नौथर(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिकामा गाउँपालिकास्तरीय अन्तर विद्यालय वक्तृत्वलका र हस्तलेखन प्रतियोगिता गरिएको छ । सोही गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाको युवा तथा खेलकुद शाखाको आयोजनामा सो प्रतियोगिता मंसिर ११ गते सम्पन्न भएको हो ।
प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बालबालिकाका हक अधिकारका बारेमा आफू जानकार भएको बताउनु भयो । उहाँले ऐन र कानुन प्रदत्त बाल अधिकार र स्वतन्त्रतालाई कार्यन्वयन गर्न रबालमैत्री पालिका घोषणाको पूर्वाधार तयार गर्न आफू र पालिका प्रतिवद्ध रहेको जानकारी दिनु भयो । उहाँले गाँउपालिकालाई २०८७ सालसम्ममा पूर्ण रुपमा बालमैत्री पालिका घोषणा गर्नु पर्ने नीति रहेकोमा यस्ता कार्यक्रमहरूले सो कार्यलाई थप मद्दत पुग्ने विश्वास ब्यक्त गर्नु भयो । २०२१ सालमा छुवाछुत अन्त्य भएपनि अझ कहि कतै रहि रहेका छुवाछुतहरूलाई अन्त्य गर्न बालबालिका एक प्रमुख माध्यम हुनसक्ने बताउँदै यस्ता क्रियाकलाप पूर्ण रुपेन अन्त्य गर्न सबैको दायित्व रहेको स्मरण गर्नु भयो ।
पालिका भित्र रहुनुहुने शिक्षकहरूलाई बालमैत्री पठनपाठनलाई जोड दिदै अगाडि बढ्न जोड दिदै अध्यक्ष अधिकारीले अझै पनि कहीँ कतै छिटफुट मात्रामा लुकेर रहेका बाल शोषणका कार्य भएको पाइएमा त्यसलाई अन्त्य गर्न आफूहरू प्रतिवद्ध रहेको बताउनु भयो । आजका बालबालिका कुमालेको चक्कामा घुम्ने काँचो माटो जस्तै भएको उपमा दिदै त्यो काँचो माटोलाई के कस्तो स्वरुप दिने शिक्षकहरूको हातमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
विशिष्ट अतिथि तथा गाउँपालिकाका प्रशासकीय अधिकृत हेमराज काफ्लेले विद्यालय ज्ञान आर्जनको थलो रहेको र यसलाई व्यवस्थित र मर्यादिद बनाउन जनप्रतिनिधि लगायत कर्मचारीको प्रमुख दायित्व रहेको बताउनु भयो । बालबालिकाको हक र हितका लागि उचित निति निर्माण गर्न आफू सधैं लागि पर्ने जानकारी दिनुभयो ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो प्रतियोगिताको आवश्यकता महत्व एवम्् औचित्यका बारेमा जानकारी दिदै विद्यालय, वडा र पालिका हुँदै प्रदेशदेखि केन्द्रसम्म सञ्चालन हुने विभिन्न प्रतियोगितामा दोर्दी गाउँपालिकालाई सशक्त रुपमा सहभागी गराउनका लागि यस्ता कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाँले प्रतिस्पर्धी भावनाका साथ विद्यार्थीहरूलाई सहभागी गराई सफल बनाउने सहभागी विद्यालयलाई आग्रह गर्नु भएको थियो ।
दोर्दी गाउँपालिका– ४ स्थित चैतन्योदय सत्य मा.वि. नौथरमा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिएको सो विद्यालयमा निमित्त प्रधानाध्यापक तुलसी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ‘बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका’ शीर्षकमा वक्तृत्वकला गरिएको हो । मा. वि. तह वक्तृत्वकला प्रतियोगितामा गाउँपालिका भित्रका ८ विद्यालयका १६ जना छात्र÷छात्राको र आधारभुत तह हस्तलेखन प्रतियोगितामा गाउँपालिका भित्रका १६ विद्यालयका ३० जना छात्र/छात्राले भाग लिएका थिए ।
प्रतियोगिताको वक्तृत्वकलातर्फ लक्ष्मीनारायण मा.वि. अर्चलबोटकी छात्रा गंगा कुँवर पहिलो, सूर्योदय मा.वि. भार्तेकी छात्रा अस्मिता अधिकारी दोस्रो, चैतन्योदय सत्य मा.वि. नौथरका छात्रा सिम्रोन श्रेष्ठ तेस्रो, बालकल्याण मा.वि. फलेनिकी छात्रा प्रतिमा वि.क.ले सान्त्वना स्थान हासिल गरेका थिए । त्यस्तै हस्त लेखनतर्फ सरस्वती मोहन आधारभूत विद्यालय श्रीमन्ज्याङकी छात्रा अनुशा गुरुङ पहिलो, अमरज्योती आधारभूत विद्यालय सिमीकी स्वस्तिका गुरुङ दोस्रो, जयदेवी मा.वि. दोर्दी गाउँपालिका– ८ का छात्र हिषे गुरुङ तेस्रो, ढोडेनी आधारभूत विद्यालय दोर्दी ६ का छात्र मनोज गुरुङ सान्त्वना स्थान हासिल गरेको कार्यक्रम सञ्चालक श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वतृत्वकलामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश नगद पाँच हजार, चारहजार, तीन हजार, एक हजार पाँच सय प्रमाण पत्र र स्टेशनरी सामग्री दिएर पुरस्कृत गरिएको थियो । त्यस्तै हस्तलेखन तर्फ पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद चार हजार रुपैयाँ, तीन हजार, दुई हजार, एक हजार, प्रमाण पत्र र स्टेशनरी सामग्री दिएर पुरस्कृत गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
सो अवसरमा गाउँपालिकाका स्रोत व्यक्ति काशीनाथ अधिकारी, स्रोत व्यक्ति टिकाराम थापा, गाउँपालिकाका आ.ले.प. प्रमुख मानबहादुर बुढा, शिक्षा शाखा कर्मचारी रमेश वि.क., सहभागी विद्यालयहरूका प्रधानाध्यापक एवंम शिक्षक प्रतिनिधि लगायत विद्यार्थीहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८० मंसिर ११, सोमबार १९:२३ गते