लमजुङको पाउँदीमा एकादशी बिशेष धार्मिक महोत्सवको तयारी

लमजुङको पाउँदीमा एकादशी बिशेष धार्मिक महोत्सवको तयारी

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० मङ्सिर ४ गते सोमबार ०८:०८

हरिबोधनी एकादशीको अवसरमा लमजुङको पाउँदीका अतिरिक्त खुदी, बेलघारी, लमजुङ– तनहुँको सीमा क्षेत्र सिसाघाट तथा लमजुङ– कास्कीको सीमाक्षेत्र मादी नदीमा समेत मेला लाग्ने र फूलको डोली तार्ने काम हुँदै आएको छ ।

आयोजकद्वारा बहुमुल्य गरगहना नलगाई आउन भक्तजनहरूलाई आग्रह

पाउँदी(लमजुङ)– लमजुङको पाउँदीमा हरिबोधिनी एकादशीका अवसरमा परम्परागत रुपमा लाग्ने मेला यो वर्ष एकादशी बिशेष धार्मिक महोत्सव– २०८० का साथ व्यवस्थित रुपमा मनाउने तयारी गरिएको छ । सुन्दरबजार नगरपालिका– ७ को पाउँदीमा साँस्कृतिक र धार्मिक रूपले महत्वपूर्ण हरिबोधिनी एकादशीमा लाग्ने मेलालाई यो वर्ष भव्य बनाउने तयारी गरिएको हो ।
सो सन्दर्भमा मंसिर ६ गते साँझ सत्यनारायणको पुजा गरिने छ । सो अवसरमा राष्ट्रिय ख्याति प्राप्त कलाकार नारायण गौतम लगायतको साथमा भजन किर्तन गर्ने र मंसीर ७ गते महोत्सव सञ्चालन हुने भएको छ ।
सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले हरिबोधनी एकादशीको मेलाका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषि लगायतका उत्पादनको बजारीकरण र प्रचारप्रसारका लागि मद्दत गर्ने भएको हुँदा अब यसलाई व्यवस्थित रुपमा हरेक वर्ष निरन्तरता दिइने बताउनु भयो । उहाँका अनुसार परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पूजा आरधानाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, स्थानिय संस्कृति प्रचारप्रसारमा सहयोग पुग्ने हुँदा यो मेलालाई व्यवस्थित गर्न आवश्यक छ ।
मंसिर ७ गते बिहानदेखि नै कर्मदा नदीका किनारमा पुजापाठ गर्न सकिने, दिनको ठिक १ बजे फूलको डोरी तारिने समितिका सह–सचिव सुदिपकान्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न हुन लागेको १०८ फिट अग्लो शिवजी मूर्तीको परिसरमा दाता भक्तजनहरूले आफ्नो तर्फबाट १०८ धारा वा शिवलिङ्ग दान गर्न सकिने व्यवस्था गरिएको छ ।
१०८ फिट अग्लो शिवजी मूर्ति निर्माण अन्तिम चरणमा पुगेको हुनाले १०८ धारा वा शिवलिङ्ग राख्न चाहने महानुभावहरूले ११,१११ रुपैयाँ र आजीवन सदस्य बन्न चाहाने महानुभावहरूले १० हजार ५ रुपैया प्रदान गरि आफ्नो नाम सिङ्गमरमरमा लेखाउन सक्ने पूवन्ध गरिएको समितिका सचिव गौतम पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला बर्षहरूमा भन्दा यो बर्ष भक्तजनहरूको संख्या बढी हुने आंकलन गरिएको छ ।
उहाँले भन्नुभयो, ‘समितिले मेला व्यवस्थापनमा स्थानीय दोभान एकता युवा क्लब, मर्स्याङ्दी आधारभूत विद्यालय , स्थानीय समुहहरूलाई समेत समेटेर विभिन्न उप– समिति गठन गरिएको छ ।’
अघिल्ला बर्षहरूमा दर्शनार्थीहरूले बहुमुल्य गरगहना, महङ्गा सामानहरू धेरै नै साथमा लिगेर अर्थात पहिरिएर मेला अबलोकन तथा दर्शन गर्न आउनु भएकोमा त्यस्ता महंगा सुनका गहनाहरू, मोबाईलहरू लगायत महत्वपूर्ण सामानहरू हराएको तितो यथार्थलाई मध्यनजर गर्दै भक्तजनहरूलाई यस्ता सामानहरू नलगाई, साथमा नलिई आउन आग्रह गरेको महोत्सव प्रचारप्रसार समितिका संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समयमै होस् पुर्याएमा पछि पछुताउनु पर्दैन ।’
फूलको डोली तार्न चाहाने भक्तजन तथा समुहहरूले मन्दिर मुल व्यवस्थापन समितिसंग समन्वय गर्न आयोजक समितिले अनुरोध गरेको दोभान एकता युवा क्लबका अध्यक्ष शुक्रबहादुर अधिकारीले जानकरी दिनुभएको छ ।
स्मरणीय छ, हरिबोधनी एकादशीको अवसरमा लमजुङको पाउँदीका अतिरिक्त खुदी, बेलघारी, लमजुङ– तनहुँको सीमा क्षेत्र सिसाघाट तथा लमजुङ– कास्कीको सीमाक्षेत्र मादी नदीमा समेत मेला लाग्ने र फूलको डोली तार्ने काम हुँदै आएको छ ।

प्रकाशित मिति २०८० मंसिर ४, सोमबार ०८:०८ गते
हजुरको प्रतिक्रिया