पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि मंसिर २ गतेदेखि गर्ने भएको घरदैलो कार्यक्रम बारे प्रदेशस्तरीय बैठक सम्पन्न गरेको छ । प्रदेश समितिको जिल्ला समितिसँग समेत संयुक्त रुपमा मंसिर १ गते बैठक बसेको हो ।
प्रदेशका सभापति राजन गौतमले सञ्चालन गर्नु भएको कार्यक्रममा सो दलको केन्द्रीय संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटी तथा प्रदेश इन्चार्ज झविलाल डुम्रेले भाग लिनु भएको थियो । उहाँहरूले बैठकका सहभागीहरूलाई घरदैलोका बारेमा के कसरी प्रस्तुत हुने लगायतका सहभागीहरूले सोधेका प्रश्नहरूको जवाफ दिनु भएको थियो । उहाँहरूले पार्टीले धर्म र सघीयताबारेमा केही अस्ष्टता रहेको र त्यो दस्तावेजमा खुल्ने अन्य सबै कुराहरू गणतन्त्र, संविधान आदि विषयमा प्रष्ट भएको उल्लेख गर्नु भएको थियो ।
केन्द्रीय संगठन विभागका प्रमुख बुर्लाकोटीले जोड दिदै भन्नुभयो, ‘वडा समितिमा बस्नेहरूले अनिबार्य सदस्यता लिनु पर्छ, पदमात्र लिने सदस्यता लिन आनाकानी गर्नेलाई बरु विदाईको सहज वातावरण बनाउनु पर्ने हुन्छ । कतैकतै पदमा बसेर पनि सदस्यता लिन इन्कार गरेको पनि भेटिन्छ । यसतर्फ प्रदेश, जिल्ला, पालिका र वडा समितिले ध्यान दिनु होला उहाँले निर्देशनात्मक आदेश दिनुभयो । यो कार्यक्रम विभिन्न तहका नेता, कार्यकर्ताहरूका लागि परीक्षा पनि भएको उल्लेख गर्दै बुर्लाकोटीले अघि पछि गफ गर्ने तर परेको बेलामा पन्छिने कतिपयको बानीलाई समेत यस्ता कार्यक्रम मूल्यांकनको कसी हुने उल्लेख गर्नु भयो ।
त्यस्तै, घरदैलोमा मूल तीन प्रश्नमा केन्द्रीत रहन निर्देशन दिनु भएको थियो । पहिलो मतदातालाई धन्यवाद दिने, दोस्रो आफ्नो दलका प्रतिवद्धताहरू नबिर्सेको जानकारी दिने र पार्टीका लागि सुझाव संकलन गर्ने बताउनु भएको थियो । सुझाव संकलनका लागि, तीन बुँदे प्रश्नको जवाफ संकलन गर्न भनिएको छ । सो सुझावमा हाम्रो गल्ती कमजोरी के के छन् ? हामीलाई तपाईका सुझावहरू के के छन् ? आफ्नो क्षेत्रमा यहाँले देख्नु भएका मुख्य तीन समस्या के के हुन् प्राथमिकताका आधारमा उल्लेख गर्नु होला भन्ने रहेको बताइएको छ ।
सो अवसरमा पार्टीका विभिन्न ९ जिल्लाका जिल्ला संयोजक तथा प्रतिनिधिहरूले आआफ्नो जिल्लाको वस्तु स्थिति, घरदैलोको तयारी तथा समस्याका बारेमा र घरदैलो कार्यक्रममा उठ्न सक्ने प्रश्नका बारेमा आ–आफ्ना धारणा राखेका थिए । उनीहरूले पार्टीको दस्तावेज छिटो तयार गर्नु पर्ने, संगठन ढाँचा प्रष्ट हुनु पर्ने तथा जिल्लास्तरमा प्रशिक्षण सञ्चालन गरी पदीय जिम्मेवारी एवम् कर्तव्यका बारेमा प्रष्ट्याउनु पर्ने जस्ता जिज्ञासा राखेका थिए ।
लमजुङमा कम्तिमा एक हजार जनासँग सुझाव संकलन गर्ने तयारी :
यसैबीच, लमजुङ जिल्ला संयोजक धर्म केसीले साँझ विहान गरेर पनि सकेसम्म सबै वडा र टोलमा पुग्ने प्रयास गर्ने बताउनु भएको छ । उहाँका अनुसार त्यसका लागि पालिकास्तरीय र वडास्तरको समितिलाई परिचालन गर्ने योजना छ । उहाँले भन्नुभयो, ‘सुझाव लेखेर पनि सबैले दिदैन रहेछन् । जे होस् हामीले कम्तिमा पनि एक हजार जनासँग सुझाव संकलन गर्नु पर्छ, त्यसै अनुसारको हाम्रो ेतयारी छ ।’
प्रकाशित मिति २०८० मंसिर १, शुक्रबार २२:०९ गते