रास्वपाको केन्द्रीय बैठक हिजो ११ गतेबाट सुरु, भोलि समापन हुने

रास्वपाको केन्द्रीय बैठक हिजो ११ गतेबाट सुरु, भोलि समापन हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १२ गते मङ्गलबार ०४:५२

राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरू गरिसक्नुपर्ने दबाब छ ।

रास्वपाको पार्टी स्थापना पछि यो सबैभन्दा बृहत बैठक भएको बताइन्छ ।

जलेश्वर(महोत्तरी)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक यहाँ सुरु भएको छ । तीन दिवसीय उक्त बैठक हिजो मंसिर ११ गते सुरु भई भोलि १३ गते समापन गर्ने कार्यक्रम छ ।
बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराउनु भएको थियो । महामन्त्रीपछि प्रदेशका सभापतिहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ ।
हिजोको बैठकमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा. भरतमणि देवकोटाले पेश गर्नु भयो । पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन तथा संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नु भयो । यसैगरी, आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदन माथि धारणा राख्नु भएको स्रोतको भनाइ छ ।
रास्वपाको नीति विचार प्रतिनिधि मण्डलको बैठक पनि हिजो साँझ बसेको छ ।
आज विहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भने विहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे एक प्रतिवेदन पेश गर्नेछन् ।
सभापति रवि लामिछानेले आज राजनीतिक प्रतिवेदन पेश गर्नु हुनेछ । आजै महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटीले महाधिवेशनको कार्यविधि र प्रक्रियासहितको प्रतिवेदन पेश गर्ने तालिका छ । नीति विचार प्रतिनिधिमण्डलको बैठक आजकै लागि तोकिएको छ ।
भोलि अन्तिम दिन विहान ७ बजे सुरु हुने बैठक १२ः३० मा सक्ने कार्यतालिका छ । महाधिवेशन कार्यविधि तथा प्रक्रियामाथि दुई घण्टाभित्र सहभागीहरूले धारणा राख्नेछन् । नीति र विचारमाथि छलफलका लागि एक घण्टाको समय तय गरिएको छ ।
बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री सहित केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । रास्वपाको पार्टी स्थापना पछि यो सबैभन्दा बृहत बैठक भएको बताइन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्ला दिनमा मधेसका जिल्लाहरूमा गतिविधि बढाइरहेको छ । त्यसका लागि केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका छन् ।
उहाँले कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्याउन हुलाकी राजमार्गको मुद्दा उठाइरहने जानकारी दिनुभयो । त्यो जिम्मेवारी आफूले लिएको उल्लेख गर्दै सडकदेखि सदनसम्म कुरा उठाउने उहाँको भनाइ छ । मधेशले आफूलाई ऋणी बनाएको भन्दै सभापति रविले उक्त ऋण व्याजसहित तिर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
मधेश, पहाड र हिमालको मुद्दा त्यसै स्थानले मात्रै उठाउने प्रवृत्ति रहेको बताउँदै उहाँले भन्नुभयो, ‘जब मधेशको मुद्दा देशको मुद्दा हुन्छ, पहाडको मद्दा देशको मुद्दा हुन्छ । त्यो बेला आधा भन्दा बढी जनसंख्या भएको मधेश अँध्यारोमा बस्नु पर्दैन ।’
रास्वपाले हिजोदेखि तीन दिनसम्म मधेश केन्द्रित कार्यक्रम भइरहेको केन्द्रीय समिति र संसदीय दलको बैठक संयुक्त रुपमा महोत्तरीको जलेश्वरमा गरिरहेकोछ ।
वडा तहबाट महाधिवेशनको प्रक्रिया सुरू गर्ने तयारी गरिरहेको रास्वपाले त्यसको विधि र प्रणालीबारे पनि यो बैठकमा छलफल गर्ने महामन्त्री ढकालले बताउनु भयो । उहाँका अनुसार पार्टीको समग्र रोडम्याप र अवलम्बन गर्ने नीति पनि यो बैठकले तय गर्ने छ ।
रास्वपाले राजनीतिक दस्तावेजमाथि विमर्श चलाइरहेको छ । महामन्त्री मुकुल ढकालसहितको तीन सदस्यीय कार्यदलले दस्तावेजको खाका बनाएको थियो । रास्वपाले केही समयअघि जनआवाज सुन्न भन्दै पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई जिल्ला खटाएका थियो। तीन दिन बसेर उनीहरूले जनताका सुझाव संकलन गरेर ल्याएका थिए ।
लगत्तै रास्वपाले काठमाडौंमा दस्तावेजकेन्द्रित ‘बौद्धिक मन्थन’ समेतका कार्यक्रम गरिसकेको छ ।
स्मरणीय छ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी मंसिरभित्रमा महाधिवेशनको प्रक्रिया सुरू गरिसक्नुपर्ने दबाब छ ।
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको प्रतिवद्धता :
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीको संरक्षणका लागि थालिएको अभियानलाई केन्द्र सरकारले सुन्नुपर्नेमा जोड दिनु भएको छ ।
पूर्वपश्चिम हुलाकी लोकमार्गअन्तर्गत कमला नदी किनारमा आज कमला जलाधार संरक्षण अभियानद्वारा ‘कमला बचाउ अभियान’ को पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले यस अभियानलाई सबैले आआफ्नो तवरले अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको हो ।
उहाँले जोडदार रुपमा भन्नुभयो, ‘कमला बचाउ अभियानमा वर्षौंदेखि यहाँका स्थानीय युवा, बुद्धिजीवी लागिरहनुभएको छ । पर्यावरणीय हिसाबले भोलिको पुस्तालाई पर्नसक्ने समस्याबाट बचाउन आजै सचेत भएर यो अभियान चाल्नु भएको छ । यो आवाज केन्द्रले सुनेको छ– छैन मलाई थाहा छैन चर अब यो आवाज केन्द्रसम्म लैजाने जिम्मा मेरो पार्टीले लिन्छ ।’
सभापति रविले आफ्नो पार्टीको सरकार बनेको अवस्था हुन्थ्यो भने कमला पुलको ठेक्का लिएर १२ वर्षदेखि अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही गरिने भन्दै अलपत्र पारिएको पुलको काम अगाडि बढाउन निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

प्रकाशित मिति २०८० मंसिर १२, मंगलवार ०४:५२ गते
हजुरको प्रतिक्रिया