लमजुङ– सुन्दरबजार नगरपालिका– ७ को दोश्रो खुला वडा अध्यक्ष कप ७ ए साइज फुटवल प्रतियोगिताको उपाधि आयोजक दोभान एकता क्लबले जित्न सफल भएको छ । सोही वडाको पाउँदी स्थित दोभान एकता युवा क्लबको आयोजनामा मर्स्याङ्दी आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको समापन मंसिर ४ गते गरिएको हो ।
समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुनुहुन्थ्यो । उहाँले विजयी खेलाडीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै यस क्लबको क्षेत्र भित्र निर्माण हुन लागेको क्लब भवन निर्माण गर्न आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘मेरा पालामा शुरु भएका वडा, पालिका र प्रदेशस्तरका खेलमैदान रङ्गशाला निर्माण प्रक्रिया निरन्तरता दिन तीनै तहका सरकारहरूलाई अनुरोध छ ।’
नेपालमा अहिले पुरुष क्रिकेट बाहेक अरु कुनै खेलमा सफलता पाउन नसकेको टिप्पणी गर्दै आगामी दिनमा कसरी खेल र युवा पुस्तालाई अगाडि बढाउन सकिन्छ भन्ने तिर जोड दिनुपर्ने उहाँले उल्लेख गर्नु भयो ।
सो प्रतियोगिताको फाईनल खेल आजै गरिएको हो ।
राइनास नगरपालिका– ४ को चक्रतीर्थ युवा क्लब सातबीसेलाई ३– ० गोल अन्तरले आयोजक टिमले उपाधि चुम्न सफल भएको हो । पहिलो हुन आयोजक टिमले नगद १ लाख रुपैया, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो स्थानमा चित्त बुझाएको चक्रतीर्थ युवा क्लबले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकको भनाइ छ ।
सेमीफाईनल खेलमा प्रतिस्पर्धा गरी फाइनलमा प्रवेश गर्न नसकेका दुई टिम खहरे युवा क्लब सुन्दबजार नगरपालिका– ५ र शान्ति मिलन युवा क्लव दोर्दीलाई नगद १०÷१० हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको आयोजक क्लबका सचिव सुदीपकान्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडीमा चक्रतीर्थ युवा क्लबका विवेक पण्डीत घोषित भएका छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक दोभान एकता युवा क्लबका सुबास थापा मगरलाई पुरस्कृत गरिएको छ । सर्वाधिक गोलकर्ता दोभान एकता क्लबकै खेलाडी सुमन श्रेष्ठ घोषित भए । उनले गोल अवधिभर जम्मा आठ गोल गर्न सफल भएको आयोजकको भनाइ छ । उनीहरू सबैलाई कप, मेडल र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।
यसैगरी, भेट्रानतर्फको फाईनल खेलमा सहकाले पाउँदी लाई १ को बिरुद्द ३ गोल गर्दै बि
वाईसी भोटेओडारले उपाधि हात पारेको छ । भेट्रान तर्फको बिजेतालाई बोका प्रदान गरिएको आयोजक क्लबका प्रचारप्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा खुला फुटबलतर्फ २५ टिम र भेट्रान तर्फ ६ टिमले भाग लिएका थिए । उहाँले भन्नुभयो, ‘नेपाली सेनाको श्रीचण्डीप्रसाद गणका सरोज ठकुरीको नेतृत्वमा किसान झेडिमगर र मनोज सुनारले रेफ्रीको भूमिका निभाउनु भएको थियो ।’
सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयाराम रेग्मीले स्वागत गर्नु भएको समापन कार्यक्रमको आयोजक दोभान एकता युवा क्लबका अध्यक्ष शुक्रबहादुर अधिकारीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा कालिमाटी युवा क्लब र दोभान एकता युवा क्लबले स्वागत नाच प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रममा प्रायोजक तथा सहयोगी व्यक्ति संघ संस्थाहरूलाई सम्मान पत्र, टीका, माला लगाएर सम्मान गरिएको थियो ।
सो प्रतियोगिताको समापन कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समिति प्रमुख पुर्णबहादुर गुरुङ, जिससका पूर्वप्रमुख लोकराज पाण्डे, निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ, श्रीजंग गणका गणपति, सशस्त्र प्रहरी जिल्ला प्रमुखलगायत जिल्ला स्थित कार्यालय तथा पार्टीका प्रमुख एवं प्रतिनिधि, नगरस्तरीय पार्टी प्रमुख एवम् प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्थानीय संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, आमासमुहहरू, खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो ।
क्लबका सचिव सुदीपकान्त अधिकारीले सो कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । उहाँका अनुसार गत कार्तिक २४ गतेदेखि सञ्चालन भएको सो प्रतियोगिता आज ११ औं दिन समापन भएको हो ।
प्रकाशित मिति २०८० मंसिर ४, सोमबार १९:४७ गते