१५औं साप्ताहव्यापी माउन्टेन वाइकिङ वर्ल्डवाइड– २०२३ लमजुङमा सुरु

१५औं साप्ताहव्यापी माउन्टेन वाइकिङ वर्ल्डवाइड– २०२३ लमजुङमा सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ३ गते आईतबार ०८:०९

पहिलो दिन आज ४० प्लस उमेरमा सिन्धुलीका हर्क लामा पहिलो हुनुभयो भने खुलातर्फ धादिङका लक्ष्मण मल्ल पहिलो हुनुभयो । त्यस्तो महिलातर्फ गोरखाकी उषा खनाल पहिलो भएको जानकारीमा आएको छ ।

सो प्रतियोगिताको यो वर्ष अन्तिम इभेन्ट हुन सक्ने आयोजकको भनाइ

बेसीशहर– लमजुङमा १५औं साप्ताहव्यापी माउन्टेन वाइकिङ वल्र्डवाइड– २०२३ सुरु गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको ट्याकमा विगतको १४ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त साइकल दौड प्रतियोगिता– २०२३ बेसीशहर नगरपालिका– ७ को बुद्ध गेटबाट आइतबार यहाँ सुरु गरिएको हो ।
बेलायती नागरिक फिल इमान्सदम्पतीले आयोजना गरेको सो साइकल दौड प्रतियोगिता अन्नपूर्ण चक्रीय पदमार्गको प्रवेश नाकाको रुपमा परिचित लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा विगतक वर्ष झैं यो वर्ष पनि थालनी गरिएको छ । उक्त प्रतियोगितामा यूके लगायतका विभिन्न नौदेशका १५ जना र नेपाली १० जना गरी २५ जनाले भाग लिएको आयोगक संस्थाका सहसंयोजक करिन इन्भासले बताइन् । उनका अनुसार उनी यो प्रतियोगिता सञ्चालनका लागि सन् २०१६ देखि हरेक वर्ष नेपाल आइरहेकी छिन् । उनले भनिन्, ‘कोभिडको प्रकोप भएको बेलामा सन् २०२० र २१ का दुई वर्ष भने यो प्रतियोगिता सञ्चालन हुन सकेन, अन्य सबै वर्ष यही सिजनमा सुरु गर्ने गरिएको छ ।’
प्रतियोगिताको विशेषताका बारेमा जानकारी दिदै उनले यो विश्वकै उच्च पहाडी तथा हिमाली भेगमा हुने सर्वाधिक उचाईको साइकिल रेस आठमध्ये एक हो भनिन् । उनका अनुसार यो प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनका कार्यमा टेवा पुग्छ । उनले भनिन्, ‘यहाँको वातारवरण मनोरम छ, त्यसैले यहाँ रमाउनका लागि यो प्रतियोगिता सञ्चालन गरिएको हो ।’ उनले थप भनिन्, ‘म हरेक वर्ष नेपाल आउछु र कम्तिमा एक महिना बस्छु, कुनै वर्षमा त म छ महिनासम्म पनि बसेको छु ।’
यो प्रतियोगिता मनाङको थोराङ पास गरेर कानबेनीमा गएर समाप्त हुन्छ तर समापन कार्यक्रम भने विगतका वर्षझैं पोखरामा गरिने सो प्रतियोगिताका नेपाल संयोजक अजय पण्डित क्षेत्रीले बताए । उनका अनुसार यो प्रतियोगिताको पहिलो दिन आज लमजुङकै बेसीशहरको आठ सय मिटरबाट सुरु गरेर यही क्षेत्रको पुमाभिरको १६५० मिटर उचाई पार गरी करिब १६ किमी यात्रा पार गरी साँझ बेसीशहरमै बस्ने कार्यक्रम छ । उनले भने, ‘भोलि बिहानबाट मनाङको सदरमुकाम चामेका लागि यात्रा सुरु हुन्छ र करिब ६५ किमी यात्रा गरी साँझको बसाई चामेमा हुन्छ ।’ तेस्रो दिन हामी घ्यारु, ङावल हुँदै माथिल्लो मनाङ गाउँमा गएर भोलिपल्ट वातावरणीय अनुकुलन मिलाउन त्यही बास बस्ने तर दिउँसो मनाङ गाउँको बाहिरीभाग ४ किमी दुईलाई तीनफन्को मारिने उनले जानकारी दिए । यसरी, अर्को दिन थोराङको बेसक्याम्पमा, त्यसपछि थोराङको पाँच हजार ४१६ मटिर उचाईको खोच पार गरी मुस्ताङतर्फ झर्ने कार्यक्रम छ पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन आज ४० प्लस उमेरमा सिन्धुलीका हर्क लामा पहिलो हुनुभयो भने खुलातर्फ धादिङका लक्ष्मण मल्ल पहिलो हुनुभयो । त्यस्तो महिलातर्फ गोरखाकी उषा खनाल पहिलो भएको आयोजकको भनाइ छ ।
पण्डितका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई ७५ हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ५० हजार नगद, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई २५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । अन्य सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र र मेडल प्रदान गर्ने आयोजकको तयारी रहेको नेपाल संयोजक क्षेत्रीले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको समापन मंसिर १२ गते पोखरामा हुनेछ ।
उक्त प्रतियोगितामा ४० प्लसमा भाग लिएर आज पहिलो हुनु हुने ४८ वर्षीय लामाले यो वर्ष पाँचौं पटक भाग लिदै हुनुहुन्छ । उहाँले यसअघि सन् २०१८ र २०१९ को प्रतियोगितामा पहिलो, २०१७ र २०२२ मा दोस्रो भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जीत हारभन्दा पनि यो आफैमा चुनौतिपूर्ण छ, भाग लिँदा साथीभाइसँग भेटघाट हुन्छ, नयाँ साथी चिनिन्छ, रमाइलो लाग्छ किनकि यो विश्वमै प्रख्यात इभेन्ट हो भन्ने बताउनुभयो ।
यसैबीच, बेलायती नागरिक फिल इमान्सदम्पतीले आयोजना गर्ने गरेको सो दौड प्रतियोगिता नेपालका लागि यो वर्ष नै अन्तिम हुन सक्ने उनीहरूको भनाइ छ । नेपाल र श्रीलंका दुई स्थानमा सञ्चालन हुने उक्त प्रतियोगिता नेपालका यो नै अन्तिम हुन सक्ने कारणमा सहभागिता कम रहेको उनीहरूको भनाइ छ । नेपालमा सबैभन्दा बढी सहभागी हुँदा ४१ जना र कम हुँदा २१ जनामात्र गत वर्ष भए । कम सहभागी हुँदा खर्चको भार बढी पर्ने भएको हुँदा बन्द गर्ने सोचमा आफूहरू रहेको आयोजन इमान्सले बताए । उनले भने, ‘नेपाल सरकार वा अन्य कुनै सहयोगी निकायले प्रचार प्रसार र सञ्चालन खर्चमा समेत सहयोगको प्रतिवद्धता जनाई काम गरेमा भने प्रतियोगिताले निरन्तरता पाउन सक्छ ।’

प्रकाशित मिति २०८० मंसिर ३, आईतवार २०:०९ गते
हजुरको प्रतिक्रिया