पाउँदी(लमजुङ)– लमजुङका सुन्दरबजार नगरपालिका– ७ पाउँदी स्थित सितप्रवाह(मर्स्याङदी) नदीका शिवजी मन्दिर परिसरमा हरिबोधिनी एकादशी मेला एवं विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएकोे छ । यहाँ मेलाको यसरी व्यवस्थित गरिएको मंसिर ७ गते पहिलो पटक हो ।
कर्मदा नदीका शिवजी मन्दिर मूल संरक्षण समितिको आयोजनामा एकादशी मेलाको आयोजना गरिएको हो । यहाँ परापूर्वकालदेखि नै बर्षेनी एकादशीका दिन ठूलो मेला लाग्दै आएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको अध्यक्षता एवं सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाकोे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
प्रमुख अतिथि कोइरालाले मेलाको उदघाटन गर्दै यस्ता धार्मिक मेला–महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनु भयो । उहाँले नगरपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सशस्त्रको टोलीले बहाब परीक्षण जल यात्रा गर्दा प्रमुख अतिथि मेयर कृष्णप्रसाद कोइराला, डा. टकराज गुरुङ र वडाध्यक्ष जयराम रेग्मी सहितको टोली थियो ।
मेलामा घरेलु हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीमा राखिएका थिए । यसवर्ष सशस्त्र प्रहरी बल नेपाल आश्रितम गुल्मको समूहले आरएफटी बोटबाट एउटा फूलको डोरी तार्ने काम गरेको थियो । गुल्मका सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर पाण्डेको नेतृत्वमा बोेटबाट फूलको डारी तारिएको हो । उहाँको नेतृत्वमा भईपरी आउन सक्ने बिपतलाई मध्य नजर गरी दिन भरी नै तालिम प्राप्त बिपत व्यवस्थापन फौज सितप्रवाह नदी किनारमा तयारी अवस्थामा रहेको थियो । लमजुङ जिल्लामा नै पहिलो प्रयास हो भन्ने आयोजकको भनाइ छ ।
यसवर्ष पाउँदीमा फूलको एक डोरी तारिएको र ९ वटा फूलको डोली ढोल्ने काम गरिएको समितिका सह–सचिव सुदिपकान्त अधिकारीले जानकारी दिनुभयो ।
मेलाका अवसरमा मेयर कोइरालाले आफ्नो आमाको स्मृतिमा शिव लिङ्ग दान गर्नु भएको थियो । यसैगरी, जिससका निवर्तमान प्रमुख लोकराज पाण्डेले बुबाको स्मृतिमा धारा दान गर्नु भएको थियो भने राइनास नगरपालिकाका निवर्तमानमेयर सिंहबहादुर थापाले आमाको स्मृतिमा धारा दान गर्नु भयो भने वडाध्यक्ष जयाराम रेग्मीले हजुर आमा र बुबाको स्मृतिमा १/१ शिबलिङ र धारा दान गर्नु भएको छ ।
समितिका उपाध्यक्ष चन्द्रप्रसादल पोखरेलले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, सुन्दरबजार नगरपालिका– ७ का वडाअध्यक्ष जयराम रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मेलाकै अवसरमा निर्माणाधिन १०८ फिट अग्लो शिवजीको मुर्ती निर्माण गर्न उपस्थित भक्तजनहरूले आफ्नो तर्फबाट १०८ धारा, शिवलिङ्ग दान समेत गरेका थिए । ३६ जना भक्तजनले धारा र ३० जना भक्तजनले शिविलिङ्ग स्थापनाका लागि नगद दान गरेका समितिले जनाएको छ । शिवलिङ्ग, धारा दान गर्नुहुने र आजिबन सदस्य बन्नुहुनेहरूलाई प्रमुख अतिथि र सभाका अध्यक्षले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
मेला व्यवस्थापनमा स्थानीय दोभान एकता युवा क्लब, मर्स्याङ्दी आधारभूत विद्यालय, स्थानीय आमा समुहहरूलाई समेत समेटेर विभिन्न उप– समिति गठन गरिएको थियो । मेलामा सुरक्षा व्यवस्था कडाइ गरिएको थियो ।
सितप्रवाह नदीका शिवजी व्यवस्थापन समितिका अध्यक्ष एवंम गण्डकी प्रदेश सभा सदस्य डा. गुरुङले हरिबोधनी एकादशीको मेलाका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषि लगायतका उत्पादनको बजारीकरण र प्रचारप्रसारका लागि मद्दत गर्ने भएको हुँदा यसलाई व्यवस्थित रुपमा हरेक वर्ष निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन समितिका सचिव गौतम पोखरेल र सहसचिव सुदीपकान्त अधिकारीले गर्नुभएको हो ।
मेलामा ख्याति प्राप्त कलाकारहरूको साथमा विशेष भजन किर्तन प्रस्तुत गरिएको थियो । एकादशीका दिन बिहानैदेखि कर्मदा नदीका किनारामा पुजापाठ गर्ने घुइँचो लागेको थियो ।
मेलामा लमजुङ, तनहुँ गोरखा लगायतका ठाउँबाट हजारौँ संख्यामा भक्तजनहरू सितप्रवाह(मर्स्याङदी) नदीको सो स्थानमा आएका थिए ।
यसैबीच, एकादशीको अवसरमा आजैदेखि खुदीमा तीन दिवसीय मेला शुरु भएको छ भने सिसाघाट तथा रामबजार स्थित मादी नदीमा पनि हजारौं भक्तजनका साथ फूलको डोली तारिएको खबर छ ।
फोटा : विराट न्यौपाने र लइमीप्रसाद मिश्रबाट । 


प्रकाशित मिति २०८० मंसिर ७, बिहीबार २२:२९ गते