बेसीशहर– लमजुङका अब्बल क्लवका रुपमा स्थापित यहाँ स्थित त्रिवेणी युवाक्लवको अध्यक्षमा राजकुमार घिमिरे निर्विरोध निर्वाचित हुुनुभएको छ । गत २ महिना अघिदेखि स्थगित भएको क्लबको कार्यसमिति चयन प्रक्रिया निविरोध रुपमा मंसिर ३ गते टुंगिएको हो ।
क्लबको उपाध्यक्ष द्वय पदमा टेकजङ गुरुङ र खुशीजङ गुरुङ, सचिवमा प्रविण वाग्ले र कोषाध्यक्षमा प्रकाश घले निर्वाचित हुनुभएको छ ।
यस अघि गत भदौ ३० गते भएको क्लवबको १२ औं अधिवेसनमा उपाध्यक्षका लागि खुशीजङ गुरुङ र केशबहादुर राना र कोषाध्यक्षको लागि प्रकाश घले र श्रीजङ गुरुङको उमेद्वारी परेको थियो । तर सचिव पदका लागि कुनै पनि उमेदवारी परेको थिएन । मुख्य पदाधिकारीको पदमा सहमति हुन नसके पछि निर्वाचन प्रक्रिया सार्दै आएको थियो ।
झण्डै दुई महिना बढी समयको प्रयारपछि पदाधिकारीहरु चयन भएता पनि सदस्यहरु भने एक हप्ता भित्र छनोट गर्ने तयारी रहेको त्रिवेणी युवाक्लवले जनाएको छ ।
क्लवले हरेक वर्ष पुस महिनामा आयोजना गर्ने बहुचर्चित अर्थात सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटवल प्रतियोगितामा जिल्लाका मात्र नभई देश– विदेशका खेलाडीहरुले समेत भाग लिने गरिआएका छन् । क्लबले राष्ट्रिय खेलाडी समेत उत्पादन गर्न सफल भएको छ ।
स्मरणीय छ, अध्यक्ष पदका लागि राजकुमार घिमिरेसहित निवर्तमान अध्यक्ष विनोद गुरुङ, टेकजङ गुरुङको उमेद्वारी परेको थियो ।
उक्त त्रिवेणी युवा क्लव २०४९ सालमा स्थापना भएको हो ।
प्रकाशित मिति २०८० मंसिर ४, सोमबार ०७:१२ गते