देउराली सहकारीका अध्यक्ष रवीन्द्र बचतकर्ताको रकम दुरुपयोग गरेर ल्याण्डक्रुजर गाडी चढ्थे, १४ सञ्चालक विरुद्ध गठी मुद्दा चलाउन सिफरिस

देउराली सहकारीका अध्यक्ष रवीन्द्र बचतकर्ताको रकम दुरुपयोग गरेर ल्याण्डक्रुजर गाडी चढ्थे, १४ सञ्चालक विरुद्ध गठी मुद्दा चलाउन सिफरिस

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ११ गते सोमबार ०८:३४

प्रहरीले अनुसन्धानका क्रममा चौंलागाईं र उनका साझेदारहरूले १ सय २ रोपनी जग्गामा लगानी गरेको खुल्न आएको हो । कुल ५१ हजार ९७२ वर्गमिटर जग्गा विभिन्न कम्पनी तथा व्यक्तिको नाममा पास गरेर राखेको भेटिएको छ । सीआईबीले सबै सम्पत्ति रोक्का गरेको जनाएको छ ।

अध्यक्ष चौलागाईं, ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसी अहिले थुनामा रहेको सिविआईको भनाइ छ ।

काठमाडौँ– देउराली सहकारीका अध्यक्ष रवीन्द्र बचतकर्ताको रकम खचेर ल्याण्डक्रुजर गाडी चढ्ने गरेको रहस्य खुल्न आएको छ । सो सहकारीको घोटालाका बारेमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.को घाटाला बारेमा अनुसन्धान सकेर बुझाएको प्रतिवेदनमा मंसिर ११ गते त्यस्तो उल्लेख गरेको खुल्न आएको हो ।
प्रहरीले सो सहकारी घोटाला अर्थात ठगी काण्डमा काभ्रेको चौँरी देउराली घर भएका चौलागाईंलाई ब्युरोले असोज १५ मा पक्राउ गरेको थियो । अध्यक्ष चौलागाईं, ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसी अहिले थुनामा रहेको सिविआईले जनाएको छ ।
सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेद बुझाएको जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको छ ।
ब्युरोले ६५ करोड ७७ लाख ६ हजार ८५३ रुपैयाँ मागदावी लिन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । ललितपुरको सातदोवाटो र भक्तपुरको सूर्य विनायकमा कार्यालय रहेको देउराली सहकारीमा बचतकर्ताले जम्मा गरेको २ अर्ब २० करोड ९२ लाख निक्षेप जोखिममा परेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सीआईबीमा ५५० जना निक्षेपकर्ताले दर्ता गराएका २०१ वटा जाहेरीबारे अनुसन्धान गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीका एसपी अधिकारी भन्छन्– ‘ठगी तथा सङ्गठित अपराधमा अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएका छौँ ।’
सो सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले निक्षेपकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेर गाडी चढेर हिँड्ने गरेका थिए । उनले चढ्ने गरेको टोयोटाको ल्याण्डक्रुजर ‘टि एक्स’ गाडीलाई प्रहरीले बरामद गरेको छ । सो गाडीको बजार मूल्य २ करोड ८३ लाख रहेको छ । सो ठगी काण्डको अनुसन्धानमा खटिएका एक जना अधिकृतले भने– ‘चौंलागाईंले आफ्नी श्रीमतीका नाममा २४ वटा कम्पनी खडा गरेर सहकारीको रकम अपचलन गरेको भेटिएको छ ।’ अनुसन्धानको क्रममा ती कम्पनीहरू काभ्रेका अतिरिक्त ललितपुर र भक्तपुरमा समेत स्थापना गरेको थाहा भएको हो ।
प्रहरीले अनुसन्धानका क्रममा चौंलागाईं र उनका साझेदारहरूले १ सय २ रोपनी जग्गामा लगानी गरेको खुल्न आएको हो । कुल ५१ हजार ९७२ वर्गमिटर जग्गा विभिन्न कम्पनी तथा व्यक्तिको नाममा पास गरेर राखेको भेटिएको छ । सीआईबीले सबै सम्पत्ति रोक्का गरेको जनाएको छ ।
सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गरेर चौंलागाईंको समूहले जग्गा र अन्य कम्पनीमा लगानी गरेको भेटिएको हो ।

प्रकाशित मिति २०८० मंसिर ११, सोमबार २०:३४ गते
हजुरको प्रतिक्रिया