प्रतिक्रियावादीहरूले काठमाडौं फोहोर मात्रै गर्ने हुन् : एमाले अध्यक्ष ओली

प्रतिक्रियावादीहरूले काठमाडौं फोहोर मात्रै गर्ने हुन् : एमाले अध्यक्ष ओली

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २ गते शनिवार ०९:३८

देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मंसीर ७ गते युवा÷विद्यार्थीको प्रदर्शन गर्न लागेको भन्दै सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरूलाई उहाँले निर्देशन दिनु भयो ।

लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई अघि सारेर प्रतिक्रियावादी शक्तिहरू सलबलाएको बताउनु भएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिनु हुँदै मंसिर २ गते त्यस्तो बताउनु भएको हो ।
पार्टीको जनसंगठन संयन्त्रले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा पूर्वप्रधानमन्त्री समेत रहनु भएका उहाँले जोड दिदै भन्नुभयो, ‘म सुन्दै छु, ७ गते एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिकियावादी शक्तिहरू जोडतोडले लाग्या छन्, देशभरबाट काठमाडौंमा मानिसहरू उतार्ने रे ! ती मानिसहरू आएर काठमाडौंमा केही हुनेवाला छैन । तिनले फोहोर गर्ने मात्रै हुन् ।’
ओलीले ठोकुवाका साथ भन्नुभयो, ‘प्रसाईंले मान्छे भेला गराएर गर्ने कार्यक्रमले काठमाडौं फोहोर गर्नेबाहेक केही उपलब्धी हुँदैन ।’ उहाँले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउनेहरूलाई एमालेले तह लगाउने दावी गर्दै दुर्गा प्रसाईंको प्रदर्शनले काठमाडौंमा फोहोर बाहेक अरू केही गर्दैन भन्ने थप टिप्पणी गर्नु भयो ।
त्यसै दिन एमालेका युवा विद्यार्थी संगठनले समेत प्रदर्शन गर्ने भएका छन् । आफूहरूले मान्छे ओसारेर प्रदर्शन गर्न लागेको नभई सरकारलाई अनियमितता र बेथितिप्रति सजग गराउन लागेको ओलीले उल्लेख गर्नु भयो । उहाँले देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मंसीर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको भन्दै सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरूलाई निर्देशन दिनु भयो ।
देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरूले सो प्रदर्शनीको आह्वान गरेको ओलीको भनाइ छ ।

प्रकाशित मिति २०८० मंसिर २, शनिबार २१:३८ गते
हजुरको प्रतिक्रिया