमा छौं बेसीशहर नगर सभापति कृष्ण राउतले बताउनु भयो ।
प्रकाशित मिति २०८० मंसिर १, शुक्रबार १६:२३ गते