सहकारी ठगी प्रकरणमा बेसीशहरको कालिका सहकारीका अध्यक्ष सिलवालसहित छ जना सञ्चालक पक्राउ

सहकारी ठगी प्रकरणमा बेसीशहरको कालिका सहकारीका अध्यक्ष सिलवालसहित छ जना सञ्चालक पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १० गते आईतबार ०६:२२

स्मरणीय छ, पक्राउ परेकामध्ये तीनजना पत्रकारितासँग जोडिएका व्यक्ति छन्् । साकोसका उपाध्यक्ष लामिछाने पत्रकार महासंघको पूर्वजिल्ला उपाध्यक्ष हुन्, सचिव कृष्ण केसी बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार हुनुका साथै पत्रकार महासंको पूर्वजिल्ला अध्यक्ष तथा मिलनशर्मा दनाई पत्रकार महासंघको पूर्वराष्ट्रिय पार्षदका अतिरिक्त प्रेस युनियनको तत्कालीन गण्डकी अञ्चल समितिको संयोजक थिए । केसी र दनाईले ऐले पनि क्रमशः लमजुङ दर्पण दैनिक र लमजुङ आवाज साप्ताहिक सञ्चालन गरिआएका छन् भने साकोसका उपाध्यक्ष लामिछानेले आफ्नो भतिजको स्मृतिमा पत्रकारहरूलाई पुरस्कृत गर्नका लागि ‘सन्तोष लामिछाने स्मृति पुरस्कार’ स्थापना गरेका छन् । अध्यक्ष सिलवाल लमजुङ उद्योग वाणिज्य संघको कोषाध्यक्ष रहेका छन् ।

सो सहकारीको ठगी प्रकरणबारेमा पीडितहरूले लामो समयदेखि उठाउँदै आएको आवाजले सार्थक रुप लिदै, पीडितहरूमा अब न्याय पाउने आशा जागृत

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको कालिका सहकारीले ठगी अभियोगमा त्यसका अध्यक्ष सिलवालसहित छ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का सञ्चालकहरूले शेयर सदस्यहरूले जम्मा गरेको शेयर रकम र बचत हिनामिना गरी ठगी गरेको बारेमा पीडितहरूले दुई वर्षअघिदेखि उठाउँदै आएको आवाजको बल्ल सुनुवाई हुने आधार तयार भएको पीडितहरूको भनाइ छ ।
सहकारीमा भएको ठगी धन्दा सञ्चालनको अभियोगमा सो साकोसको सञ्चालक समितिका अध्यक्ष शिवराम शिलवाल सहित छ जनालाई प्रहरीले मंसिर १० गते पक्राउ गरेको हो । प्रहरीले पीडकहरूका विरुद्ध उजुरी दिनका लागि जारी गरेको अन्तिम म्याद पनि आजैसम्म थियो । सो म्याद थप हुने नहुने एकिन भएको छैन । सो सहकारीको ठगी प्रकरणबारेमा पीडितहरूले लामो समयदेखि उठाउँदै आएको आवाजले सार्थक रुप लिदै, पीडितहरूमा अब न्याय पाउने आशा जागृत भएको पीडितहरूले बताएका छन् । क
पक्राउ पर्नेहरूमा उक्त सहकारी संस्था लि.को सञ्चालक समितिका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछने, सचिव कृष्ण केसी, कोषाध्यक्ष मिलन शर्मा दनाई लगायत छ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई वर्ष अघि प्रदेशस्तरको नमूना सहकारी बनाउने भन्दै तत्कालीन कालिका, कपुरेश्वर र सम्पदा नामका साकोसहरू एकीकरण गरी जिल्लाकै सबैभन्दा पुरानको कालिका साकोस नामाकरण गरिएको थियो । तर सो एकीकरण कार्यमा सञ्चालकहरूको बदनियत रहेको एकीकरणको चार महिना नबित्दै छताछुल्ल भएको हो ।
बचत रकम माग्न जानेहरूको १०– २० हजार रुपैयाँ दिन पनि ३– ५ दिन कुर्नु पर्ने स्थिति हुँदा सञ्चालकहरू शेयर सदस्यका सामुन्नेमा एक अर्कातर्फ पिठ फर्काएको देखिने तर आन्तरिक रुपमा ठग्ने तानाबानालाई बलियो बनाउँदै लग्ने गरेको व्यवहारतः पुष्टि हुँदै आउन थाल्यो । बचत रकम फिर्ता नपाएपछि कतिपय पीडित बचतकर्ताहरूले नगरपालिकाको सभाहलमा मेयर उपमेयरको उपस्थितिमा भएको भेलामा डाँकोसमेत छाडेका थिए । त्यति हुँदा पनि सञ्चालकहरू सहकारीको खस्कदो स्थिति उकास्नमा भन्दा शेयर सदस्यहरूलाई धम्काउँदै सकेको गर, मलाई सोधेर पैसा राखेको हो र ? मुद्दा हालेर केही नापिन्न आदि इत्यादि भन्न थाले । नगरपालिकाले उनै सञ्चालकहरूको पक्षपोषण गरिरह्यो ।
सञ्चालकहरूको धम्कीपूर्ण बोली, व्यवहार र शैलीले पीडितहरूलाई संगठित हुन बल मिल्यो । अन्ततः उक्त सहकारीका पीडितहरूले संघर्ष समिति नै गठन गरेर ‘शेयर रकम र बचत फिर्ता’को अभियान नै सञ्चालन गरे । अन्ततः पीडितहरूले लामो संघर्ष गरी पीडिकहरूलाई प्राप्त भएको राजनीतिक संरक्षणको महासाङ्लो तोड्न सफल भएको एक पीडितले बताएका छन् ।
पीडिकहरूका अनुसार ती साकोस एकीकरणमा सञ्चालकहरू बदनियत रहेको भन्ने सिद्ध हुने आधारहरूमा एकीकरण गर्नु अघिल्लो दिनसम्मको आम्दानी खर्च प्रष्ट हुनुपर्नेमा एक आर्थिक वर्ष अघिको लेखा परीक्षण प्रतिवेदनलाई आधार मान्नु, एकीकरण गर्दा कर्पुरेश्वर साकोसका नाउँमा रहेको खरिद गर्ने समयमै महंगोमा खरिद गरिएको हल्ला चलेको २६ लाख रुपैयाँको घडेरी एकीकरण गर्दा ५४ लाख कायम गरिएको, कोरोनाको अघिल्लो वर्षमा नक्कली प्रतिवेदन तयारी गरी सम्पदा साकोसले १५ प्रतिशतका दरले खुवाएको बोनस रकम ऐले शेयरवालाले तिर्नु पर्छ भन्ने सञ्चालकहरूले गोप्य सूचनामार्फत उर्दी जारी गरेको, १६ प्रतिशतभन्दा बढी ऋणको व्याज लिन नपाईनेमा कसैसँग १७ त कसैसँग १८ प्रतिशत व्याज असुल्ने गरेको तर आफन्त र मन परेका मानिसलाई बिना धितो र शून्य प्रतिशत व्याजमा पनि ऋण लगानी गरेको, जगेडाकोषमा राख्नु पर्ने रकम समेत सञ्चालकहरूले आफ्नो निजी बैंक खातामा जम्मा गरेको, एकीकरण गर्दाका बखतमा नै लगानीमा रहेको भनिएको साढे १० करोड रुपैयाँको ८० प्रतिशत बढी ऋण (हाल शतप्रतिशत) खराब कर्जामा परिणत भएको, सञ्चालकहरूका बीचमा जुँगाको लडाई चलाई शेयर सदस्य र बचतकर्ताहरूले सास्ती दिने गरेको, राजनीतिक पहुँचका आडमा सहकारीको पहिलो नियमनकारी निकायका रुपमा रहेको बेसीशहर नगरपालिकाले समेत सञ्चालकहरूलाई उन्मुक्ति दिएको भन्ने पीडितहरूको गुनासो रहँदै आएको छ ।
आजै बिहान पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतले सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि कार्यालय बन्द हुने बेलामा पाँच दिनको म्याद थप गरेको छ । सो ठगीका बारेमा शेयर सदस्य तथा बचतकर्ताहरूलाई आफ्नो रकम फिर्ताका लागि उजुरी दिनका लागि जिल्ला प्रहरी कार्यालय, लमजुङले गत असोज २३ गते एक सूचना जारी गरी आज मंसिर १० गतेसम्मको म्याद दिएको थियो । पीडकहरूका विरुद्धमा उजुरीको चाङ रहेको प्रहरी स्रोतले जनाइएको छ ।
उक्त सहकारी संस्था लि.को बेसीशहरमा केन्द्रीय कार्यालय रहनुका साथै लमजुङकै मध्यनेपाल नगरपालिका– ७ को रामबजारमा, सुन्दरबजार नगरपालिका– ८ को भोटेओडार र दोर्दी गाउँपालिका– ४ को नौथर सेरामा तीन शाखा सञ्चालनमा रहेका थिए ।
स्मरणीय छ, पक्राउ परेकामध्ये तीनजना पत्रकारितासँग जोडिएका व्यक्ति छन्् । साकोसका उपाध्यक्ष लामिछाने पत्रकार महासंघको पूर्वजिल्ला उपाध्यक्ष हुन्, सचिव कृष्ण केसी बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार हुनुका साथै पत्रकार महासंको पूर्वजिल्ला अध्यक्ष तथा मिलनशर्मा दनाई पत्रकार महासंघको पूर्वराष्ट्रिय पार्षदका अतिरिक्त प्रेस युनियनको तत्कालीन गण्डकी अञ्चल समितिको संयोजक थिए । केसी र दनाईले ऐले पनि क्रमशः लमजुङ दर्पण दैनिक र लमजुङ आवाज साप्ताहिक सञ्चालन गरिआएका छन् भने साकोसका उपाध्यक्ष लामिछानेले आफ्नो भतिजको स्मृतिमा पत्रकारहरूलाई पुरस्कृत गर्नका लागि ‘सन्तोष लामिछाने स्मृति पुरस्कार’ स्थापना गरेका छन् । अध्यक्ष सिलवाल लमजुङ उद्योग वाणिज्य संघको कोषाध्यक्ष रहेका छन् ।

प्रकाशित मिति २०८० मंसिर १०, आईतवार १८:२२ गते
हजुरको प्रतिक्रिया