दुर्गा प्रसाईं र महेश बस्नेतको शक्ति प्रदर्शन : कतै शान्त, कतै झडप

दुर्गा प्रसाईं र महेश बस्नेतको शक्ति प्रदर्शन : कतै शान्त, कतै झडप

एजेन्सी

@antaranganews

२०८० मङ्सिर ७ गते बिहिबार ०९:०३

२० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने उहाँको माग रहँदै आएको छ । आफैंले गत चैतदेखि बैंकको साँवा–ब्याज नतिर्नु भएका प्रसाईंको विभिन्न आठवटा बैंकमा साढे पाँच अर्ब रूपैयाँभन्दा बढी ऋण तिर्नु पर्ने छ, सो ऋणको साँवा–ब्याज बुझाउन गाह्रो परेपछि उहाँले सडकमा उत्रने तानाबाना बुन्नु भएको स्रोतको दावी छ ।

ती सभा सरकार तथा व्यवस्था विरुद्ध भनिए पनि एक अर्काप्रति लक्षित जस्तो पनि देखिन्थे ।

काठमाडौँ– अलग अलग नियत एवम् उद्देश्यसहित एमाले निकट युवा संघका इन्चार्ज महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान नेपालले काठमाडौँमा गरेका छुट्टाछुट्टै शक्ति प्रदर्शन कतै शान्त रह्यो भने कतै झडप भयो । दुवै पक्षले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेका थिए तर त्यसविपरीत प्रसाईं समूहको प्रदर्शन मंसिर ७ गते झडपमा परिणत बन्न पुगेको हो ।
प्रशासनले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकमा अनुमति दिएको थियो भने महेश बस्नेत इन्चार्ज रहेको राष्ट्रिय युवा संघलाई तीनकुनेका लागि प्रदर्शन स्थल तोकिएको थियो । दुवै कार्यक्रम विपरीत ध्रुवका भएको यसअघि नै खुलासा भएको हो । ती सभा सरकार तथा व्यवस्था विरुद्ध भनिए पनि एक अर्काप्रति लक्षित जस्तो देखिन्थे ।
उनीहरूका मुद्दा फरक थिए/छन् । तर उनीहरू आपसमा आक्रोशित रहेको देखिए । त्यसो त त्यस्ता कुराहरू यसअघि पनि केही मिडिया र सामाजिक सञ्जालमा देखिएकै थियो । तीनकुनेको कार्यक्रम शान्तिपूर्ण रहे पनि बल्खुमा भने दिनभरजसो तनावपूर्ण स्थिति बन्न पुगेको प्रत्यक्षीदर्शीले बताए ।
प्रशासनले दुवै क्षेत्रमा बिहानैबाट सुरक्षाकर्मीहरू उल्लेख्य मात्रामा तैनाथ गरेको थियो ।
प्रसाईं समर्थकहरूले प्रहरीको घेरा तोड्न खोज्दा तथा युवा संघको र्यालीसँग जम्काभेट हुँदा झडपको स्थिति उत्पन्न भएको सुरक्षाकर्मीको दावी छ । प्रहरीले झडप र अशान्ति पैदा गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन पानीको फोहराका साथै अश्रुग्याँस प्रहार गर्नुपरेको जनाएको छ ।
बस्नेत पक्षले भक्तपुरबाट मोटरसाइकल र्याली निकालेर तीनकुनेमा पुग्दै विरोध सभा गरेको थियो । प्रसाईं समर्थकले उपत्यकाका विभिन्न सात स्थानबाट र्याली निकाल्दा अराजक स्थिति उत्पन्न भएको हो ।
बल्खु पुगेर मन्तव्य राख्नु भएका प्रसाईंले कुनै सिद्धान्त वा विचारको अभिव्यक्ति दिने आशाका विपरित त्यो बिना नै हालको व्यवस्थामाथि प्रश्न उठाउँदै व्यवस्था र राज्य सञ्चालकहरूको कडा आलोचना गर्नु भयो । उहाँले आजकै दिनबाट गणतन्त्र सकिएको उदघोषण समेत गर्दै भन्नुभयो, ‘आफू मर्ने तर पछि हट्ने छैनौं ।’ उहाँले भोलिदेखि सिंहदरबार र संसद् भवन कब्जा गर्न एकतृत भीडलाई आह्वान गर्नुभयो ।
दुर्गा मातालाई साक्षी राखेर आफूहरूले थालेको यो आन्दोलन जनविद्रोह भएको दावी प्रसाईको थियो । उहाँले भन्नुभयो, ‘म भाग्दिनँ । तपाईँहरूका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’ तर त्यसको आधार भने प्रसाईँले खासै प्रष्ट्याउनु भएको सुनिएन ।
उहाँले नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका,लण्डनलगायतका देशमा लगानी रहेको दाबाका साथ भन्नुभयो, ‘हाम्रो देश त्यसै टाट पल्टेको होइन । म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाईँ सरेन्डर गर्नुस्, जनता कहाँ आउनुस् ।’
त्यसैगरी, एमाले अध्यक्ष केपी ओलीको समेत कडा आलोचना गर्दै एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको दावी समेत प्रसाईँको थियो । उहाँले भन्नुभयो, ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’
भोलिदेखि आन्दोलन झन् चर्काउने बताउँदै प्रसाईँले भन्नुभयो ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८४ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ ।’
प्रसाईंले व्यवस्था र नेताहरूप्रति प्रयोग गरेका भाषा शब्दहरू सुन्न, लेख्न पनि नसकिने खालका थिए । प्रसाईंले व्यवस्था र नेताहरूमाथि धावा बोल्दै गर्दा हुटिङसमेत भएको थियो । प्रदर्शनकारीहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लगायतका पूर्व राजाकेन्द्रित नारा लगाएका थिए ।
बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै प्रसाईंले देशका विभिन्न क्षेत्रका मानिसहरूलाई काठमाडौं ल्याउन सफल भएको बताइन्छ । २० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने उहाँको माग रहँदै आएको छ । प्रसाईं आफैंले गत चैतदेखि बैंकको साँवा–ब्याज नतिर्नु भएको स्रोतको दावी छ । स्रोतका अनुसार प्रसाईंको विभिन्न आठवटा बैंकमा साढे पाँच अर्ब रूपैयाँभन्दा बढी ऋण तिर्नु पर्ने छ सो ऋणको साँवा–ब्याज बुझाउन गाह्रो परेपछि उहाँले सडकमा उत्रने तानाबाना बुन्नु भएको हो ।
उता, बस्नेतले नेतृत्व गरेको तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रह्यो । युवा संघका इन्चार्ज महेश बस्नेतले आफूहरूको प्रदर्शन सरकारलाई खबरदारीका लागि भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यक्रम अराजकता, महँगी र भ्रष्टाचारको विपक्षमा, सुशासनको पक्षमा सरकारलाई खबरदारीका लागि आयोजित भएको उल्लेख गर्नु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्रमाथि कसैले धावा बोले सबभन्दा पहिला एमालेले त्यसको प्रतिकार गर्ने घोषण समेत गर्नु भयो ।
उहाँले दुर्गा प्रसाईंका अराजक गतिविधि सैह्य नहुने र प्रधानमन्त्री प्रचण्डले पनि नेपाली जनताको भावनाविपरीत काम गरे सिंहदरबारबाट माइतीघर वा तीनकुने ल्याएर पछार्न सक्ने क्षमता आफ्नो रहेको उल्लेख गर्नुभयो । सरकारविरुद्ध दबाब सिर्जना गर्ने दाबी गर्र्र्दै यस्तो कार्यक्रम सातै प्रदेशमा विस्तार गर्दै आगामी माघ– फागुन महिनामा काठमाडौँमा विशाल मानव सागर उतार्ने चेतावनी दिनुभयो ।
नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको उल्लेख गर्नुभयो । उहाँले ‘आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ, प्रसाईँले बैंक ठगेको र राजश्व छल्ने काम गरेको अभियोगमा गिरफ्तार गर्न’ समेत सरकारलाई आग्रह गर्दै बौलाएका प्रसाईको उपचार गर्ने व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई आग्रह गर्नु भयो । उहाँले आफ्नो कार्यक्रमलाई बाघ र दुर्गा प्रसाईँको कार्यक्रमलाई कुकुरको संज्ञा दिंदै भोलिदेखि ठीक ठाउँमा बस्न चेतावनी दिनुभयो । प्रसाईँ पूर्व राजाको भूत भएको बस्नेतको टिप्पणी थियो ।
आयोगको दुवै प्रदर्शनमा अनुगमन :
यसैबिच, राष्ट्रिय मानवअधिकार आयोगले ती दुवै प्रदर्शनको अनुगमन गरेको छ । आयोगले आफ्ना सदस्यहरूको नेतृत्वमा चार टोलीद्वारा उपत्यकाको दिनभर अनुगमन गरेको थियो । तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको तर बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूह बिच झडप तथा ढुङ्गा र इट्टा प्रहार भएको अनुगमनको क्रममा पाएको आयोगले जनाएको छ ।
प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा झडप भएको हो भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेको आयोगको ठहर छ । सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताउनु भयो । उहाँले जारी गर्नु भएको आयोगको विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरूमा पठनपाठन अवरुद्ध रहेको, उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्बाध रूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रूपमा आवतजावत गर्न नपाएको हुँदा यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ ।’
आयोगको टोलीले आजै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पुगेर सुरक्षा अवस्थाबारे प्रहरीका उच्चपदस्थ अधिकारीहरूसँग जानकारी समेत लिएको छ र आगामी दिनमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएको पोखरेलको भनाइ छ ।
राप्रपामा दुई धार :
यसैबीच, राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही बल्खुमा पुगेर दुर्गा प्रसाईँका प्रदर्शनकारीहरूको हौसला बढाउने काम गर्नु भएको थियो ।
त्यसो त जन्मदै जुम्ल्याहा सन्तानका रुपमा जन्मेको राप्रपामा प्रसाईंलाई सहयोग गर्ने र नगर्ने दुई धार देखिएको छ । प्रसाईंले अघि सारेका राजा तथा धर्मका मुद्दा संसदको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्षौंदेखि बोकिरहेको एजेन्डासँग मेल खान्छ । पार्टीका कतिपय एजेन्डा बोकेर प्रसाईंले आन्दोलन घोषणा गरेपछि राप्रपाभित्र प्रसाईंको अभियानलाई समर्थन गर्ने कि विरोध ? भन्ने दुबिधा छ । राजतन्त्रको आफ्नो एजेन्डा प्रसाईंले ‘हाइज्याक’ गरेको भन्दै चिन्ता गर्नेहरू समेत राप्रपामा भेटिन्छन् ।
नेता प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले पार्टीका औपचारिक बैठकहरूमा मंसिर ७ गते प्रसाईंले गर्ने कार्यक्रममा राप्रपाले समर्थन गर्नुपर्नेमा जोड दिदै सामाजिक सञ्चालमा समेत त्यस्तो धारणा राख्नु भएको थियो । तर राप्रपाले यस विषयमा कुनै संस्थागत निर्णय गर्न उचित नठानेको बताइन्छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रसाईंको आन्दोलनबारे सार्वजनिक रूपमा खासै टिप्पणी देखिदैन ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रमलाई लिएर पार्टीले संस्थागत निर्णय नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा उठाएर हिँड्ने प्रमुख शक्ति राप्रपा हो । श्रेष्ठले भन्नुभयो, ‘दुर्गा प्रसाईंले मात्र होइन जो–सुकैले यो मुद्दा उठाउँदा राप्रपालाई सन्तोष र गर्वानुभूति हुन्छ, निःस्वार्थ ढंगबाट यो मुद्दा उठाउनेहरूलाई शुभकामना छ ।’

प्रकाशित मिति २०८० मंसिर ७, बिहीबार २१:०३ गते
हजुरको प्रतिक्रिया